गोरू जुधाउने मेला बिस्तार : नुवाकोट र रसुवामा ६४ हल गोरू जुधाइँयो

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १३:३५

बट्टार, माघे संक्रान्तीको अवसरमा नुवाकोट र रसुवामा ६४ हल गोरू जुधाइँयो । बुधवार गोरू जुधाइँ मेला भब्य रूपमा सम्पन्न भएको छ । जिल्लाको पाँच स्थानमा ५३ हल गोरू जुधाइँएको जानकारी प्राप्त भएको छ । यो वर्ष नुवाकोटको शिवपुरी गाउँपालिकाको सेराबजार र दुप्चेश्वर गाउँपालिकाको सातबिंसेमा गोरू जुधाइँ मेला शुरू गरिएको छ । तारूकाबाट शुरू भएको गोरू जुधाउने मेला बिस्तार हुने क्रममा रहेको छ ।

‘तारूकाको पौरख, नेपालको गौरव’ भन्ने नारासहित नुवाकोटको तार्केश्वर गाउँपालिका वडा नं.–३ तारूकामा यस वर्ष २२ हल गोरू जुधाइँएको माघे संक्रान्ती संरक्षण समितिका सचिव केशवप्रसाद रिमालले जानकारी दिए । उनले दिएको जानकारी अनुसार गोरू जुधाउन प्रतियोगिताको प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला उपस्थित भएर स्थानीयलाई हौसला दिएका थिए । बजाङी राजा जयपृथ्वीबहादुर सिंहको उपस्थितीमा १८८७ सालदेखि शुरू भएको गोरू जुधाइँ प्रतियोगितालाई नुवाकोटको तारूकाबासीले संरक्षण गर्दै आएका छन् ।

स्थानीय सरकारको सहयोगमा इतिहासलाई संरक्षण गर्दै गोरू पाल्ने किसानलाई प्रोत्साहन र थोरै ठाउँमा सञ्चालन भएको गोरू जुधाइँ उत्सवलाई विश्वभर पु¥याउन समिति केन्द्रीत रहेको सचिव रिमालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । यस्तै नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं.–३ पिपलडाँडामा ८ हल गोरू जुधाइँयो । पञ्चकन्यामा नवप्रतिभा युवा समुहले गोरू जुधाइँ प्रतियोगिताका आयोजना गरेको थियो । पञ्चकन्यामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व अर्थमन्त्री डा.रामशरण महतसहित ने.का.का केन्द्रीय नेता आउनुभएको युवा समुहका अध्यक्ष शिवहरी बिष्टले जानकारी दिनुभयो । उहाँले बताएअनुसार प्रथम हुने गोरूलाई १५ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई ५ हजार रूपैयाँ र सहभागी भएका अन्य सबै गोरू धनीलाई एक हजार रूपैयाँसहित प्रमाणपत्र उपलब्ध गराइएको थियो । लिखु गाउँपालिकाको सहयोगमा मगर संघले कट्टिछापमा २ हल र तादी गाउँपालिका वडा नं.–४ सातबिंसेको सार्की बगरमा १० हल गोरू जुधाइँएको थियो ।

माघे संक्रान्ती पर्व मनाउन नुवाकोटको दुई र रसुवाको एक स्थानीय तहले सार्वजनिक विदा दिएको छ । स्थानीय पर्वको रूपमा नुवाकोटका ककनी र म्यागङ गाउँपालिका तथा रसुवाको उत्तरगया गाउँपालिकाको बुधबार सार्वजनिक विदा दिएको थियो । रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा बुधबार ११ हल गोरू जुधाइँयो । हरेक वर्ष माघे संक्रान्तीको अवसरमा गोरू जुधाइँ मेला सञ्चालन गर्दै आएकोमा यो वर्ष पनि निरन्तरता दिएको छ । आयोजक गोसाइँकुण्ड युवा क्लवका अध्यक्ष ज्ञानकुमार डंगोलले दिएको जानकारी अनुसार गोरू जुधाउने मेलामा हौसला प्रदान गर्न संविधानसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फे, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेको उपस्थिति रहेको थियो ।

नेपाल र तिब्बतबीच १८४९ असोज १७ गते बेत्रावती सन्धी भएको खुसियालीमा मनाइने गोरू जुधाइने ग्रामीण पर्यटन प्रर्वद्धन गर्न सहयोग पुग्ने विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताउनु भयो । परम्परालाई मान्यता दिंदै २२ वर्षदेखि स्थानीयले गोरू जुधाई प्रतियोगिता गरेर खुसीयाली साट्ने थलोका रूपमा विकास भईरहेको शुभकामना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिकृष्ण डंगोलले बताए । गोरू जुधाइँ अवलोकन गर्नका लागि रसुवासहित नुवाकोट, काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुरलगायतका जिल्लाबाट सर्वसाधारण तथा पर्यटकको बाक्लो सहभागिता हुने गरेको छ । कृषिमा आधुनिकीकरणले गर्दा हाते ट्याक्टरको प्रयोगका कारण गाउँघरमा गोरू हराउँदै गएपछि प्रतियोगिता सञ्चालनमा समस्या आउने गरेको क्लवको भनाई छ । २०५३ साल अघिसम्म गोरू जुधाइँ समिति गठन गरेर प्रतियोगिता सञ्चालन गर्दै आएकोमा त्यसपछि भने क्लवले गोरू जुधाइँ आयोजना गर्दै आएको छ ।