बजार अनुगमन

विदुर, घरेलु तथा साना उद्योग विकास समिति कार्यालय नुवाकोटले सदरमुकाम बजार क्षेत्रका पसल गत हप्ता अनुगमन गरेको थियो ।

विदुर नगरपालिका वडा नं.–१ को ढुंगे र त्रिशूलीबजार क्षेत्रका होटल, तरकारी पसल, मासु पसल, होलसेल पसलको अनुगमन गर्दा केही अखाद्य वस्तु फेला परेको घरेलु तथा साना उद्योग विकास समिति कार्यालय नुवाकोटको प्रमुख यादवनाथ आचार्यले बताउनु भयो । अनुगमनमा सुर्तिजन्य, मदिराजन्य सामान एकै ठाउँमा सजाएर राखेर बिक्री गरेको पाईएकोले अलग–अलग ठाउँमा राख्न ब्यवसायीलाई सचेत गराएको समेत बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक रेग्मीले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिई अनुगमन गरिएको बताए । अधिकांश पसलले वस्तुको मूल्यसूची राखेका थिएनन् । ब्यवसायको नाम सहित बोर्डसमेत नराखी वस्तुको बिक्री भएको पाईएको अनुगमन टोलीका एक सदस्यले बताए । अनुगमनको क्रममा मिति गुज्रिएका चाउचाउ, फ्रुटी, मुराई, बिस्कुट जफत गरिएको थियो । अनुगमन अनुगमनको लागि मात्र भईरहेको सञ्चारकर्मी कृष्ण थापाले बताए ।