अनुभुतिमा निजामती सेवा

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १३:४६

– उदय रानामगर
कुनै पनि चिजको महत्व आफैंले अनुभुति नगरेसम्म कहाँ गहिराइमा पुग्न सकिन्छ र ? हो यो कुरा मेरो मानसपटले अनुभुति गर्न थालेको छ । हाम्रा बुढापाकाले भन्थे तर तन्नेरी अवस्थामा यी बुढापाकाले के गफ छुट्छन् भनेर हावामा उनीहरुको कुरालाई उडाइन्थ्यो । तर अनुभवले खारिएका र आफंैले भोगेका ती अग्रजको कुरालाई हावामा उडाएकोमा आज आफैंलाई आत्माग्लानी हुन्छ । शरीरमा बलको उन्माद हँुदाको बखतको कुरै अर्कै । धर्मशास्त्र अनि अनुभव र अनुभुतिलाई आत्मसाथ गर्नसक्ने हाम्रो दुसास नै कहाँ थियो र । पाखुरीको बल अनि आधुनिकताको पाठ पढेको हामी साच्चै कलियुगको उन्माद हात्ती झैं थियो । अनुभव तथा भोगाईका खानी अग्रजको अनुभवलाई साच्चै हामीले बेवास्था मात्र होइन अपहेलना नै गरेको रहेछौं नि विगतमा ।

म मेरो जन्मस्थलको भ्रमणको क्रममा जाने क्रममा थिए । बाटोमा भेटेका बटुवाहरुसँग बोलचाल नै नगरिकन । हामीमा आत्मीयता साट्ने बानीलाई आधुनिकताका पगरीले लखेटी सकेको अवस्था छ । एक जना अग्रज बाले जन्मस्थलको भ्रमणको क्रममा देख्ने बित्तिकै बोलाउनु भयो र भन्नु भयो । बाबु कता पुग्ने हो तर हाम्रो आधुनिकताबादी संस्कारले नचिनेको र नजानेकोसँग बोल्न हुन्न भन्ने मान्यतालाई पाठ सिकाएको थियो र केवल मोबाइलसँग मात्र झुम्मीने बानीको विकास भईसकेको छ । त्यसैको कारण होला मलाई पनि ति घेरावाला टोपी लगाएको तर हसिलो हेर्दैमा अनुभवको भण्डार नै होला जस्तो देखिने बा को अनुहारलाई एकोहोरो हेरिरहे । ती अपरिचत बा मेरो हेराईप्रति अचम्बित थिए । बाबु किन टोलाउनु भो नि । तर यो बुढाले किन डिस्टव गर्दै छ मलाई भनेर एक त रिस पो उठ्यो । तर बुढा बा को एकहोरो प्रश्नले मैले उनीसँग बोल्न र उनको कुरा सुन्न बाध्य भए । बा भन्नुस् मलाई चिन्न हुन्छ र ? तर बाको जवाफ थियो नेपालीले नेपालीलाई किन नचिन्नु बाबु । तपाई कहाँ जान लाग्नुभएको हो बाबु । त्यसपछि मैले आफ्नो परिचय दिए । तर उहाँ त मेरो बाबाको साथी नै हुनुहुँदो रहेछ । साथीको छोरा भेटिएकोमा आफैंलाई खुसी भएको भन्दै आफूमा भएका सबै अनुभवका पोकाहरु खोल्न थाल्नु भो । मेरो बाबाको साथी मैले बाबा नै भनेर सम्बोधन गरी तब उनी झन् उनी पुलकित हँुदै भन्दै हुनुहुन्थ्यो, तिमीहरूको पालाको शिक्षा र अहिलेको शिक्षाको अवस्था धेरै फरक छ । तिम्रा पालामा तिमीहरु स्कूल जानुभन्दा पहिले एकभारी घास दाउरा गर्ने, खेतबारीमा काम गर्ने, बिदाको दिनमा खेतमा काम गर्ने, बालीमा लाग्ने रोगब्याधी लाग्दा विषादि छर्न खेतबारीमा जाने गथ्र्यो । पल्ला घरको पसलेको छोरा बिहान बेलुका पसलमा बस्थे । त्यसैगरी उद्यमी रामबहादुरको छोरा बाबुको उद्योगमा काम सघाउथ्यो । यसो गर्दा पढाई पूरा गर्न नसक्ने तिमीहरुका दौतरी आज बेरोजगार छैन । पढ्दा–पढ्दै सिकेको सिपको कारण तिनीहरु आज तिम्रा जागिरे आम्दानी भन्दा राम्रो कमाई गर्दछन् । तर अहिलेका हाम्रा नाती नातिनीलाई बोक्न नसक्ने किताबको भारी बोकाएर स्कूल पठाईन्छ । विचारा ति नानीहरुलाई ब्यवहारिक कुरा त के आफ्नो लुगा पनि लगाउन जान्दैनन् । आधुनिक शिक्षाको नाममा परावलम्वी बनाउँदै छांै । तिनीहरुले जागिर पाईहाले पनि ब्यवहारिकता र हाम्रो संस्कार पटक्कै जानेको छैन । अंग्रेजी मात्र बोलेर आधुनिक मान्छे कहाँ हुन्छ र बाबु ! ती असीको हाराहारीको बाबाको दुःखेसोले साच्चै हाम्रो शिक्षा प्रणालीलाई हुंकार दिईरहेको थियो । यस्तो प्रकारको शिक्षा प्राप्त युवायुवतीलाई कसरी रोजगारी दिलाउने र रोजगारी प्राप्त गरेपनि हाम्रो ब्यवहारिक संस्कार बिर्सेकाले हाम्रो संस्कारको कसरी जगेर्ना गर्लान भन्ने प्रश्नले मलाई संसय बनायो । यसै क्रममा एकोहोरो अुनुभव सुनाउँदै गरेको उनीसँग छुट्ने समय आयो । किनकी त्यतिखेरसम्म बाबाको घर आईपुगी सकेको थियो तर बाबाले बढो हार्दिकताका साथ भर्खर पारेको भैंसीको मोही खान अनुरोध गर्नुभयो । उनको अनुरोधलाई अस्वीकार गर्ने भन्दा पनि उनको अनुभव आफुले प्राप्त गर्ने अवसर प्राप्त गरेकोमा धन्यवाद दिंदै मिठो भैंसीको मोही खाएर बाबासँगबाट विदा भए ।

छुटिएसँगै मनमा अनेकौं तरङ्ग खेल्न थाल्यो । म राष्ट्रसेवक साच्चै राज्यको पहरेदार र अनुभवीको रुपमा आफुलाई लिन्छु र आफुलाई जनीफकारको पंतिमा उभ्याउथ्ये । तर भोगाईबाट प्राप्त अनुभव साच्चै सैदान्तिक ज्ञानको अगाडि फिका हुँदो रहेछ भन्ने अनुभुत गर्दै घरतिर लागे । निजामती सेवालाई सिद्धान्तकारको भन्दा अुनुभवी जनशक्तिको खाँचो रहेको छ भन्ने निस्कर्षमा पुगें । यसै सन्दर्भमा निजामती सेवामा हाल देखिएको अवकासको उमेर ६० पु¥याउनुपर्छ र पदैन भन्ने तर्क र वितर्कतर्फ उन्मुख हुन्छु । पहिले फ्रेस युवालाई निजामती सेवामा भित्र्याउनुपर्छ भन्ने तर्कसँग पुरा समर्थन जनाउने म मेरो बाबाको साथी जसले सुनाएको अनुभुतिजन्य कुराले मेरो धारणा परिवर्तन गर्न काफी सहयोग मिल्यो । ६० वर्षे सेवा अवधी बनाउँदा नयाँ युवालाई रोजगारीको अवसर त मिल्ला तर राष्ट्रको लागि के फाईदा मिल्ला त भन्ने तर्कसँग आफुलाई घोत्लिन बाध्य भए । राज्यले ३०औं वर्षको लगानी गरेर विकास गरेको कर्मचारीमा रहेको दक्षता र अनुभव ती नयाँ युवाबाट प्राप्त नहुने तर आइटीसँग त्यति परिचीत नहुने यो अनुभवपूर्ण वर्गबीचको तुलनामा आफुलाई साच्चै अनुभवको पक्षधर बन्न बाध्य भए । आर्थिक हिसावले समेत राज्यले करिव २५ प्रतिशतमा ती अनुभवी कर्मचारीलाई काम लगाउन सक्ने अवस्थाले राज्य पनि यो निर्णयबाट फाईदा मै हुने हुँदा मेरो सतह बुझाईलाई परिमार्जन गर्दै कर्मचारीको अवकासको उमेर ६० मै राख्दा फाईदा हुने पक्षम सहमत भए । यसको अतिरिक्त नेपाली हिजोको तुलुनामा बढी बाच्न थालेको कुरा औसत आयु बढेको तथ्यले बताउँछ । सन् १९९० मा नेपालीको औसत आयू ५४ दशमलव ४ रहेकोमा हाल यो बढेर ७० दशमलव ५ वर्षसम्म बाच्न थालेको सन्दर्भमा नेपाली कर्मचारीलाई ५८ वर्षमा नै घर जा भन्नुले राज्य र कर्मचारी दुवैको लागि लाभदायक नहुने देखिन्छ । राज्यले अनुभवी जनशक्ति सेवामा टिकाई राख्न पनि अवकाशित उमेर ६० बनाउनपर्ने कुरासँग म सहमत भए । अर्कातर्फ छिमेकी देशको अवकासको उमेरलाई अवलोकन गर्दा पनि ती देशमा समेत अवकाशको उमेर हाम्रो भन्दा बढी भएको पाए । यो अवस्थाले मेरो मानसपटलमा अव फे्रस जनशक्ति भन्दा अनुभवी कर्मचारीले सेवा प्रवाहलाई बढोत्तरी गर्न सक्ने कुरामा सहमति भए ।

तर निजामती सेवा अहिले समाजको सबै पक्षको अवहेलनाको पाटो बनेको छ । घुषखोरी, कामचोर, नातावाद क्रिपावाद, प्रक्रियासँग रमाउने, जस्ता उपनामबाट प्रताडित छ । करिव डेढ लाखको हाराहारीमा रहेको सार्वजनिक सेवाको कर्मचारीमध्ये केही त्यस्ता कर्मचारी पनि होलान् तर सबैलाई एकै डालोमा राखेर मुल्याकन गर्ने परिपाटी हाम्रो समाजमा रहनाले राम्रा कार्य गर्नेको पनि मनोवल गिर्ने अवस्था छ । जनयुद्धको समयताका राज्य नै फे्रजाइल हुन्छ की भन्ने अवस्था एकातिर थियो भने अर्कातिर जनप्रतिनिधी नभएको अवस्थामा समेत कर्मचारीले राज्यलाई भ्याकुम हुन नदिएको अवस्थालाई समाजका सबै वर्ग र तप्काले बिर्सेको भने पक्कै हो । अहिले सबै राज्यका कमजोरी कर्मचारीकै कारण भएको भन्ने चौतर्फी आक्षेप लगाईन्छ । निरिह कर्मचारी जसले आफुलाई लागेको आक्षेपको सफाई पेश गर्ने हैसियत समेत राख्न सक्दैनन् । यस्तो अवस्थाको कर्मचारीबाट राज्यले लिएको सम्वृद्धिको सपना साकार पार्ने लक्ष्य प्राप्तिमा शंका उब्जेको छ । सरकारको नीति कार्यान्वयन गर्ने कर्मचारीको मनोवल कमजोर छ जसले गर्दा नीतिको कार्यान्वयन पूर्णरुपमा हुने कुरामा शंका पैदा भएको छ । यसर्थ यो वर्गको मनोवल उकास्न पनि कर्मचारीको अवकास उमेर हद ६० पु¥याउन आवश्यक छ । त्यसको साथै सार्वजनिक सेवामा रहेको विकर्षणलाई हटाउन पनि यो सेवालाई थप आकर्सित सेवाका रुपमा अगाडी बढाउन पर्छ ।

एक दृष्टान्तले मलाई फेरी झक्झकाउँछ । एक साथीको छोरा गोल्डमेडल लिष्ट छ । अबको क्यारियर के हो भनेर सोधे खोई अक्कल विदेश जाने सोचमा छु राम्रो जागिर नेपालमा पाईन्न । उसको कुरा नटुगिंदैमा मैले बढो जान्ने भएर सुझाव दिइहाले लोकसेवा पढेर सरकारी जागिर खान छोडेर किन जानुप¥योे । तर उसको जवाफ थियो । के छ अक्कल सरकारी जागिरमा ? तिरस्कार, बेइज्जत, अपहेलना, खान नपुग्ने तलब, घुष खोरीको पगरी भिर्न म यो सेवामा किन आउनु । बरु विदेश गएर इज्जतको जागिर गर्छु तर नेपालको सरकारी सेवामा जान्न । तपाईहरूले २०औं वर्ष सेवा गरेर के पाउनु भो फगत अवहेलना, यो सेवा भन्दा मानिसको कामको जहा इज्जत, र सम्मान हुन्छ त्यही आफू जाने जवाफ पाए । तत्पश्चात् म फेरी आफूलाई सोच्न बाध्य भए । के मैले सरकारी सेवामा प्रवेश गरेर गलत त गरिन ? सोचमग्न हुन्छु होइन–होइन म यही सेवामा २०औं वर्ष कार्य गरेर आफ्नो यौवन जिवन ब्यथित गरिसके । यसलाई कसरी नराम्रो भन्न सक्छु र यो सेवालाई ? तर केही साथीहरुक्रै कारण बदनाम भने भएको भन्ने पक्कै हो । अब यो सेवालाई हेला होइन आकर्षक सेवा बनाउन थप प्रयास गर्ने सोच पलायो ममा । यो अभियानले सार्थकता पाउँछ वा पाउँदैन भन्न गाह्रो छ । तर यर्थात कुरा के हो भने सरकारी सेवाले जनताको मन जित्न नसकेको भने यर्थात नै हो । यो सेवामा कार्यरत कर्मचारी जनता र सरकारको विश्वास पात्र बन्न सकेको छैन । यो अवस्थालाई चिर्न पनि अबका दिनमा कर्मचारीले थप मेहनत गर्नु जरुरी छ । अर्कातर्फ हाम्रो समाज र सरकारले पनि कर्मचारीप्रति हेर्ने दृष्टिकोण, गर्ने ब्यवहार, सोचाई तथा हेराईमा सकारात्मक दृष्टिकोण अपनाउन जरुरत छ । यसो भएन भने स्थायी सरकारको रुपमा रहेको निजामती सेवा कमजोर हुन जाने र सरकारी कामले पनि मुर्तरुप नपाउने हुँदा सबैको चासो यसलाई सवल बनाउनेतर्फ हुन आवश्यक छ । यसो भएको खण्डमा कर्मचारीको नै माध्यमबाट राज्यको सम्वृद्धि हासिल गर्ने सोचलाई कार्यरुपमा उतार्न सकिन्छ ।