पाँच गाउँपालिका जोड्न पुलको सांसद लोहनी र सिंखडाबाट शिलान्यास

  • त्रिशूली प्रवाह
  • १७ पुष २०७६, बिहीबार १४:२१

– सन्तोष सुवेदी

धादिङवेंशी,  धादिङ जिल्लाका प्रतिनिधी सभासदस्य खेमप्रसाद लोहनीले विकास निर्माणको काम द्रुत गतिमा हुनुपर्ने बताएका छन् । निर्माणको जिम्मा लिएर काम नगर्ने, लापरबाही गर्ने, ठग्ने, दादागिरी देखाउनेलगायतका कार्य गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउने समेत सांसद लोहनी बताउनु भएको छ । गत बिहिवार धादिङको लपाङखोला सडकपुल शिलान्यास कार्यक्रममा सांसद लोहनीले काममा बाधा पार्ने जुनसुकै ठेकेदारलाई पनि कालो सूचिमा राखेर कारबाही गरिने बताउनु भयो ।

अधिकांस ठाउँमा विकास निर्माणको काम गर्दा स्थानीयको अवरोध आउने तथा निर्माणको काम ठप्प नै हुने स्थिती आउने गरेकाले यस्ता परिस्थिति नल्याउन समेत सांसद लोहनीले स्थानीयसँग आग्रह गर्नुभयो । १२ वर्ष अघिदेखि निर्माण हुन नसकेको लपाङखोला पुल अब छिटो बनाउन ठेकेदारदेखि स्थानीय सरकारसम्म सक्रिय हुनुपर्ने उनले बताए । धादिङवेंशी–तिप्लिङ सडकखण्डलाई सरकारले रणनितिक सडकको रुपमा लिएको सांसद लोहनीले बताउनु भयो । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं.३ का प्रदेशसभा सदस्य जगत सिंखडाले धादिङका विकट स्थानमा विकास निर्माणको काम अगाडी बढेको बताउनु भयो । संघीयतासँगै देशका विकट स्थानमा पनि विकास छिटो पुगेको भन्दै धादिङको उत्तरी क्षेत्रको विकासमा पनि राज्यको नजरमा परेको भन्दै सांसद सिंखडाले ईमान्दारीताका साथ गाउँ विकासमा लाग्नुपर्ने बताए । उनले विकासका काम पारदर्शी तथा ईमान्दारिताका साथ गर्न समेत स्थानीय लगायत ठेकेदारलाई आग्रह गरेका छन् ।

धादिङको उत्तरी क्षेत्रका नेत्रावती, त्रिपुरासुन्दरी, खनियावास, गंगाजमुना र रूबिभ्याली पाँच वटा गाउँपालिका जोड्ने लपाङखोला सडकपुल बिहिवार एक कार्यक्रमकाबिच सांसदद्धयले शिलान्यास गर्नुभएको थियो । पुल करिव ४५ मिटर लम्बाई र ८ दशमलव ४० मिटर चौडाईको निर्माण हुनेछ । पुल निर्माणको ठेक्का रसुवा कन्ट्रक्शन र जेविएनएस कम्पनीले लिएको छ । पुल एक वर्षभित्रैै निर्माण सम्पन्न हुने ठेकेदारले जनाएका छन् । विगत १२ वर्षदेखि अलपत्र बन्दै आएको लपाङखोला सडकपुल २०७६ मंसिर ३० गतेबाट काम शुरु भएको जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार धादिङका प्रमुख जयराम श्रेष्ठले बताए ।