चीज उत्पादन बढ्यो

  • त्रिशूली प्रवाह
  • १६ माघ २०७६, बिहीबार १४:५९
Logo of trishuli prawaha

धुन्चे, रसुवा जिल्लामा यो वर्ष चौरी गाईको दुधबाट बन्ने चीज उत्पादन विगत वर्षको अनुपातमा बढेको छ ।

साढे चार वर्षअघि गएको भूकम्पका कारण उत्पादनमा ह्रास आएको थियो । भूकम्प गएको दुई वर्षसम्म न्यून चीज उत्पादन भएको थियो । जिल्लामा चारवटा उत्पादन केन्द्रबाट यो वर्ष ३९ हजार ६ सय ८० किलो याक चिज उत्पादन भएको छ । जिल्लामा अहिले दुग्ध विकास संस्थान अन्र्तगत ६ वटा केन्द्र सञ्चालनमा आएका छन् । गत वर्षदेखि थुमन र तातोपानीमा चीज उत्पादन थप भएका थिए ।

तीमध्ये चारवटा केन्द्रले नियमित रूपमा चीज तथा मखन उत्पादन गर्दै आएका छन् । चारवटा केन्द्रले ३९ हजार ६ सय ८० किलो याक चीज र १२ हजार ४ सय किलो मखन उत्पादन गरेका हुन् । संस्थानले रसुवाको चन्दनबारी, धुन्चेको पाङलेखर्क, गत्लाङ र लाङटाङ गरी चार स्थानबाट चीज उत्पादन गर्दै आएकोमा गत वर्षदेखि दुई स्थान थप गरेको हो । लाङटाङमा यस वर्ष ४ हजार किलो चीज र ९ सय किलो मखन उत्पादन भएको केन्द्र प्रमुख ग्याल्बो तामाङले बताए ।

पछिल्लो समय केन्द्रले दुधको मूल्य बढाएको र चौरी पाल्ने कृषक पनि बढेका कारण उत्पादन बढ्दै गएको पाङ्लेखर्क चीज उत्पादन केन्द्रका प्रमुख जीतबहादुर जिरेलले बताए । चिसो समयमा दुध कम उत्पादन हुने र नजम्ने समस्या कारण ६ महिना मात्र उत्पादन हुन्छ । अहिले चीज उत्पादन बन्द भएको प्रमुख जिरेलले बताए ।