हाम्रा कुरा : भ्रमण वर्ष सफल बनाऔं

  • त्रिशूली प्रवाह
  • १७ पुष २०७६, बिहीबार १४:१५
Logo of trishuli prawaha

नेपाल भ्रमण वर्ष २०२० हिजो बुधवारदेखि शुरू भएको छ । भ्रमण वर्ष सफल बनाउने भन्दै बजेटको ठूलो हिस्सा विनियोजन पनि भएको छ । तयारीको कुरा गर्दा तारे होटेलमा सभा सेमिनार गरेर मात्रै पुग्दैन । होटेल र रेष्टुरेन्टको विकास मात्र पर्यटनको विकास होइन । पर्यटनका विविध आयामलाई हामीले ध्यान दिनुपर्ने हुन्छ । राष्ट्रियस्तरदेखि स्थानीयस्तरसम्म पर्यटनको विकासका लागि छुट्टा–छुट्टै योजना र तयारी आवश्यक छ ।

बास्तवमा पर्यटन वर्षलाई सफल बनाउन धेरै तयारी गर्नु आवश्यक छ । पर्यटकीय स्थलको ब्यापक प्रचार–प्रसारले मात्रै यसको तयारी पूरा भएको मान्न सकिन्छ । सबैले भ्रमण वर्षलाई उत्सवका रूपमा मनाउने वातावरण बनाउन जरूरी छ । विदेशी पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने कुरा त छदैछ, नेपालभित्रका धेरै भन्दा धेरै नेपालीलाई एक ठाउँबाट अर्को ठाउँमा भ्रमणमा जाने आउने वातावरण बनाउनु पनि अपरिहार्य छ ।

पूर्वको मान्छे पश्चिम जाओस् पश्चिमको मान्छे पूर्व जाओस् । तराईका हिमाली क्षेत्रमा जाऊन्, हिमाली क्षेत्रका तराईमा जाऊन्, काठमाडौंका कर्णाली अनि कर्णालीका मान्छे काठमाडौं जाऊन् । मानौं मुलुकभित्रै पनि ब्यापक मुभमेन्ट (चहलपहल) होओस् । न्युन आयस्तर भएकाले पनि अतिरिक्त कमाई गर्न सकुन् र नयाँ–नयाँ ठाउँ घुम्न सकुन् । भ्रमण वर्षको मज्जा उच्च आय भएको वर्गले मात्रै होइन, न्युन आय भएका वर्गले पनि लिन सकुन् । भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्रका कर्मचारीलाई यो वर्ष सेवा प्रवाहमा प्रतिकूल असर नपर्ने गरी अतिरिक्त एक हप्तादेखि पन्ध्र दिनसम्म विदा दिनु उपयुक्त हुन्छ, सकिन्छ भने सशर्त भत्ता पनि दिउँ जस्तो नेपालकै स्थानको भ्रमण गरेको हुनुपर्ने र तस्विर समेत पेश गर्नुपर्ने आदि, ग्रामीण क्षेत्रको भ्रमण गर्न प्रोत्साहित गरौं जसबाट ग्रामीण क्षेत्रका जनताले केही कमाई गर्न सकुन् र उनीहरूले पनि अतिरिक्त खर्च गर्न सकुन् ।

त्यसैगरी, गाउँगाउँमा रहेका होमस्टेलाई सबलीकरण गरिनुपर्छ । तालिम र पूर्वाधार विकासमार्फत सरकारले उनीहरूलाई सहयोग गर्नुपर्छ । पर्यटकीय आकर्षण र सेवा सुविधा बढाउन निकै मेहनत गर्नुपर्छ । स्थानीय एंव मौलिक कला, संस्कृति र जीवनशैलीको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ । ग्रामीण पर्यटनको विकासका लागि स्थानीय उत्पादन, स्रोत र साधनलाई उच्च प्राथमिकता दिनुपर्छ । पर्यटकलाई कङ्क्रिट घरमा होइन बाँस, निगालो र खरले बनेका कटेजमा राख्नुपर्छ, सकिन्छ भने ढुंगा माटोकै मौलिक घर (घुमाउने घर, तिनधुरे, पाँचधुरे आदि) बनाउन लगाउनुपर्छ । पर्यटकलाई गलैंचा होइन मकैको खोस्टाले बनेको चकटीमा बसाइनुपर्छ । पिज्जा र स्याण्डविच होइन मकै, भटमास, सेलरोटी, ताप्केरोटी आदि खाजा खुवाईनुपर्छ । खानामा स्थानीय चामलको भात, अर्गानिक तरकारी, दाल, स्थानीय कुखुराको मासुको साथमा गुन्दु्रकको अचार र कोदो, फापरको ढिंडो दिईनुपर्छ । अर्थात् स्थानीय रूपमा जे उत्पादन हुन्छ, त्यही दिन सके मात्र पर्यटन वर्षको उपलब्धी हासिल हुनेछ ।

हाम्रो संस्कार अनुसार पर्यटकलाई भगवानसरह मानिन्छ । भगवानलाई खुसी पार्न स्वागत सत्कार, सरसफाई, मनोरञ्जनदेखि सेवा सुविधामा कुनै कमी आउन दिनु हुँदैन । पाहुनालाई लामो समयसम्म बसुँबसुँ लाग्ने बनाउनु पर्छ । छुट्ने बेलामा पनि हामीले पाहुनालाई सम्झना स्वरूप हाम्रो कला संस्कृति झल्किने हस्तकलाका सामाग्री दिन सकियो भने अझ सुनमा सुगन्ध थपिन्थ्यो । यसरी परिकल्पना गर्दा पनि आनन्द आउने गरी पर्यटकलाई हाम्रा गाउँगाउँमा भ्रमण गराउन सकियौं भने बल्ल भ्रमण वर्ष सफल भएको मानिनेछ । ग्रामीण भेगका जनताले पनि यसबाट लाभ लिन सक्नेछन् । २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको भ्रमण वर्षमा पर्यटकलाई नेपाल बोलाएर मात्रै हुँदैन खान, बस्न र रमाउन सक्ने उचित ब्यवस्था मिलाउनुपर्छ । हाम्रोमा भएका होटेल, रेस्टुरेन्टले मात्रै लाखौं पर्यटकलाई सेवा सुविधा दिन नपुग्न सक्छ । तसर्थ पर्यटकलाई हामीले नयाँ नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्न मद्दत गर्नुपर्छ ।