प्रदेश नं.३ को राजधानी हेटौंडा नै किन ?

  • त्रिशूली प्रवाह
  • १७ पुष २०७६, बिहीबार १४:३०

चुनावको बेला जिल्लाअनुसार नेताले भाषण गरेका थिए । प्रदेशको राजधानी आफ्नो जिल्लामा बनाउने । ३ नम्बर प्रदेशको राजधानी आफ्नै जिल्लामा बनाउनुपर्छ भनेर माग नगर्ने एक मात्र जिल्ला सायद रसुवा मात्र थियो । २०७४ सालको निर्वाचनमा मुख्य भूमिकामा रहेका तत्कालिन नेकपा एमाले, माओवादी र कांग्रेसका सबैजसो उम्मेदवारले आफ्नै जिल्लामा ३ नम्बर प्रदेशको राजधानी बनाउने भनेर मत पनि मागे । तर, त्यो माग राजनीतिक मात्र थियो । राजधानी कसरी निर्धारण गरिन्छ भनेर जानकारी नराख्नेले अहिले पनि हाम्रा नेता कता निदाए ? चुनावको बेला राजधानी यही जिल्ला हुन्छ भन्ने अनि अहिले चूप लाग्ने ? पार्टीबाट सांसद चल्नु भएन । राजधानीको बारेमा प्रदेशको सभाले निर्णय गर्नुप¥यो जस्ता शब्द सामाजिक सञ्जालमा ओकलीरहेका छन् ।

राजधानी प्रदेशको बीचको जिल्लामा राख्नुपर्छ भनेर जिल्लाका नक्सा कपी गरेर सामाजिक सञ्जालमा पोष्ट गरेर जनतालाई उत्तेजित पार्नेहरु पनि छन् । तर, विश्वभर कतै पनि भू–भाग खोजेर मात्र राजधानी बनाउने चलन छैन । राजधानी भनेको रणनीति विषय हो । त्यो छेउ, कुना जता पनि हुन्छ । तराईका जिल्लाको सबै सदरमुकाम नै दक्षिणतिर छन् । अर्थात् भारतीय सीमातिर । यदि बीचमा पार्ने हो भने अधिकांशको महेन्द्र राजमार्गमा हुने थियो । तत्कालिन शासकले रणनीति अपनाएर जिल्ला सदरमुकाम, सैनिक अड्डालगायतका सबै कार्यालय सीमानामा राखे र देशको सीमा जोगाए ।

अहिले धेरैले प्रदेश ३ को राजधानी पाँचखाल वा भक्तपुर हुनुपर्छ भनेर लबिङ्ग नै गरे । तर, नेकपाले प्रदेशको राजधानी हेटौंडा  बनाउने निर्णय ग¥यो । त्यसको मुख्य कारण हो, राणनीति । यदि प्रदेशको राजधानी हेटौंडा बनाएन भने २ नम्बर प्रदेशलाई सन्तुलनमा राख्न समस्या पर्ने पक्का थियो । नेकपाले सुझबुझपूर्ण तरिकाले निर्णय लिएको छ । बीचमा परे पनि काठमाडौं उपत्यका प्रदेशको राजधानीका लागि उपयुक्त थिएन र छैन । किनकी यहाँ संघकै राजधानीको कारण पनि जनघनत्व बढेर टिक्न सकिने अवस्था छैन । त्यसमा प्रदेशको पनि थप्ने हो भने त्यसले बिकराल रुप लिने थियो ।

नेपालका सदरमुकाम मात्र होइन । विश्वका धेरै देशका राजधानी बीचमा हुँदैनन् । रणनीतिक रुपमा राजधानी छान्नुपर्ने भएकाले कसैको पूर्व, कसैको पश्चिम, कसैको उत्तर र कसैको दक्षिण पर्न गएको छ । कर्णाली प्रदेशको राजधानी दक्षिणमै पर्नुमा भने भौगोलिक कारण पनि छ । त्यसकारण राजधानी बनाउने विषयमा सबै ठाउँमा भूगोललाई आधार मानिदैन । त्यो विश्वभरको प्रचलन पनि हो । एयरपोर्ट नै नभएको जिल्लामा पनि राजधानी बनाउनुको मुख्य उद्देश्य नै सबैतिर सन्तुलन मिलाउनु हो । सन्तुलन मिलाउनको लागि नै हेटौंडालाई राजधानी बनाउने निर्णय नेकपाको नेतृत्वले गरेको हो । हेटौंडालाई राजधानी नबनाए र काठमाडौं उपत्यका वा माथिल्लो भागलाई बनाएको भए त्यसले राजनीतिक अस्थिरता पनि ल्याउने थियो । विकासको सन्तुलनको हिसाबले पनि हेटौंडा राजधानी ठीक भएको नेकपाका नेता बताउँछन् । अब काठमाडौंबाट हेटौंडा आवत–जावतको मार्ग धेरै सहज हुनैपर्छ । राजधानी भएपछि विकासका धेरै काम शुरु हुन्छ । हेटौंडाको उद्देश्य काठमाडौंलाई भौगोलिक रुपमा नजिक्याउने हुन्छ । त्यसरी विकास भयो भने २ नम्बर प्रदेशलाई पनि संघीय राजधानी काठमाडौंसँग नजिक्याउने छ । त्यही कारण हेटौंडालाई नकेपाले राजधानी बनाउने निर्णय गरेको हो ।

प्रदेश नं.–३ को प्रदेश सरकारले यही विषयलाई टुंगोमा पु¥याउनको लागि पुस २१ गते प्रदेशसभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश प्रमुखलाई बैठक आह्वानका लागि निर्णय गरेर पठाईएको छ । प्रदेशसभाको बैठकमा प्रदेशको राजधानी र नामाकरणको विषय औपचारिक रुपमा प्रवेश गरेर निर्णय हुनेछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुङ्गो लगाएसँगै प्रदेश सरकारले अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो । केही नेता तथा दलले प्रदेश ३ को नाम, जाती र धर्मबाट राख्न दबाब दिए पनि नेकपाले जातीय र धार्मिक कुरा अस्वीकार गरेको छ । यसले नेपाललाई जातीय र धार्मिक अहंकारबाट मुक्त गरेको छ । एक ठाउँमा जातीय प्रभाव पर्नासाथ अर्को ठाउँमा त्यही माग लिएर आन्दोलन हुने भएपछि नेकपाले ३ नम्बर प्रदेशको नाम बागमती राख्ने निर्णय गरेको छ । बाग्मती नदीबाट नामाकरण गरिएको कारण यसमा विरोध छैन ।