टिमुरेमा ब्यवसायिक कृषि खेती शुरु

– फुर्पा तामाङ

नेपाल कृषि प्रधान देश हो । देशको करिव ८० प्रतिशत जनसंख्या प्रत्यक्ष वा परोक्ष रुपमा कृषि कर्मसँग सम्बन्धित छन् । धेरैले जानेको पेशा ब्यवसाय पनि कृषि नै हो । कतिपय जातजाति वा समुदायको कृषि पेशासँग उनीहरुको जीवन निर्वाहसँग मात्र गाँसिएका हुँदैनन् बरु पुख्र्यौली पेशा पनि हुन् । कृषि पेशासँग उनीहरुको धर्म र संस्कृति पनि जोडिएका हुन्छन् । उदाहरणको लागि तामाङ जातिलाई लिन सकिन्छ । यो जातिको धर्म र संस्कृतिका कार्य गरिंदा कृषि पेशासँग जोडिन पुग्छ । जस्तै, पूजापाठ गर्दा गहुँ, मकै, कोदो, जौं, करु, आदि अन्न आवश्यक हुन्छ । सिमी, भटमास, मुसुरो गेडागुडी चाहिन्छ । यसैगरी बोका, भेडा, कुखुरा, अन्डा, ऊन वा रौं चाहिन्छ । चौंरीगाई, गाई, भेडा बाख्राको दुध, नौनी चाहिन्छ । यसो भनिए तापनि कृषि पेशालाई ब्यवसायिक रुपमा गर्न भने सकिरहेका छैनन् ।

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.२ टिमुरे निवासी कामीनुर्पु तामाङले कृषिलाई ब्यवसायिक रुपमै शुरु गर्ने योजना सहित गोसाइँकुण्ड गाउँपालिकामा फर्म दर्ता गरी ब्यवसाय शुरु गरेका रहेछन् । उनको फर्मको नाम हो रसुवागढी कृषि पशुपालन तथा अनुसन्धान केन्द्र । युवा व्यवसायी तामाङको कृषि फार्म निकै महत्वकाँक्षी रुपमा स्थापना भएको देखिन्छ । टिमुरे गाउँदेखि करिव ३० मिनेट पैदल दूरी (जीपबाट १० मिनेट) मा पुगिने दिन्दिलिङ भन्ने स्थानको २५ रोपनी जग्गामा उनको कृषि फारम रहेको छ । गत साता उनको कृषि फारम पुग्दा बन्दकोबी, काउली, रायो र अन्य सागसब्जी लगाएको देखेँ । उनले दिन्दिलिङ बारीमा ३ हजार बिरुवा अलैंची, सुन्तला र कागती पनि रोपेका रहेछन् ।

मासु र सुपको लागि सर्वाधिक रुचाईएको साखिने प्रजातिको कुखुरा पालेर अन्डा र भाले बिक्री गर्न थालेका छन् । सोही २५ रोपनी बारीमा कृषि सम्बन्धी परम्परागत ज्ञान, सीप र आधुनिक प्राविधिक ज्ञान दिने गरी अनुसन्धान केन्द्र खोल्ने योजना पनि रहेछ । छिट्टै तामाङ वास्तुकला संस्कृति झल्किने गरी काठबाट निर्मित एउटा रिसोर्ट निर्माण गर्ने योजना पनि सुनाए । त्यसको लागि धमाधम काठ चिरान गर्दै रहेछ । ग्राहकलाई विषादी रहित गाईवस्तुको मल प्रयोग गरी उत्पादन गरेका तरकारी, अन्नबालीका खानेकुरा ख्वाउने, ग्राहकले रोजेको माछा पोखरीबाट झिकेर पकाएर ख्वाउने, मन लाग्यो भने आफ्नै हातले गाईको दुध दोहेर कराईमा उमालेर खान सकिने, साखिने कुखुराको अन्डा, बट्टाई, तित्रा, टर्की, हाँसको अन्डा तथा मासु खान सकिने, करु, गहुँ, फापर, कोदो, मकैको ढिंडो सिस्नोसँग ख्वाउने योजना रहेछ । हाल कूल पुँजी २५ लाखबाट शुरु गरिएको ब्यवसायलाई आवश्यकता अनुसार पुँजी बृद्धि गरी कृषि तथा पशुपालनलाई परम्परागत ज्ञान, सीप र आधुनिक प्राविधिक ज्ञानसँग समायोजना गरी ब्यवसायलाई यस क्षेत्रको नमुनाको रुपमा लैजाने र कृषि पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य सहित ब्यवसाय शुरु गरेको युवा ब्यवसायी कामीनुर्पु तामाङले बताउँछन् ।

टिमुरेबाट हिंडेर डेढ घण्टामा पुगिने खैदीमा चौंरीगाई र भेडाबाख्रा पालन शुरु गरेका छन् । याक, चौंरीगाई र भेडाबाख्रा पालन गर्ने उनको पुख्र्यौंली पेशा हो । हाल १७ वटा चौंरीगाई र १ सय २० वटा भेडाबाख्रा रहेका छन् । खुल्लास्थान भएकोले चरनको अभाव छैन । छोराले होटल ब्यवसाय र केरुङ ब्यापारको साथै पुख्र्यौंली पेशालाई निरन्तरता दिन लागेकोमा उनका बाबु कालेबाबु तामाङ ७५ निकै खुसी देखिन्छन् । चौंरीगोठ र भेडाबाख्राको गोठ भने वर्षैभरि उद्यौली–उभौली सारिरहनु पर्छ । कात्र्तिकदेखि फागुन महिनासम्म खैदीमा, वैंशाखदेखि असार महिनासम्म गोम्बालिङमा र साउन महिनादेखि असोज महिनासम्म जङ्दोरगङको बारीमा गोठ सार्नुपर्छ, कालेबाबु तामाङले बताए ।

खैदी र जङदोरगङमा चौरीं र भेडाबाख्रा पाल्ने आधुनिक खोर बनाउने योजना रहेछ । वस्तु भाउको मल हालेर आलु, मकै, करु र फापर खेती गर्ने योजना पनि उनले सुनाए । छुट्टिने बेला कामीनुर्पु तामाङले यो पनि बताए, ‘दाजु ! टिमुरेमा तीन तारे होटल निर्माण गर्न लागेको छु । अहिले चीनको केरुङ नाकाबाट आएका भिआईपी पाहुनालाई सेवा दिने राम्रो होटल टिमुरेमा छैन । यो नाकाबाट आउने विदेशी पर्यटकलाई कम्तीमा एकदिन यो ठाउँमा बसाउन सके यो क्षेत्रको पर्यटन विकास हुनेछ । मेरै तीन तारे होटलमा कृषि फारमबाट उत्पादित अर्गानिक तरकारी, फलफूल, अन्नबाली र पशुपक्षीको मीठो स्वाद चाख्न दिने मेरो योजना छ ।’

निश्चय नै कृषिलाई ब्यवसायिक बनाउनु आवश्यक छ । नगद आम्दानीको लागि युवा वैदेशिक रोजगारमा जान बाध्य छन् । आफ्ना खेतबारी भने बाँझो छन् । युवालाई कृषिमा संलग्न गराउने नीति सरकारले तय गरिनुपर्छ । उनीहरुको वंशलाई खाडी मुलुकमा पोख्न होइन, आफ्नै बारीमा उपयोग गर्ने वातावरण सरकारले गरिदिनुपर्छ । कृषिमा दिईने अनुदानलाई सरलीकृत गरेर कृषि ब्यवसायमा जोड दिन स्थानीय सरकारले विशेष ध्यान दिन जरुरी छ । किनभने सबैले लाखौं रकम खर्चेर ब्यवसाय शुरु गर्न सक्दैन । यस्तो अवस्थामा सरकारले सहयोग गर्नुपर्छ । अनि मात्र सरकारप्रति नागरिकको सम्मान बढ्न सक्छ ।

ठूलो भार्खु, रसुवा ।