चार धाम मध्येको एक धाम : बेत्रावती

  • त्रिशूली प्रवाह
  • २४ पुष २०७६, बिहीबार १४:२५

– सरस्वती न्यौपाने

बेत्रावती,  सत्य युगमा भगवान शिवले हलाहल नामक विष पान गरी सम्पुर्ण प्राणीको रक्षा गर्नुभएको थियो । भगवानले हलाहल नामक विष सेवन गरी डाहा शान्त पार्न पानीको खोजीमा हिड्दा वेदको लौरोद्वारा अहिलेको रसुवा–नुवाकोटको सिमाना फंलाखु र त्रिशूली नदी छेउमा पानी निकालेकोले बेत्रगंगा उत्पती भई बेत्रावती भएको किम्वदन्ती रहेको छ ।

भारतको तीनगया धाम भन्दा पनि महत्वपुर्ण यस उत्तरगयामा आई आफ्नो पितृको सम्झनामा पौषे औसीको दिन श्राद्ध गर्दा मोक्ष मिल्ने विश्वास गरिन्छ । प्रमुख धार्मिक तिर्थस्थलको रूपमा रहेको पवित्र भुमी बेत्र गंगा, रुद्र गंगा र त्रिशूल गंगाको संगमस्थलको रुपमा बेत्रावती रहेको छ । बेत्रावती क्षेत्रलाई उत्तरगयाको नामले पनि चिनिन्छ । नेपाल भोट युद्धका बेला खसालिएको ठुलो कालो ढुङ्गा अझैसम्म बेत्रावतीमा रहेको छ । परापुर्वकालमा तिब्बत (भोट) सँगको ब्यापारिकमार्गको रुपमा समेत यो स्थल रहेको थियो । यस ठाउँ वि.सं.१८४९ असोज १७ गते नेपाल तिब्बतबीच बेत्रावती सन्धि भएको थियो । सबै जातजातिको पुण्यभुमि रहेकाले विशेष गरी दशहरा मेला, हरितालिका तिज, जनैपुर्णिमा मेला, ठुलो एकादशी, पौषे औसी, माघेसङ्क्रान्तिमा स्नान गर्ने ठाउँ पनि हो बेत्रावती । प्रत्येक वर्ष मकर सङ्क्रान्तिको दिन गोरु जुधाउने परम्परा रहिआएको बेत्रावतीमा शिव, राम मन्दिर र देवी स्थान पनि रहेको छ ।

उत्तरगया नामले परिचित प्रसिद्ध तिर्थस्थल बेत्रावती । ऐतिहासिक दुई हजार फिट अग्लो दुधे लामा पहाडको फेदी तथा गोसाइँकुण्डसँग जोडिएको पहाडको संगमस्थल भएकाले हरिबोधनी एकादशीका दिन फुलको डोली त्रिशूली नदी वारपार एकादशीमा तार्ने गरेको छ । रसुवा र नुवाकोटको संगमस्थालको रुपमा रहेको बेत्रावती धाम जीवनमा एकपटक पुग्नैपर्ने धाम रहेको छ । यस धाममा अन्तिम दाहसंस्कार गरेपछि स्वर्गमा पुग्ने जनविश्वास रहेको स्थानीय समाजसेवी गणेश श्रेष्ठले जानकारी दिनुभयो । बेत्रावती धामसँगै त्यही बाटो भएर भगवान शिव गोसाइँकण्डमा पुगी विराजमान रहनुभएको हो । यस जिल्ला धार्मिक मार्गको रुपमा पनि परिचित छ । हिन्दु धर्ममा आस्था राख्ने यस क्षेत्रको भ्रमण गरी पुण्य कमाउने हेतुले देश विदेशबाट हजारौं मानिस आउने गर्दछन् ।

विभिन्न धार्मिक एवं साँस्कृतिक रुपले महत्वपुर्ण मानिने तालतलैया, हिमाल, मठ–मन्दिरका साथै रसुवागढी बेत्रावती जस्ता ऐतिहासिक स्थलका अलावा क्याङजिङ उपत्यका नागथली, घलेगढी, कालिकामाई रहेका छन् । चर्चामा रहेका धार्मिक कुण्ड गोसाइँकुण्ड, सरस्वतीकुण्ड, सुर्यकुण्ड, पार्वतीकुण्ड, तातोपानी, उत्तरगया धाम छन् भने ऐतिहासिक महत्वका क्षेत्रमा बेत्रावती र रसुवागढी रहेका छन् । यस्ता धार्मिक महत्वका आस्थाको धरोहर रहेको यस जिल्लामा आन्तरिक बाह्य पर्यटकको धेरै भन्दा धेरै आगमन गराउन सके अन्त कतै जानै पर्दैन । देशकै तेस्रो पदयात्राको लागि गनतब्यको रुपमा रहेको लाङटाङ जैविक विविधता, साँस्कृतिक, धार्मिक र पर्यावरणीय हिसावले पनि उत्तिकै महत्व बोकेको छ ।