पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको साधारणसभा सम्पन्न

विदुर, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला शाखा नुवाकोटको १६औँ वार्षिक साधारणसभा मङ्सिर ११ गते सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै महासङ्घ प्रदेश नम्बर ३ का प्रथम उपाध्यक्ष तुलसीप्रसाद अधिकारीले पुस्तकमा अङ्कित गरिएको मूल्यभन्दा कममा बिक्री–वितरण नगर्न निर्देशन दिए । पुस्तकमा अङ्कित भएको मूल्यमा व्यवसायी–व्यवसायीबीच प्रतिस्पर्धा गर्दा नाफाभन्दा कम मूल्यमा बिक्री गर्दा पुस्तक व्यवसाय सङ्कटमा पर्ने अवस्थामा पुगेको बताए ।

कार्यक्रममा महासङ्घ जिल्ला शाखा नुवाकोटका अध्यक्ष मीनकुमार खतिवडाले पुस्तक व्यवसायीहरूको आर्थिक सुधारका लागि महासङ्घ स्थापना भएको बताए । जिल्लामा महासङ्घको स्थापना हुनुअघि विभिन्न पब्लिकेसनको नाममा पुराना र नक्कली किताब आउने गरेकोले महाङ्घले त्यसलाई नियन्त्रण गर्न सफल भएको उनले बताए ।

कार्यक्रममा पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला शाखा नुवाकोटका अध्यक्ष र कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन छलफल गरी पारित भएको छ । महासङ्घले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जिल्लाको १२ वटै स्थानीय तहसँग समन्वय गर्ने जनाएको छ ।