प्रदेशको बजेटमा नुवाकोट–धादिङ–रसुवामा ‘हिल स्टेशन’

  • त्रिशूली प्रवाह
  • २४ पुष २०७६, बिहीबार १४:२७
Logo of trishuli prawaha

विदुर,   पर्यटकीय क्षेत्र पहिचानसहित पर्यटन विकासको नयाँ परिकल्पनासहित प्रदेश ३ सरकारले नुवाकोट–धादिङ–रसुवा जिल्ला सहित आठ स्थानमा ‘हिल स्टेशन’ बनाउने भएको छ ।

प्रदेश सरकारले आ.व.२०७६÷०७७ मा सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, धादिङको रूबीभ्याली, मकवानपुरको चित्लाङ, रामेछापको शिवालय, सिन्धुलीको सिन्धुलीगढी, नुवाकोटको ककनी र रसुवाको सोम्दाङलाई हिल स्टेशनका रूपमा विकास गर्न लागेको हो । प्रदेश सरकारले घोषणा गरेको भ्रमण दशक २०२० देखि २०३० अन्र्तगत यसलाई ड्रिम प्रोजेक्टका रूपमा लिएको छ । प्रदेशले यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ २० करोड रूपैयाँ छुट्याएको छ ।

यसैगरी, तीन स्थानको ठेक्का सम्झौता भएको, दुई स्थानको ठेक्का प्रक्रिया रहेको, तीन स्थानको डिपीआर अन्तिम चरणमा पुगेको प्रदेश ३ को उद्योग वन तथा पर्यटन मन्त्रालयका पर्यटन आयोजना प्रमुख शिव सापकोटाले बताए ।
हिल स्टेशन निर्माण गर्न प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आ.व.२०७५÷०७६ मा नै ५ करोड रूपैयाँ रकम विनियोजन गरेपनि काम शुरू हुनसकेको थिएन । तर, हिल स्टेशन मल्टिपर्पोज हुनेगरी निर्माण गर्न प्रदेश ३ को पर्यटन मन्त्रालयले डिजाइन तयार गरी काम गर्न शुरू भईसकेको आयोजना प्रमुख सापकोटाले जानकारी दिएका छन् ।

पर्यटकका लागि गर्मी छल्न जाने स्थानका रूपमा हिल स्टेशन बन्ने छ । हिल स्टेशनमा बगैंचा, भ्यु टावर, कोसेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्टलगायतका भौतिक संरचना निर्माण गरिने योजना रहेको छ ।
हिल स्टेशनमा रिसोर्ट चलाउन चाहनेलाई सार्वजनिक जग्गा उपलब्ध गराईने सापकोटाको भनाई छ । निजी रिसोर्ट नभएका र सञ्चालन गर्न नसकिने स्थानमा होमस्टे निर्माण गर्ने योजना रहेको उनले बताए । गर्मी छल्नका लागि पुग्ने पर्यटक केही समय आनन्दले रमाउन सक्ने गरी हिल स्टेशन बन्ने छ ।

नुवाकोटको ककनीमा हिल स्टेशन बनाउन ठेकेदारसँग सम्झौता भएको छ । ३ करोडको लगानीमा यसै आ.व.मा काम सम्पन्न हुनेगरी काम शुरू भएको सापकोटाले बताए । ‘मकवानपुरको चित्लाङमा पनि काम शुरू भएको छ,’ सापकोटाले भने, ‘३ करोडको लगानीमै काम हुने र यही आवमा काम सकिने छ ।’ सिन्धुपाल्चोकको मुडे र सिन्धुलीको सिन्धुलीगढीमा बन्ने हिल स्टेशनका लागि डिपीआर तयार भईसकेको तर ठेक्का सम्झौता हुन बाँकी रहेको आयोजना प्रमुख सापकोटाले बताए । दोलखाको जिरीलाई बहुवर्षीय योजनामा राखिएको, धादिङको रूबी भ्याली, रामेछापको शिवालय र रसुवाको सोम्दाङको डिपीआर तयार हुँदै गरेको सापकोटाले जानकारी दिए ।

प्रदेश सरकारले प्रदेशलाई पर्यटनको हब बनाउने लक्ष्यका साथ विभिन्न जिल्लामा आयोजनामार्फत् पर्यटकीय पार्क निर्माण, भ्यु टावर, पर्यटकीय पदमार्ग निर्माण, बगैंचा, पार्किङस्थल, पदमार्गको स्तरोन्नति, धार्मिक पर्यटकीय सर्किट निर्माण, तातोपानी क्षेत्रको संरक्षणलगायत कार्यको डिपीआर तयार भएर धेरै स्थानमा काम शुरू भईसकेको मन्त्रालयले जनाएको छ ।