क्रिकेट रङ्गशाला निर्माणमा सय ट्रिपर बालुवा

  • त्रिशूली प्रवाह
  • ९ माघ २०७६, बिहीबार १६:२६

– सन्तोष सुवेदी
धादिङ, धादिङ जिल्लाको गल्छी गाउँपालिकाले चितवन जिल्लाको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई एक सय ट्रिपर बालुवा सहयोग दिने निर्णय गरेको छ ।

गल्छी गाउँपालिकाले सहयोग स्वरुप एक सय ट्रिपर बालुवा सहयोग दिने निर्णय गत हप्ता गरेको हो । जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि धादिङ जिल्लास्थित गल्छी गाउँपालिकाले २० लाख बराबरको १ सय ट्रिपर बालुवा सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो ।

क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि सबैले सक्ने सहयोग गर्नुपर्ने धारणा अध्यक्ष श्रेष्ठले राखेका छन् । यसै हप्ताभित्र १ सय वटा ट्रिपर बालुवा बोकेर चितवन जाने उहाँले बताए । सहयोगका लागि धुर्मुस, सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) गल्छी गाउँपालिकामै आएका थिए ।