ताल र पार्क निर्माण सुरु

  • त्रिशूली प्रवाह
  • १९ मंसिर २०७६, बिहीबार १३:३३

देउराली, नुवाकोटको म्यागङ गाउँपालिका–३ र ६ को संगमस्थल टुँडीमैदानमा ताल एवम् पार्क निर्माण थालिएको छ ।

टँुडीस्थित पोखरी रहेको स्थानमा १ करोड ७१ लाखको लगानीमा व्यवस्थित ताल र पार्कलगायतका संरचनाको निर्माण थालिएको हो । तालसहितको पार्क निर्माणले पर्यटकीय एवम् धार्मिक गन्तव्य बनाउन सकिने अपेक्षा राखिएको म्यागङ गाउँपालिकाको अध्यक्ष आशा तामाङले बताए । उनका अनुसार प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण थालिएको पार्कसहितको ताल चरणबद्ध रूपमा निर्माण गरिनेछ ।

न्यु मनकामना निर्माण कम्पनीले जिम्मेवारी पाएको पहिलो चरणको संरचना आगामी असारभित्रै पूरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पहिलो चरणमा टँुडीमा रहेको इनारको संरक्षण गर्दै आकर्षक ताल बनाइनेछ भने बजेटको सुनिश्चिततापश्चात् दोस्रो चरणमा म्यागङको पहिचान बोकेको मानिसले तीर हान्न लागेको सालिक बनाइने अध्यक्ष तामाङले जानकारी दिए ।

अहिले ताल बनाउन लागिएको स्थानमा सयौँ वर्ष पुरानो पोखरीसहितको चौर रहेको छ । त्यसमध्ये चार रोपनी क्षेत्रफलमा फैलिएको ताल बनाउन लागिएको हो । राज्य पुनर्संरचनाको क्रममा साविकका पाँच गाविस बसुन्चेत, बुङताङ, देउराली, किम्ताङ र सामरीलाई समावेश गरेर म्यागङ गाउँपालिकाको नामाकरण गरिएको थियो । तामाङ भाषामा ‘म्या’ भनेको तीर र ‘गङ’ भनेको तीर खेल्ने चौर रहेको गाउँपालिकाले जनाएको छ ।

टुँडी क्षेत्रमा परापूर्वकालमा तामाङ समुदायको पुर्खाले तीर हान्ने प्रतिस्पर्धा गर्ने र उक्त प्रतियोगितमा पश्चिम बागमतीमा पर्ने जिल्लाको सहभागिता रहने गरेको इतिहास रहेको छ । म्यागङ नामाकरण गरिएको ऐतिहासिक स्थलको संरक्षण गरेर गाउँपालिकाको गौरवको योजनाको रूपमा आकर्षक पर्यटकीयस्थल बनाउन पहिलो प्राथमिकतामा राखिएको छ ।