चार हजार बाँसको मुढा निर्यात

  • त्रिशूली प्रवाह
  • २४ पुष २०७६, बिहीबार १४:३६

धुन्चे, अन्तराष्ट्रिय नाकाले परिचित रसुवागढी नाका हुँदै चिनको केरुङबाट चालु आर्थिक वर्ष २०७६÷०७७ को पाँच महिनामा ४ हजार बाँसको मुढा निर्यात भएको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय टिमुरेकाअनुसार साउनमा २ हजार ८ सय ५० र कार्तिकमा १ हजार १ सय ५० मुढा निर्यात भएको थियो । गत वर्षको तुलनामा ७८ दशमलव ४६ प्रतिशत कम भएको थियो भने गत आर्थिक वर्षको पाँच महिनामा १८ हजार ५ सय ६३ मुढा निर्यात भएको थियो ।

धादिङ, सुनसरी र काठमाडौंको कारागारमा उत्पादित मुढा चीन लैजाने गरिएको छ । मुढाबाट साउनदेखि मंसिरसम्ममा १० लाख बराबरको निर्यात भएका छन् । यस नाकाबाट कृषि तथा वन्यजन्तुका सामाग्री निर्यात हुँदै आएको छ भने रुद्राक्ष, बुद्धचितको माला, बाँसको नाङ्लो, अम्रिसोको कुचो, काठको क्यार झुल, हान्डी क्राफ्ट, निर्यात हुने गरेका छन् ।

गत आर्थिक वर्ष २०७३/०७४ मा १ करोड ५० लाख १५ हजार रुपैयाँको २१ हजार ४ सय ५५ र २०७४/०७५ मा ३१ लाख २० हजार मूल्य बराबरको १२ हजार ८ सय ८० मुढा निर्यात भएको छ भने पछिल्लो समय कृषिजन्य सामाग्री निर्यात घटेको छ । नेपालको विभिन्न कारागारमा उत्पादित मुढा संकलन गरेर चीनको ल्हासा, सिगात्से, न्यालम र घिङग्री लैजाने गरिएको छ ।