बायोस्याण्ड फिल्टरमा उपभोक्ताको आकर्षण

  • त्रिशूली प्रवाह
  • १३ माघ २०७६, सोमबार ११:५१
Logo of trishuli prawaha

विदुर, पञ्चकन्या गाउँपालिका वडा नं.–१ बानियाँटारमा सञ्चालनमा रहेको बायोस्याण्ड फिल्टर निर्माण उद्योगले उत्पादन गरेको एकसय भन्दा बढी फिल्टर उपभोक्तामाझ लोकप्रिय भईरहेको छ ।

‘सुरक्षित खानेपानी’को लागि विश्वमै अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रविधी अन्र्तगत पर्ने बायोस्याण्ड फिल्टर नुवाकोटमा पहिलो पटक उत्पादन शुरु भएको हो । उत्पादन शुरू भएको एक वर्षको अवधिमा १ सय १० फिल्टर बिक्री गरेको सञ्चालक रामप्रसाद लामिछानेले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार स्थानीय श्रोत र साधनमा सिमेन्टको प्रयोग गरेर बनाईएको धारा आकारको फिल्टरमा गिट्टी र बालुवामा जैविकतह निर्माण गरेर गरिने पानी शुद्धिकरणको लागि बायोस्याण्ड फिल्टर निकै प्रभावकारी भएकाले उत्पादन र बिक्री एंव उपभोक्तामा लोकप्रिय बन्दै गएको छ ।

बायोस्याण्ड फिल्टरबाट छानिएको पानीको प्रयोगले पानीजन्य रोगबाट पूर्णरुपमा मुक्त हुने विश्वको विभिन्न समयमा भएका परीक्षणबाट पुष्टि भएको चौघडाको बानियाँटारमा रहेको बायोस्याण्ड फिल्टर निर्माण उद्योगले जानकारी दिएको छ । पानीजन्य रोगबाट लाग्ने आँउ, पखाला, रुघा, ज्वरोलगायतका रोग बायोस्याण्डबाट छानिएको पानीबाट पूर्णरुपमा मुक्त रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

बजारमा पाइने आधुनिक फिल्टर भन्दा घरेलु निर्माण सामाग्रीको प्रयोग गरेर ढुङ्गा–गिट्टीलगायतका माध्यमको सहयोगले जैविकतह निर्माण गरेर बायोस्याण्ड फिल्टरबाट पानी शुद्धिकरण हुने गरेको छ । यसबाट उत्पादन हुने पानीमा शत प्रतिशत गुणस्तरीय तथा स्वच्छ पानी हुने भएकाले उपभोक्ताले निर्धक्कसँग प्रयोग गर्न सक्ने उद्योगका सञ्चालक लामिछाने बताउनुभएको छ ।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)ले दिएको तालिम तथा उपलब्ध गराएको प्रविधिको सहयोगमा चौघडा स्थित बानियाँटारमा शुरु गरेको बायोस्याण्ड फिल्टरमा उपभोक्ताको आकर्षण बढ्दै गएपछि उद्योगले उत्पादन बृद्धि तथा उपभोक्ताको मागअनुसार नुवाकोटको मुख्य–मुख्य बजारमा पनि उपलब्ध गराएको छ । एउटा बायोस्याण्ड फिल्टरको बजार मूल्य सात हजार रुपैयाँ निर्धारण गरिएको छ भने त्यसबाट दश जनासम्मको परिवारलाई सहजै शुद्ध पिउने पानी पुग्ने दाबी उद्योगले गरेको छ ।