बट्टार सहकारीमा २० जना खराव ऋणी

  • त्रिशूली प्रवाह
  • १७ पुष २०७६, बिहीबार १४:१४
Logo of trishuli prawaha

बट्टारबजार, नुवाकोटको विदुर नगरपालिका वडा नं.४ बट्टारबजारमा सञ्चालन भईरहेको जिल्लाकै अग्रणी सहकारी बट्टार सहकारी संस्था लि.मा २० जना खराव ऋणी रहेका छन् । सहकारीमा गत आ.व.०७५÷०७६ को आषाढ मसान्तसम्म ऋणीको संख्या ४ सय ९६ रहेकोमा ४ सय ४७ असल ऋणी, २९ कमसल ऋणी र २० जना खरावी ऋणीको संख्या रहेको ऋण समितिका संयोजक मोहनबहादुर खड्काले जानकारी दिनुभयो ।

२४ वर्षदेखि बट्टारमा सञ्चालन भईरहेको सहकारी गत आ.व.मा कूल आम्दानी ४ करोड ३९ लाख ९० हजार ४ सय २२ रूपैयाँ गरेको थियो । सोही आ.व.मा सहकारीको ४ करोड २० लाख ४५ हजार २ सय २२ रूपैयाँ खर्च हुँदा खुद नाफा १९ लाख ४५ हजार १ सय ९९ रूपैयाँ आर्जन गर्न सफल भएको थियो । सहकारीको गत आ.व.०७५÷०७६ को आषाढसम्ममा १ हजार ४ सय ९० शेयर सदस्य र ४ करोड ६० लाख ८७ हजार ८ सय शेयरपुँजी रहेको छ । सहकारीले गत आ.व.मा १९ करोड ९१ लाख १२ हजार ६ सय २२ रूपैयाँ ऋण लगानी गरेको थियो ।

सहकारीको शुक्रबार २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गर्नुभएको थियो । सहकारीका अध्यक्ष ओमप्रकाश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा आ.व.०७५÷०७६ को बचत कारोवारतर्फ सर्वोकृष्ट बचतकर्ता सरिता श्रेष्ठ अमात्य र जीतबहादुर गुरूङ तथा ऋण कारोवारतर्फ लेखामाया दुवाल श्रेष्ठ र ईश्वरबहादुर राईलाई प्रमुख अतिथि उप्रेतीले सम्मान गर्नुभएको थियो । साधारणसभाले शेयरपुँजी वृद्धिको लागि सदस्यलाई शेयर थप गर्ने अवसर दिने र नयाँ शेयर सदस्य बिस्तार गर्ने नीति पारित गरेको छ । साधारणसभामा सहकारीका अध्यक्ष ओमप्रकाश श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रगती प्रतिवेदन लेखा तथा सुपरीवेक्षण समितिका संयोजक नवराज न्यौपानेले प्रस्तुत गर्नुभएको लेखा सुपरिवेक्षण प्रतिवेदनर र ऋण लगानी तथा असुली उपसमितिका संयोजक मोहनबहादुर खड्काले प्रस्तुत गर्नुभएको ऋण प्रतिवेदन वृहत छलफल गरी पारित भएको छ । ऋण समितिका संयोजक मोहनबहादुर खड्काले दिएको जानकारीअनुसार सहकारीमा ऋणीको संख्या ४ सय ९६ रहेका छन् । तिमध्ये ४ सय ४७ असल ऋणी, २९ कमसल ऋणी र २० जना खराव ऋणीको संख्या रहेको छ ।

सहकारीको शुक्रवार सम्पन्न साधारणसभाले नयाँ सञ्चालक समितिमा पुरानैलाई निरन्तरता दिएको छ । साधारणसभाबाट अध्यक्षमा पुनः ओमप्रकाश श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । त्यसैगरी, सञ्चालक समितिको उपाध्यक्षमा टलकमान श्रेष्ठ र सदस्यमा विजयमानसिंह डंगोल, भीमसेन अर्याल, केशवलाल श्रेष्ठ, हरिप्रसाद जोशी, मोहनबहादुर अर्याल, मेनुका श्रेष्ठ, शान्तिदेवी प्रधान, राजकुमार भट्टराई, रमेशमान श्रेष्ठ, गणेशकुमारी श्रेष्ठ, सम्झना जोशी, नविन्द्रमान श्रेष्ठ र राजकुमार आचार्य रहेका छन् । यसैगरी, साधारणसभाबाट लेखा सुपरिवेक्षण समितिको संयोजकमा नवराज न्यौपाने र सदस्यमा सरस्वती श्रेष्ठ अर्याल र देवेन्द्रबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएको सहकारीले जानकारी दिएको छ ।