नुवाकोट महोत्सवको तयारी तिव्र

  • त्रिशूली प्रवाह
  • ९ माघ २०७६, बिहीबार १६:४२

विदुर, माघ १६ गतेदेखि २६ गतेसम्म नुवाकोट उद्योग वाणिज्य संघले गर्न लागेको महोत्सवको तयारी तिव्र रूपमा भईरहेको छ ।

नुवाकोटको बट्टार बसपार्कमा हुने महोत्सवको स्टल बनाउने र छेकाबार गर्ने काम अन्तिम चरणमा पुगेको छ । महोत्सवमा इलेक्ट्रिक, इलेक्ट्रोनिक, औद्योगिक, हस्तकला, कृषिजन्य सामाग्री, पुष्प, अटो सूचना तथा प्रविधीको सामाग्री प्रर्दशनीलगायत दैनिक उपभोग्य वस्तु, घरायसी सर–सामान, लत्ताकपडा, श्रृगारका सामाग्रीको बिक्री वितरण गरिने छ । महोत्सवमा गाउँपालिका, नगरपालिका र महिला उद्यमीले उत्पादन गरेको सामाग्री प्रर्दशनी तथा बिक्रीको लागि निःशुल्क स्टल उपलब्ध गराईने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२०लाई सफल बनाउन महोत्सव गरिएको समेत उहाँले बताउनु भयो । महोत्सवमा २ सय ५० वटा स्टल रहने छ । अहिले स्टल बुकिङ कार्य भईरहेको संघले जानकारी दिएको छ । महोत्सवको प्रर्वद्धकमा वाग्मती प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड रहेको छ भने सहयोग र समन्वय जिल्ला समन्वय समिति नुवाकोट, विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर, म्यागङ, ककनी, किस्पाङ, लिखु, सुर्यगढी, पञ्चकन्या, शिवपुरी, तादी र दुप्चेश्वर गाउँपालिकाले गरेका छन् । महोत्सवको लागि बाध्यवादन, कलाकार, प्रवेश टिकट, प्रयोजक, बाल उद्यान, साउण्ड सिष्टमको लागि सम्झौता भईसकेको जानकारी संघका महासचिव कृष्णप्रसाद अधिकारीले दिनुभएको छ । महोत्सवको लागि आर्थिक सहयोग संकलन गने्र्र कार्यलाई तिव्र रूपमा अगाडी बढाइएको कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए । महोत्सव प्रवेशको लागि ज्येष्ठ नागरिक, अपाङ्ग, असाहायलाई निःशुल्क गरिएको छ ।

महोत्सव प्रवेश गर्न विद्यार्थीले ४० र अन्यले ६५ रूपैयाँको टिकट काट्नुपर्ने छ । महोत्सवको उद्घाटन माघ १६ गते दिउँसो नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले गर्नुहुने जानकारी संघकी वरिष्ठ उपाध्यक्ष गीता अमात्यले दिनुभएको छ । महोत्सवको लागि टिकट छापी सकेको छ भने पास वितरण गर्ने कार्य भईरहेको संघका प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो । महोत्सवमा ६० लाख खर्च गर्ने र १ करोड आम्दानी गर्ने लक्ष्य संघले बनाएको छ ।

‘धार्मिक ऐतिहासिक कला, संस्कृतिको सम्र्वद्धन दिगो आर्थिक विकासको लागि ब्यवसायीक प्रर्वद्धन’भन्ने नारा अनुरूप जिल्लाको ब्यवसाय बिस्तारको सम्भावनाको खोजी तथा जिल्लाको पर्यटकीय सम्भावना उजागार गर्ने उद्देश्य महोत्सवको रहेको संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीले बताउनु भयो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिसकेकोले निजी क्षेत्र यो अभियानसँग जोडिन महोत्सव गरिएको संघको पूर्व अध्यक्ष शरणउत्सुक सापकोटाले बताउनु भएको छ । सरकारले भने जस्तै ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई यथार्थमा बदल्नु निजी क्षेत्रलाई सक्रिय बनाउनुपर्ने उनको धारणा रहेको छ । महोत्सवमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, जिल्लास्तरीय, बालनभजन, पञ्चेबाजा र लाखे प्रतियोगिता गर्ने र पुरस्कृत गर्ने कार्यक्रम रहेको संघका सचिव उपेन्द्र बुढाथोकीले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो ।
उद्यमशिलता बृद्धि उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउने तथा पर्यटन प्रर्वद्धन गर्न महोत्सव आयोजना गरिएको संघका प्रबक्ता सविनराज भण्डारीले बताउनु भयो । महोत्सवबाट बचेको रकम उद्यमीशिलता प्रर्वद्धनमा लगाउने समेत उहाँले बताउनु भयो ।