तिन सय किशोरी केरुङमा

– सरस्वती न्यौपाने
धुन्चे, नेपालको चीनसँगको उत्तरी नाका रसुवागढी नाका हुँदै रोजगारीको खोजीमा रसुवाको मात्र ३ सय भन्दा बढी प्रवेश गरेका छन् । चीनको सीमा जोडिएका जिल्लाका नेपालीलाई चीनको केरुङ प्रवेश गर्न कम खर्च, राहदानी आवश्यक नपर्ने, सहज रूपमा बस्न पाउने र कमाई पनि राम्रै हुने भएकोले रसुवाका किशोरी तथा महिला त्यसतर्फ आकर्षण केरूङ सिटीमा भईरहेको छ ।

भूकम्पपछि सञ्चालनमा आएको एक मात्र नाका हुँदै केरूङ प्रवेश गर्नेमा यार्सा, राम्चे, सरमथली, हाकु, थुमन, डाँडागाउँलगायतका बढी किशोरी रहेका छन् । माइती नेपाल रसुवा तथ्याङ्कअनुसार रसुवाका ३ सय किशोरी चिनको केरुङमा विभिन्न काम गर्न गएका छन् । माइती नेपाल रसुवाको जिल्ला संयोजक लालुमाया घलेले दिएको जानकारी अनुसार ४४ जना २० वर्ष भन्दा कम उमेरका किशोरीलाई परामर्श दिई केरुङ जान रोक लगाईएको छ । उमेर पुगेकालाई कुनै रोक लगाईएको छैन उनले भनिन् । माइती नेपालका अनुसार उमेर पुगेका ६ सय २९ किशोरीलाई रसुवागढी नाकामा परामर्श दिईसकेको छ । ३ सय ३८ किशोरी ओहोर–दोहोर गरिरहेका छन् । प्रायः जसो चोर बाटो अपनाएर पनि केरूङ जाने गरेकाले त्यसको तथ्याङ्क भने छैन । केरुङमा अहिले ५ सय भन्दा बढी किशोरी तथा महिला काम गरिरहेका छन् । तिमध्ये झण्डै ३ सय जना किशोरी रसुवाकै रहेका छन् ।

केरुङ पुगेका प्रायः किशोरी होटल, डान्सबार तथा रेष्टुरेण्टमा काम गर्छन् । त्यहाँ नेपाली महिला असुरक्षित हुने गरेको पाईएको छ । कक्षा ८ देखि १२ कक्षासम्म अध्ययन गरेका किशोरी केरुङमा भेटिन्छ । २५ वटा भट्टी पसल, ४ सय वटा होटल र ३ वटा डान्सबार रहेको केरुङमा महिनाको १५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको त्यही काम गर्ने किशोरी फुलमाया तामाङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताईन् । पहिले भारतका कोठीमा बेचिन्थे भन्ने सुनिन्थ्यो तर खुलेआम केरुङ पुगेका अधिकांश किशोरी जोखिममा रहेका छन् । देह ब्यापारमा समेत लगाईने गरेको त्यहाँका एक ब्यवसायीकले बताए । माइती नेपाल रसुवाले पनि टिमुरेस्थित रसुवागढी नाकामा नै परामर्श डेक्स राखी आफ्नो तर्फबाट पनि संक्दो काम गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयको सहयोगमा माइती नेपालले जनचेतनामुलक कार्यक्रम जिल्लाका वडा तहसम्म गरिरहेको छ ।