लाखौं मूल्यका बोधीचित्त माला फल्यो

सानोभार्खु, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.५ सानोभार्खुमा बोधीचित्त माला फल्न शुरू भएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.५ सानोभार्खुका कामीछिरिङ तामाङले बोधीचित्त रोपेको ४ वर्षमा माला उत्पादन शुरू भएको हो । जिल्लामै बोधीचित्तको खेती गरेर माला बनाउने कामीछिरिङ तामाङ पहिलो किसान भएका छन् ।

कृषक तामाङको बारीमा ४ वर्ष अघि १० वटा बोधचित्तको बिरुवा रोपेका थिए । यसपाली ४ वटा बोटमा १६ सय ९० फल फलेका छन् । उनले १५ वटा माला र हातमा लगाउने ५ वटा मालाको मूल्य ६ हजारदेखि ७ हजारसम्म पर्ने बताएका छन् । मालाको दाना ६ एमएम भन्दा सानो र हत्केलाभरी अट्ने भएमा त्यस्ता मालाको मूल्य १ लाखसम्म पर्ने उनले बताए ।

बोधिचित्त खेतीबाट माला बन्न थालेपछि उनी उत्साहित भएर थप राम्रो माला खेतीको लागि ग्रेडिङअनुसार ४ हजार तिरेर ३ वटा बोट यसपाली पनि ल्याएर रोपेका छन् । बिरुवा महँगो पर्ने भएकोले कृषकलाई गाह्रो पर्ने भएकोे कारण राज्यले अनुदान दियो भने धेरै नै रोप्ने बताए । उनीजस्तै अन्य कृषक छिरिङपासाङ तामाङ, थार्चेन तामाङ, छिरिङ वाङदी मगर र कामी लामा तामाङले पनि बोधीचित्त माला रोपेका छन् ।

पुख्यौंली पेशा कृषि भएका कारण उनी साधारण लेखपढ गर्न जान्छन् । उनले सदरमुकाम धुन्चेमा हिमालयन लेजेन्ड नामक होटल समेत सञ्चालन गरेका छन् । चार जनाको परिवार मिलेर होटल र कृषि पेशालाई निरन्तरता दिईरहेका छन् । ४८ वर्षको कामीछिरिङ तामाङ आफ्नै देशको कृर्षि क्षेत्रमा परिश्रम र लगानी गरेर बाँझो जमिन र भिरालो पाखालाई १२ महिना नै फल्ने बेमौसमी तरकारी फलाएर मनग्य आम्दानी गरिरहेका छन् । नेपालमा केही गर्न सकिंदैन भनेर विदेसिने युवाहरूलाई काम गरे यही सुन फल्छ भनिरहेका छन् ।