हाम्रा कुरा : जाडोबाट बचाऔं

  • त्रिशूली प्रवाह
  • १० पुष २०७६, बिहीबार ११:०६
Logo of trishuli prawaha

गत हप्तादेखि देशभर चिसो बढेको छ । चिसोले आम नागरिकको दैनिक जनजीवन कष्टकर बन्दै गईरहेको छ । चिसो बढेसँगै तराई क्षेत्रमा शितलहरले जनजीवन प्रभावित बनाएको छ भने पहाडी क्षेत्रमा समेत बाक्लो तुषारो परिरहेको छ । मध्यान्ह हुँदासम्म पनि घामको राप पहाडी क्षेत्रमा समेत छैन । चिसोले विशेषगरी बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएका छन् । पहाडी क्षेत्रमा टहरामा बसिरहेकालाई चिसोले अझ धेरै सताईरहेको छ । टहरामा बस्ने बालबालिका, वृद्धवृद्धा चिसोको कारण दम, रूघाखोकी, निमोनिया जस्ता समस्याले च्याप्न थालेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । त्यसैले चिसोबाट बच्न सर्तकता अपनाउन जरूरी छ ।

केही दिनदेखि जाडोले कठ्याङ्गिएर मानिसको मृत्यु भएको खवरसमेत आईरहेको छ । हरेकवर्ष निश्चित महिनामा अत्याधिक जाडो हुने तथा तराई क्षेत्रमा शीतलहरको प्रभावले जनजीवन प्रभावित हुने थाहा भएपनि जाडोबाट बच्नका लागि आवश्यक तयारी सरकारले नगर्दा जनजीवन प्रभावित हुने गरेको छ । कतिपय अवस्थामा भने जाडोबाट बच्न सामान्य सावधानी नअपनाउँदा पनि जनधनको क्षति पुगेको देखिन्छ । जस्तो कि जाडोबाट बालबालिका, वृद्धवृद्धालाई साँझ–बिहान चिसो बढेको बेला न्यानो कपडा लगाईदिने, तातो र ताजा खानेकुरा खान दिने, घाम लागेपछि मात्र हिंडडुल गराउने गरेमा मात्र पनि चिसोबाट केही हदसम्म बच्न सकिन्छ । चिसोबाट बच्न हिटर र आगो ताप्ने बेलामा समेत सचेतना नअपनाउँदा यो मौसममा आगलागीका घटनासमेत बढ्ने गरेको छ । चिसोको समयमा लाग्ने रोग र त्यसबाट बच्ने उपायबारे सचेतना फैलाएमा पनि यो मौसममा हुने स्वास्थ्य समस्याबाट धेरैलाई जोगाउन सकिन्छ ।

चिसोका कारण किसानले लगाएको हिउँदै खेतीमा समेत नोक्सान भईरहेको छ । तुषारोले फलफूल तथा अन्य तरकारी खेतीमा असर परेको छ । चिसोका कारण बिहान सबेरैदेखि साँझ अबेरसम्म कामकाजमा ब्यस्त रहनेको दैनिकी पनि प्रभावित भएको छ । चिसोकै कारण शहर बजारमा रहेको ब्यापारिक केन्द्रमा पनि साँझ–बिहान चहलपहल घटेको छ । चिसोको कारण स्थानीय क्षेत्रमा हुने मेला पर्वमा समेत चहलपहल घटेको छ । तुलनात्मक रूपमा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गहरू यो समयमा अझ बढी प्रताडित हुने गर्छन् । मौसमअनुसार चिसो बढ्नु स्वभाविक भएपनि यसमा सर्तकता अपनाउँदा चिसोको प्रभाव घट्न सक्छ । असोजदेखि पानी नपरेकोमा गत हप्ता पानी परेपछि अझै केही दिन चिसो बढ्ने छ । सबैले आवश्यक सर्तकता अपनाउनुपर्छ । सम्बन्धित सरकारी निकाय र गैरसरकारी संघसंस्थाले पनि नागरिकलाई चिसोबाट जोगाउने कार्यक्रम एंव योजना ल्याउनु पर्छ । क्षति भएपछि प्रतिवेदन बनाउन र प्रायश्चित गर्न भन्दा पनि समयमा नै सतर्कता अपनाउन सबै निकायको ध्यान जाओस् ।