मातृभूमि सहकारीको लगानी सात करोड

त्रिशूलीबजार, विदुर नगरपालिका–१ त्रिशूलीमा रहेको मातृभूमि बहुउद्देश्यीय सहकारी संस्था लि.ले आ.व. ०७५÷७६ मा ६ करोड ७८ लाख ८६ हजार चार सय १५ रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष दुई करोड ८१ लाख ७४ हजार ५ सय ३६ रुपैयाँ कर्जा असुली गर्न सहकारी सफल भएको छ ।

सहकारीले गत आवमा नौ करोड १६ लाख ७४ हजार तीन सय ३९ रुपैयाँ निक्षेप सङ्कलन गरी पाँच करोड ३८ लाख ५५ हजार तीन सय ६८ रुपैयाँ निक्षेप फिर्ता गरेको थियो । शनिबार सहकारीले १६औँ वार्षिक साधारणसभा गरेर सेयर सदस्यलाई गत आवमा भएको कारोबारको जानकारी र खर्चको अनुमोदन गरेको छ । साधारणसभाको उद्घाटन जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष राजेश श्रेष्ठले गर्दै सहकारी देशको समृद्धि गर्न सक्रिय भइरहेको बताए । अध्यक्ष श्रेष्ठले सहकारी मर्ज प्रक्रियामा जानुपर्ने भएकाले तयारीमा रहन पनि सुझाब दिए । साधारणसभामा अध्यक्ष कुलबहादुर खड्गी, कोषाध्यक्ष रत्नराज शाक्य र लेखा समितिका संयोजक सुरेन्द्र शाहीले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष खड्गीले संस्थाको वार्षिक प्रतिवेदन पेस गर्दै सहकारीको प्रगतिमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोगको निरन्तरता रहने अपेक्षा रहेको बताए ।

साधारणसभाले यस आवमा संस्थालाई सुदृढ गर्न जोखिम व्यहोर्ने कोषलाई सुदृढ बनाउने निर्णय गरेको छ । चालू आवमा सहकारीले ७६ लाख १९ हजार पाँच सय आम्दानी गर्ने लक्ष्य राखेको छ । सहकारीमा ६ सय ५१ जना सेयर सदस्यको ५१ लाख ६ हजार २ सय रुपैयाँ सेयर पुँजी रहेको छ । साधारणसभामा नगर सहकारी समन्वय समितिका संयोजक नवीन्द्रमान श्रेष्ठ, संगम बचत तथा ऋण सहकारीका अध्यक्ष नारायण श्रेष्ठ, काफलगेडी बचत तथा ऋण सहकारीका सचिव सुमन अधिकारी, त्रिभुवन त्रिशूली माविका प्रधानाध्यापक महेन्द्र राउतलगायतले शुभकामना मन्तव्य दिएका थिए ।