सामूहिक पसल सञ्चालन

दुईपिपल, बेलकोटगढी नगरपालिका वडा नं.४ पञ्चासे–बानिया गाउँमा सामूहिक पसल सञ्चालनमा आएको छ । पञ्चासे युवा क्लबले सञ्चालन गरेको सामूहिक पसलबाट स्थानीयलाई दैनिक उपभोग्य सामाग्री खरिद बिक्रीको लागी सहज भएको छ ।

गत बैंशाखदेखि सञ्चालनमा आएको पञ्चासे क्लबले गाउँबासीलाई दैनिक उपभोग्य सामाग्री बिक्री गर्ने र गाउँमै उत्पादन भएका कृषि उब्जनी समेत खरिद गर्ने गरेर सामूहिक पसल सञ्चालनमा ल्याएको अध्यक्ष ढुण्डीराज न्यौपानले जानकारी दिनुभएको छ ।

साविक दुईपिपल गाविस र कुमरी गाविसको वडाहरु मिलाएर बनेको वडा नं.४ को विभिन्न बस्तीमा दैनिक सामाग्री खरिदको लागी व्यवस्थित पसलको अभाव भएको र सञ्चालनमा रहेका केही पसलमा निर्धारित मूल्य भन्दा बढी मूल्य तिर्न बाध्य भएपछि क्लब मार्फत पसल सञ्चालनमा ल्याएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभएको छ । पसलमा दैनिक उपभोग्य सामाग्रीको रुपमा दाल, चामल, नुन–तेललगायतका सामाग्री किन्न पाइने र गाँउका किसानले उत्पादन गरेका अन्नबालीलगायतका सामाग्री बेच्न पाईन्छ ।

वडाबासीलाई सेवा पु¥याउनको लागी दैनिक उपभोग्य सामाग्री एकैस्थानबाट बिक्री गर्ने र किसानले उत्पादन गरेका सामाग्रि पनि खरिद गर्ने उद्देश्यले पसल सञ्चालन गरेको क्लबका उपाध्यक्ष फूलकुमारी बानियाँले बताईन् ।
समाज परिवर्तनको लागि क्लब स्थापना गरेको छोटो समयमै सामूहिक पसल सञ्चालन गरेर सस्तो दरमा गुणस्तरीय सामाग्री उपलब्ध गराई सेवा पु¥याएपछि हौसिएको क्लबले आगामी दिनमा थप नयाँ योजना सहित खेलदेखि पूर्वाधार विकासका क्रियाकलाप समेत सञ्चालन गर्ने योजना बनाएको क्लबका अध्यक्ष न्यौपानेले बताए ।

क्लब दर्ता गर्नुभन्दा पहिले भूकम्प गएको समयमा विदेशी संस्थासँगको सहकार्यमा गाउँमा केही भौतिक पूर्वाधार निर्माण गरेकोले आगामी दिनमा स्वदेशी तथा विदेशी दातासँगको सहकार्यमा गाउँमै दक्ष खेलाडी उत्पादन गर्न खेल मैदान निर्माण, गाडी चलाउन सडक बिस्तार, सामुदायिक भवन निर्माण लगायतका योजना क्लबले बनाएको छ ।