सङ्घको तीनवर्षे कार्ययोजना निर्माण

ककनी, नुवाकोट उद्योग वाणिज्य सङ्घले २० वर्षपछि तीनवर्षे रणनीतिक योजना निर्माण गरेको छ । ककनीमा शुक्रबार र शनिबार भएको कार्यशालाले सङ्घको तीनवर्षे रणनीतिक योजना निर्माण गरेको हो ।

कार्यशालामा सङ्घले सञ्चालन गरेको पूर्णिमा कार्यक्रमको समीक्षासमेत गरेको छ । सङ्घले सङ्घका आन्तरिक गतिविधि तथा सङ्घअन्तर्गत दातृ निकायबाट सञ्चालन गर्ने गतिविधि प्रभावकारी बनाउन रणनीतिक योजना निर्माण गरेको सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए ।

कार्यशालामा सङ्घका केन्द्रीय सदस्य राजन श्रेष्ठ, पूर्वअध्यक्ष शरण उत्सुक सापकोटालगायत वर्तमान कार्यसमितिका पदाधिकारी र कर्मचारीको सहभागितामा छलफल भएको थियो । सङ्घले आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रमलाई योजनाबद्ध रूपमा सञ्चालन गर्ने, सदस्यता वृद्धि तथा नवीकरणमा जोड दिएको छ ।

कार्यशालामा सदस्यलक्षित गतिविधिलाई जोड दिने, व्यवसाय बिमा र सुरक्षामा ध्यान दिनका लागि सरोकारवालासँग समन्वय गर्ने, सङ्घको सुविधासम्पन्न भवन निर्माण गर्ने, व्यावसायिक करको विषयमा अन्तरक्रिया गर्ने तथा दक्ष जनशक्ति उत्पादन गर्ने, एक गाउँ एक उत्पादन, पर्यटन, कृषि उद्योगको उत्पादनमा वृद्धि गर्ने, व्यावसायिक ऋण प्रवाहलाई सहज बनाउन बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्ने, व्यवसाय सहायता कक्षलाई प्रभावकारी बनाउँदै जानेजस्ता गतिविधि सञ्चालन गर्न सङ्घले योजना निर्माण गरेको छ ।

सङ्घले ०५६ मा बनाएको योजनालाई निरन्तरता दिँदै हाल समयको परिवर्तन तथा सङ्घीय प्रणालीअनुसारको व्यवस्थालाई स्वीकार गर्दैै सदस्यमैत्री सङ्घ निर्माणका लागि रणनीति निर्माण गर्न कार्यशाला सञ्चालन गरिएको महासचिव कृष्णप्रसाद अधिकारीले बताए । कार्यशालाको सहजीकरण प्राध्यापक सुकुमान डङ्गोल र पूर्णिमा कार्यक्रमका चक्रपाणि तिमल्सिनाले गरेका थिए ।