विश्व अपाङ्गता दिवस मनाइयो

विदुर, ‘विश्व अपाङ्गता दिवस २०१९’ को अवसरमा नुवाकोटका यातायात क्षेत्रमा अपाङ्गता भएका व्यक्तिलाई आधा रकम सहुलियत कार्यान्वयन गर्न माग गर्दै दबाब दिइएको छ ।

अपाङ्ग मानवअधिकार मञ्च नुवाकोटको आयोजनामा मंगलबार बट्टार बजारमा जिल्लाभर चल्ने अधिकांश सवारीसाधनमा स्टिकर टाँस गरेर सार्वजनिक यातायातको क्षेत्रमा नेपाल सरकारसँग भएको सम्झौताअनुसार ५० प्रतिशत सहुलियत कार्यान्वयन गराउन माग गरिएको थियो ।

मञ्चका नुवाकोट संयोजक प्रदीप वस्तीका अनुसार नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिका लागि यातायातको क्षेत्रमा ५० प्रतिशत छुट प्रदान गरिने उल्लेख गरिएकाले कानुनमा लेखिएको सेवा अहिलेसम्म नुवाकोटमा उपभोग गर्न नपाएकाले कार्यान्वयनका लागि दबाब दिन सार्वजनिक यातायातको सवारी साधनमा स्टिकर टाँस गरिएको हो ।

यस वर्षको ‘विश्व अपाङ्गता दिवस २०१९’ ‘दिगो विकासको लक्ष्य, अपाङ्गतामैत्री भविष्य’ भन्ने नाराको साथ मंगलबार विभिन्न कार्यक्रमको साथ मनाइयो ।