रामसिता पञ्चमी पर्व मनाईयो

बेत्रावती, त्रेता युगमा अयोध्याबाट राजकुमार श्रीराम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सितालाई विवाह गर्नुभएको तिथीको स्मरणमा रसुवा–नुवाकोटको सिमाना बेत्रावतीमा रामसिता पञ्चमी पर्व गत हप्ता मनाईयो ।

मर्यादा पुरूष श्रीराम र सीताको विवाह पञ्चमीको अवसरमा बेत्रावतीको राम मन्दिरबाट प्रारम्भ भएको श्रीरामको बिबाह जन्ती बोगटीटार प्रस्थान भई त्यहाँ रहेको सीता मन्दिरबाट विधिवत विवाह कार्य सम्पन्न गरिएको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले बताउनु भयो ।

रसुवास्थित बेत्रावतीमा आयोजित विवाह पञ्चमी मेलामा स्थानीय सयौं भक्तजनको सहभागिता रहेको थियो भने पञ्चेबाजा, भजनकृतन, स्थानीय मारूनी नाँच सहित हर्ष उल्लास गरिएको बेत्रावतीका समाजसेवी तुल्सीनारायण डंगोलले जानकारी दिनुभएको छ ।

त्रेता यूगको रामायणका प्रसङ्ग अन्तर्गत विवाह पञ्चमी मंसिर शुक्ल पञ्चमीमा आर्दश जोडी राम–सिताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दु संस्कृति अनुसार भएको धर्मग्रन्धमा उल्लेख गरिएको छ ।
सप्ताह ब्यापी रुपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गर्ने गरिएको छ ।