वाग्मती प्रदेशलाई चिनाउने महत्वपूर्ण रुस्थान

नेपालको केन्द्रीय राजधानी समेत रहेको वाग्मती प्रदेश हरेक सम्भावनाले अग्रणी स्थानमा रहेको छ । यहाँको भौगोलिक क्षेत्रफल २० हजार ३ सय वर्गकिलोमिटर छ । यस प्रदेशमा १३ वटा जिल्ला रहेका छन् । ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी कुल १ सय १९ वटा स्थानीय तह रहेको यो प्रदेशको जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ छ । प्रदेशमा केन्द्रीय राजधानी काठमाडौं पनि रहेकाले देश विदेशका नागरिक बसोबास गर्ने हुँदा हाल बस्दै आएको जनसंख्या भने यो भन्दा बढी पनि हुन सक्ने अवस्था छ ।

वाग्मती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाञ्लोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौं जिल्ला छन् । प्रति ब्यक्ति आय १ हजार ३ सय ५७ डलर रहेको यहाँबाट कुल राजश्वमा ४८ दशमलव ७६ प्रतिशत योगदान रहेको देखिन्छ । अन्य प्रदेशको भन्दा यो प्रदेशमा धेरै सम्भावना रहेको छ । अन्तराष्ट्रिय सम्पदा सूचीमा सूचीकृत सबैभन्दा बढी ८ वटा क्षेत्र यसै प्रदेशमा रहेको छ । गौरीशंकर, गणेश हिमाल, लाङटाङ र जुगल हिमाल हिमश्रृङ्खलाले यहाँको थप सुन्दरता र पर्यटनका सम्भावना बढाएको छ । करिव ७० प्रतिशत बैंकिङ सेवा भएको यो क्षेत्रमा भन्सारका रूपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, रसुवागढी भन्सार र तातोपानी मुख्य रहेका छन् ।

वाग्मती प्रदेशमा जनसंख्याको पहुँच बढी भएकाले ब्यवसायीक कृषि उत्पादन गरी आफ्नो प्रदेशलाई आवश्यक पर्ने अन्नवाली, धान, गहुँ, मकै, तरकारी, फलफुल, माछामासु, दुधलगायतका खाद्यान्न बढी नै आवश्यक पर्छ । यसर्थ यहाँका खेतीयोग्य जमिनमा कृषि उत्पादनका लागि कृषकलाई अभिप्रेरित गराउनु जरूरी रहेको छ । हरेक जसो जिल्ला कृषि उत्पादनमा महत्वपूर्ण रहेकाले यहाँ प्रदेशमा राम्रो सम्भावना छ । पहाडी जिल्लाको बाहुल्यता रहेको वाग्मती प्रदेशका उर्वराभुमीमध्ये काभ्रेको पाँचखाल, मण्डन, भकुन्डेबेंसी, नाला, सिन्धुलीका समथर फाँटहरू, नुवाकोटको बट्टार, त्रिशूली, थानसिंह, धादिङको महाँदेववेंशीलगायत अन्य खेतीयोग्य फाँटहरू, मकवानपुरको टिष्टुङ–पालुङ, काठमाडौं उपत्यकाका काँठे क्षेत्रहरू र चितवनका समथर खेत मुख्य छन् । चितवन र काभ्रे दुध, पशुपालन र तरकारी उत्पादका पकड क्षेत्र हुन् । प्रदेशको ५० प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेका छन् ।

वाग्मती प्रदेश पर्यटकीय क्षेत्रमा महत्वपूर्ण समृद्धिको आधार रहेको प्रदेश हो । युनोस्कोद्वारा प्रमाणित विश्व सम्पदा सूचीमध्ये ८ वटा यसै प्रदेशमा पर्छन् । काठमाडौं उपत्यका । चितवन राष्ट्रिय निकुञ्ज यही प्रदेशमा छन् । जहाँ नेपालभर नै आउने पर्यटकहरू बहुसंख्यक रूपमा बसोबास गर्छन् । पर्यटनको पूर्वाधारका विकास गरेर नयाँ गन्तब्यको उचित ब्यवस्थापन गर्न सके हालको पर्यटक संख्यालाई यहाँ सजिलै दोब्बर गर्न सकिन्छ । पर्यटनको दोस्रो आधार यस क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्ज, लाङटाङ नेसनल पार्क, नागअर्जुन, गौरीशंकर आरक्षण क्षेत्र मुख्य हुन् । दुर्लभ वन्यजन्तु, विभिन्न वनस्पती र चराचुरूङ्गीको अवलोकन, अध्ययन र अनुसन्धान गर्न सकिने भएकाले पनि यहाँ धेरै मात्रामा पर्यटक भित्र्याउन सक्ने अवस्था छ ।

पर्यटकका लागि आकर्षणका रूपमा यहाँ नेपालकै एकमात्र साहसिक खेल बञ्जीजम्प यही प्रदेशमा सञ्चालनमा रहेको छ । करिव १८ वर्ष पहिलेदेखि सिन्धुपाल्चोकको भोटेकोशीमा सञ्चालनमा रहेको यो खेल खेल्न र हेर्नकै लागि वर्षेनी हजारौं पर्यटक त्यहाँ पुग्ने गर्दछन् । त्यस्तै भोटेकोसीमै रहेको ¥याफ्टिङ पनि अर्को पर्यटकीय आकर्षणको विषय हो । यसका अतिरिक्त यहाँ साहसिक पर्यटन तथा अन्वेषणात्मक पर्यटन थप फलदायी हुने देखिन्छ । पर्यटकीय क्षेत्रमा होमस्टे र पर्यटकका लागि अन्य सुविधा दिन सक्ने हो भने वाग्मती नमुना प्रदेश बन्न सक्ने छ ।

खानी तथा भू–गर्भ विभागका अनुसार नेपालमा ४२ करोड टन चुनढुङ्गा निकाल्न सकिने सम्भावना छ, जसका लागि यस प्रदेशका सिन्धुली, मकवानपुर, ललितपुर र धादिङ, प्रमुख स्थानका रूपमा रहेका छन् । चुनढुंगा सिमेन्ट उत्पादनको प्रमुख कच्चा पदार्थ हो । यसका अतिरिक्त फलाम पनि यहाँको अर्को सम्भाव्यता भएको खनिजवस्तु हो । ललितपुरको फुल्चोकी, रामेछापको ठोसे, चितवनको जिरवाङ र रसुवा तथा धादिङको गणेश हिमाल क्षेत्रमा फलाम भएको पत्ता लागिसकेको छ । यस्तै, मकवानपुर र धादिङमा तामा खानी रहेको छ । गणेश हिमाल क्षेत्र, मकवानपुरको खैराङ र ललितपुरको फुल्चोकीमा जंक खानीहरू पत्ता लागिसकेका छन् भने गणेश हिमालमा चाँदीको भण्डार रहेको अनुमान गरिएको छ । दोलखामा खरिढुंगाको पहाडै पत्ता लागेको छ । वनजंगल र जडिबुटीको पनि यहाँ प्रचुर सम्भावना छ । यस्ता खनिजको उपयोग गर्ने हो भने वाग्मती प्रदेश त समृद्ध बन्छ नै, समग्र देशकै लागि पनि फलदायी हुने पक्का छ ।

यस प्रदेशको सडक यातायातको कुरा गनुृ पर्दा केरूङ ठोरी मार्गलाई चीन र भारत जोड्ने सबैभन्दा छोटो र स्तरीय राजमार्गका रूपमा विकास गर्नुपर्ने टड्कारो आवश्यकता छ । रेलमार्गबाट चीन र भारत जोडिने कुरा चर्चामा आएको लामो समय भयो तर काम हुन अझै सकेको छैन । यहाँ केही मात्रामा केबलकार सञ्चालनमा आएका छन् । देशकै ठूला अरनिको राजमार्ग, हेलम्बु राजमार्ग, पृथ्वी राजमार्ग, विपि राजमार्ग, पासाङल्हामु राजमार्ग, त्रिभुवन राजपथ यही प्रदेशमा छन् भने काठमाडौं तराई फास्ट ट्रयाक निर्माणको क्रममा छ । हरेक जसो स्थानीय तहमा सडक सञ्जाल पुगे पनि पक्की नहुँदा नागरिकले भरपर्दो तरिकाले सडक भएको अनुभव गर्न पाएका छैनन् ।

वाग्मती प्रदेश देशकै ठूला नदी, तामाकोसी, सुनकोसी, वाग्मती, ईन्द्रावती र त्रिशूलीको उद्गमस्थल हिमाल हो । यहाँ सञ्चालनमा आएका र निर्माणाधीन गरी ३८ वटा जलविद्युत् आयोजना छन् । जलविद्युत्का ठूला–ठूला आयोजना निर्माण भईरहेका छन् । माथिल्लो तामाकोसी ४ सय ५६ मेगावाट दोलखामा निर्माणको अन्तिम चरणमा पुगेको छ । रसुवामा १ सय ११ मेगावाट क्षमताको रसुवागढी आयोजना पनि निर्माणाधीन छ । त्यसैगरी, साञ्जेन र मध्य भोटेकोसी निर्माणाधीन आयोजना पनि वाग्मती प्रदेशमै परेका छन् । रसुवामा २ सय १६ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना निर्माण हुनेछ । दोलखामा १ सय ६० मेगावाटको लाप्चे खोला जलविद्युत् आयोजनाले उत्पादन अनुमति पाएको छ । वाग्मती प्रदेशका ६ जिल्लामा जलविद्युत् उत्पादनको उच्चतम सम्भावना रहेको छ ।  रामेछाप, दोलखा, रसुवा र सिन्धुपाल्चोकमा जलविद्युत्मा सरकारी निकायको ध्यान पुग्ने हो भने वाग्मती प्रदेशले जलविद्युत्मा पूरै मुलुकलाई पाल्न सक्ने क्षमता राखेको छ । यहाँ कुलेखानी जलशाययुक्त आयोजना सञ्चालनमा रहेको ठुलो आयोजना हो । यस प्रदेशमा १५ हजार मेगावाट बिजुली निकाल्न सकने क्षमता रहेको छ । यसै प्रदेशमा देशकै सबैभन्दा ठूलो र चर्चित मेलम्ची खानेपानी आयोजना पनि विगत दुई दशकदेखि निर्माणाधीन अवस्थामा रहेको छ ।

वाग्मती प्रदेश धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण छ । विश्व सम्पदा सूचीमा सूचीकृत धरोहरको संख्या यहाँ धेरै छन् । पशुपतिनाथ, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार क्षेत्र, स्वयम्भुनाथ स्तूप, पाटन दरबार क्षेत्र र हनुमानढोका दरबार क्षेत्र यस प्रदेशको राजधानीभित्रै छन् । उपत्यकाका तीन जिल्लामा धार्मिक तथा पर्यटकीय स्थानहरू उल्लेख्य छन् । बंगलामुखी मन्दिर, पाटनको कृष्ण मन्दिर, काठमाडौंको तलेजु भवानी, शोभा भगवती, बुढानिलकण्ठ, दक्षिणकाली, भक्तपुरको डोलेश्वर महादेव, साँखुको बज्रयोगीनी, साँखुमै रहेको शालीनदी, साँगामा रहेको शिवमन्दिर, बनेपाको चण्डेश्वरी, धनेश्वर, पनौतीको इन्द्रेश्वरी, पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको गौराती भिमसेन, पलाञ्चोक भगवती, दोलखाको कालिञ्चोक, दोलखाकै भिमसेन, सिन्धुलीको कुशेश्वर महादेव, नुवाकोटको भैरवी, जालपादेवी, यस प्रदेशका मुख्य धार्मिक गन्तब्य हुन् । यसका अतिरिक्त रसुवाको गोसाइँकुण्ड, मकवानपुरको भुटनदेवी, ललितपुरको नागदह तथा १२ वर्षे मेला लाग्ने गोदावरी पनि उत्तिकै महत्वका ठाउँ हुन् । काठमाडौं उपत्यकामा मनाइने ईन्द्रजात्रा, गाईजात्रा, रातो तथा सेतो मच्छिन्द्रनाथको जात्रा, भक्तपुरको बिस्केट जात्रा, पाटनको कात्तिके नाच र बनेपाको कुमारी पुजा यहाँका धार्मिक परम्पराका आकर्षण हुन् ।