रसुवागढीमा कोरोना भाइरसको परीक्षण

  • त्रिशूली प्रवाह
  • १६ माघ २०७६, बिहीबार १४:४१
Logo of trishuli prawaha

टिमुरे, रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने सबै पर्यटकको कोरोना भाइरसको शनिबारदेखि परीक्षण शुरू भएको छ ।

जिल्ला सुरक्षा समितिको गत बुधबार बसेको बैठकले नाकाबाट पर्यटकको आवागमन बढ्दै गएको र चीनमा फैलिईरहेको कोरोना भाइरस भित्र्ने जोखिम बढेको कारण स्वास्थ्य परीक्षण गर्नुे निर्णय गरेको थियो । चीनमा पछिल्लो समय महामारीको रूपमा कोरोना भाइरस फैलिएको कारण त्यहाँबाट नेपाल आउने पर्यटकमा यसको सक्रमण हुन सक्ने भन्दै परीक्षण गर्न लागिएको हो ।

नाकामा रहेको हेल्थ डेक्सबाट तीन दिनभित्र सेवा शुरु गर्नका लागि जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय रसुवालाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो । रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा विदेशी पर्यटकमा कोरोना भाइरसको कुनै लक्षण देखिएमा चिनियाँ भूभागबाटै फिर्ता गरिने भएको छ । रसुवागढी नाकास्थित चीनतर्फ रहेको चिनियाँ क्वारेन्टाइनले स्वास्थ्य परीक्षण गरेर संक्रमणको लक्षण देखिएमा त्यहीबाट फिर्ता गर्ने जनाएको हो । चिनियाँ तथा विदेशी पर्यटक भए त्यहीबाट फर्काउने र नेपाली रहेको खण्डमा नेपालस्थित रसुवागढी नाकामा रहेको हेल्थ डेक्समा पठाउने चिनियाँ क्वारेन्टाइनको तयारी रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रसुवा, जिल्ला अस्पताल र चिनियाँ क्वारेन्टाइन बीच भएको अनौपचारिक छलफलमा चिनियाँ पक्षले कोरोनाको लक्षण देखिएको बिरामीलाई नेपालतर्फ नपठाउने जानकारी दिएको हो ।
मन्त्रालय तथा विभागबाट कुनै पनि निर्देशन नआएको भएपनि जोखिमलाई मध्यनजर गर्दै जिल्लास्तरबाटै नाकाबाट सेवा शुरु गरिएको छ ।