जिल्ला सहकारी संघको साधरणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • १७ पुष २०७६, बिहीबार १६:१९

विदुर,  ‘दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नारा सहित सञ्चालित जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको २७ औं वार्षिक साधरणसभा सोमवार सम्पन्न भएको छ ।

संघका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन प्रदेश नं.३ का प्रदेश सांसद एंव नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले गर्नुभएको थियो । उहाँले सहकारीमार्फत ग्रामीण क्षेत्रको आर्थिक विकास हुने विश्वास ब्यक्त गर्नुभएको छ । सहकारीलाई वस्ती वस्तीसम्म पु¥याउन सकेको खण्डमा सहुलियत ब्याजदरमा ऋण लिएर ब्यवसाय तथा उद्योग सञ्चालन गर्न सकिने बताउनु भयो ।

सो कार्यक्रमका विशेष अतिथि प्रदेश नं.३ का सांसद केशव पाण्डेले सहकारीले देशको आर्थिक उन्नतिमा टेवा पु¥याएको बताउनु भयो । एउटै ब्यक्ति धेरै सहकारीको सञ्चालक हुँदा सोचेअनुसारको प्रतिफल सहकारीले दिन नसकिरहेको उहाँले बताउनु भयो । पछिल्लो समय सहकारी बचत तथा ऋणको कारोबारमा मात्रै नभई उत्पादनमूलक ब्यवसायिक क्षेत्रमा लाग्नुपर्ने बताउनु भयो । जिल्ला सहकारी संघले नै सदस्य सहकारीलाई ब्यवसायिक क्षेत्र तथा उत्पादनमुखि क्षेत्रमा लाग्न प्रेरित गर्न सुझाव दिनुभयो ।

जिल्ला सहकारी संघको अघिल्लो वर्ष २ सय ५८ वटा सहकारी संस्था सदस्य रहेकोमा अहिले २ सय ६८ वटा सदस्य पुगेको छ । संघको पुँजी नै शेयर र शेयर नै सदस्य भएको हुँदा संघलाई पूर्णरूपमा कार्यान्वयन गर्न सञ्चालक समिति प्रयत्नशिल रहेको संघका अध्यक्ष राजेश श्रेष्ठले सो अवसरमा बताउनु भयो ।

साधारणसभाले संघका अध्यक्ष राजेश श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष अरुणकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन तथा लेखा संयोजक नारायण श्रेष्ठले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

संघको शेयरपँजी २० लाख ६९ हजार रुपैयाँ रहेको लेखा समितिका संयोजक नारायण श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ नुवाकोटका पूर्व अध्यक्ष बैकुण्ठ मिश्र, पुर्णलाल श्रेष्ठ, कृषि सहकारी संघ नुवाकोटका अध्यक्ष विजय खनाल, कफी सहकारी संघ नुवाकोटका अध्यक्ष लोकेन्द्र महतलगायतले सदस्य सहकारीलाई समस्या पर्दा संघले सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।