हाम्रा कुरा : बेवारिसे भो बसपार्क

  • त्रिशूली प्रवाह
  • ९ माघ २०७६, बिहीबार १६:२७
Logo of trishuli prawaha

करोडौं लगानी गरेर बनाएको बट्टार बसपार्क फेरी बेवारिसे अवस्थामा पुगेको छ । केही समय बसपार्क फन्को लगाउने र शुल्क तिर्ने चलनमै सिमित भईरहेको छ । ६ वर्षदेखि सञ्चालनमा आएको बसपार्कलाई ब्यवसायीले अपनत्व नलिंदा महत्वविहिन र प्रयोगविहिन भईरहेको छ । बसपार्कमा रहनुपर्ने सवारीसाधान मूल सडकमा र ग्यारेजमा राखिएको छ । अझ केही महिना अगाडी त सवारीसाधानले शुल्क समेत बसपार्क गेटमै तिर्ने गर्थे । अहिले भने बसपार्क फन्को लाउने परम्परा शुरू भएको छ । सवारीसाधानले बसपार्कको महत्व नबुझ्दा र नगरपालिकाले सम्पत्तिको संरक्षण र उपभोगको ज्ञान नहुँदा बसपार्क फेरी बेवारिसे अवस्थामा पुगेको छ ।

साँघुरो हुँदै गएको नगरका लागि बसपार्क पहिलो आवश्यकता हो । तर भएको बसपार्क नै चलाउन नसकेपछि नुवाकोटको लागि बसपार्क माल पाएर पनि चाल नपाएको भईरहेको छ । करोडौं खर्चेर निर्माण गरेको बसपार्क प्रयोगमा ल्याउनेतर्फ कोही पनि गम्भीर नहुनु दुःखद पक्ष हो । रकम त लगानी भयो–भयो, यो क्षेत्रमा विकासको गुल्जार गराउँछ भन्दै करोडौं रूपैयाँ पर्ने जग्गा सित्तैमा दिएर विकासवादी बनेका स्थानीयको छाती पनि नगरपालिका र सम्बन्धित अगुवाको कार्यशैलीले अहिले पोलिरहेको हुनुपर्छ । बसपार्क निर्माण भएपछि ब्यवसायीले पिच हुनुपर्छ, धुलो उडेर हैरान भइन्छ भने, पिच पनि भयो, भीर छ खतरा छ भनियो, छेउमा पर्खाल पनि लगाइयो । खानेपानी र सुरक्षा भएन भनियो, त्यो पनि पूरा भयो । तैपनि बसपार्क सञ्चालन भएन । विगतमा स्थानीय प्रशासन र नगरपालिका मिलेर बाटोमा पार्किङ गर्न नपाइने, बसपार्कमा मात्र पार्किङ गर्नुपर्ने, जथाभावी पार्किङ गरेमा जरिवाना गर्ने प्रशासनमा सहमति भएको थियो । तर, सित्तैमा सडकमा गाडी तेस्र्याएर बस्न पल्केका ब्यवसायी बसपार्कमा पैसा तिरेर पार्किङ गर्न नै गएनन् । न त प्रहरीले कारबाही गर्न सक्यो, न बस, माइक्रोबस, ट्रक बसपार्कमा पार्किङ गर्न लगियो । बसपार्क वरपर अहिले वर्कशप क्षेत्रको रूपमा विकास भईरहेको छ । नगरपालिकाको जग्गा अतिक्रमण गरेर अनाधिकृत रूपमा ब्यवसायी गर्नेहरूको मनोवल बढेको छ ।

अर्बौं खर्च गरेर सडक बिस्तार भएको छ । यो सडक त गाडी हुनेका पनि नहुनेका पनि हो । तर, अहिले गाडीधनी आफ्नै बाउको बपौती सम्झेर सडकको दायाँबायाँ रातदिन पार्किङ गरिरहेका छन् । यी गाडीहरू मात्र अनिवार्य रूपमा बसपार्कमा पार्किङ गर्न प्रशासनका भएर प्रस्तुत भए बसपार्क बिस्तारै चलमलाउन थाल्ने छ । सबैले त्यहाँ पार्किङ गर्न थालेपछि सडकका ट्राफिकजाम कम हुनेछ । सञ्चालन गर्न यो र त्यो बहनामा कोही तयार नहुने अनि कसरी चल्छ बसपार्क । नगरपालिका, प्रहरी, प्रशासन र ब्यवसायीमा ईमान्दारी र ईच्छाशक्तिको खडेरीले बसपार्क ब्यवस्थित रूपमा सञ्चालनमा आउन नसकेकै हो । यो बसपार्कलाई उपयोग गरी नगर क्षेत्रको ट्राफिक जाम कम गराउन सम्बन्धित निकाय लाग्नुपर्छ । सधैंभरी सडकमा सवारीसाधान पार्किङ गर्ने चलनलाई रोक्न पनि बसपार्क ब्यवस्थित रूपमा सञ्चालन जरूरी छ । नगरपालिकाले सित्तैमा पाएको करोडौं सम्पत्ति संरक्षण गर्न नसक्नु दुर्भाग्य हो ।