महोत्सवको आम्दानी पारदर्शी बनाएर जिल्लाको आर्थिक, सामाजिक क्षेत्रमा खर्च गर्छाैं

                                                                                                                                                                                                                                        ताराबहादुर कार्की
संयोजक
छैठौं नुवाकोट महोत्सव २०७६ मूल आयोजक समिति
अध्यक्ष
नुवाकोट उद्योग वाणिज्य संघ

यतीबेला जिल्लामा नुवाकोट महोत्सवको रन्को शुरु भईरहेको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा हुन गईरहेको छैठौं नुवाकोट महोत्सवको सम्पुर्ण तयारी पूरा भएर आज विहिबार उद्घाटन हुँदैछ । महोत्सव माघ १६ देखि २६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको ब्यस्तताले संघका पदाधिकारी बेफुर्सदी बनेका छन् । महोत्सवलाई कसरी भव्य, सभ्य बनाउन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की यतीबेला ब्यस्त छन् । पर्यटन वर्ष २०२० को सन्र्दभमा हुन गईरहेको महोत्सवले जिल्लाको पर्यटकिय क्षेत्रको समेत चिनारी गराउने छ । जिल्लाको स्थानीय उत्पादन, कला, संस्कृतीको उजागरको साथै ब्यापार मेलासमेत भएकाले महोत्सव थप प्रभावकारी हुनेछ । विगत १५ वर्षदेखी जिल्लाको उद्योग वाणिज्य संघमा आवद्ध भएका कार्की २०७५ चैत्रदेखि दोस्रो कार्यकाल अध्यक्ष भएर काम गरिरहेका छन् । वाणिज्य संघको सल्लाहकार, कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्ष भएर यो समेत ३ पटक महोत्सव गर्दैछन् । सबैलाई मित्रवत ब्यवहार गर्ने मिलनसार ब्यक्तित्व भएका अध्यक्ष कार्कीसँग महोत्सवको तयारी र यसको विषेशताको सन्र्दभमा त्रिशूली प्रवाह साप्ताहिकले गरेको कुराकानीको सारसंक्षेप :–

     छैठौँ नुवाकोट महोत्सवको तयारी र सञ्चालन कसरी अगाडि बढेको छ ?
नेपाल भ्रमण वर्ष २०२० लाई जोडेर नुवाकोटको कृषि, जलविद्युत् र पर्यटनको विकासको लागि महोत्सव गर्न लागेका छौं । महोत्सवले जिल्लाका कृषिमा लागेका उद्यमीलाई हौसला प्रदान गर्ने कृषिसँग सम्बन्धित उद्योग र ब्यवसायको प्रर्वद्धन गर्न महोत्सव केन्द्रीत रहेको छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएर आज बिहिवारदेखि छैठौं नुवाकोट महोत्सव उद्घाटन हुँदैछ । महोत्सवमा इलेक्ट्रिक, इलेक्ट्रोनिक, औद्योगिक, हस्तकला, कृषिजन्य सामाग्री, पुष्प, अटो सूचना तथा प्रविधिको सामाग्री प्रर्दशनलगायत दैनिक उपभोग्य वस्तु, घरायसी सर–सामान, लत्ताकपडा, श्रृङ्गारका सामाग्रीको बिक्री–वितरण गरिने छ । माघ १६ देखि २६ गतेसम्म हुने महोत्सवमा राष्ट्रियस्तरका उद्योगी, ब्यवसायीलाई निम्ता दिएका छौँ । उहाँहरुले नुवाकोटमा सञ्चालन हुन सक्ने उद्योग, ब्यवसायको बारेमा स्थानीयसँग छलफल र अन्र्तक्रिया गर्ने कार्यक्रम बनाएका छौं । उहाँहरूलाई जिल्लाको भूगोलको जानकारी गराउछौं । स्थानीय निकायसँग पनि छलफल गराएर लगानी गर्ने वातावरण बनाउने छौं । महोत्सवले कृषि, पर्यटन, उद्योग, धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको पहिचानका साथै प्रचार–प्रसार गर्छौं । जसले गर्दा भ्रमण वर्ष सफल बनाउनलाई पनि सहयोग पुग्नेछ ।

   महोत्सवले जिल्लामा उद्योग स्थापनामा के सहयोग पुग्छ ?
नुवाकोट काठमाडौंसँग जोडिएको हुँदा–हुँदै पनि बाहिरको लगानी आउन सकेको छैन । जिल्लाका लगानीकर्तामा पनि विश्वास जगाउन सकिएको छैन । महोत्सवमा जिल्लामा उद्योगको लागि आवश्यक बिजुली, सडक, पानी, जमिन प्रयाप्त रहेको प्रचार–पसार गर्छौं । लगानीको लागि ‘क’ वर्गका बैंकका दुई दर्जन भन्दा बढी शाखा खुलेका छन् । बैंकले उद्योगको लागि लगानी गर्न तत्परता देखाएका छन् । उद्योगको लागि जिल्लामा अहिले अनुकूल वातावरण बनेको छ । स्थानीय सरकार उद्योग स्थापना र ब्यवसाय बिस्तारको लागि हातेमालो गर्न नीति नै बनाएर आउनुभएको छ । महोत्सवमा जिल्लाको ब्यवसायी संभावनालाई छलफल र अन्र्तक्रियाको माध्यमबाट अगाडी बढाउछौं । जिल्लामा कृषि र पर्यटनसँग सम्बन्धित उद्योग र सेवा सम्बन्धित ब्यवसायको संभावनालाई महोत्सवले उजागार बनाउने छ । विगतको महोत्सवपछि जिल्लामा स्तरीय होटल, पाइप कारखाना, पशुपन्क्षीका दाना उद्योग र निर्माणसँग सम्बन्धित उद्योग सञ्चालन भएका छन् । यो महोत्सवमा हामीले सयौं उद्योगी, ब्यवसायीलाई भित्र्याएर जिल्लाको अवलोकन गराएर उद्योग स्थापनामा अभिप्रेरित गर्ने छौं । अहिले जिल्ला भएर उत्तर–दक्षिण राजमार्ग सञ्चालन भएको छ । भारत र चीनको बिचमा नुवाकोट रहेकोले उद्योगको लागि आवश्यक कच्चा पदार्थ, उपकरण ल्याउन र उत्पादन भएको सामान बिक्री वितरणको लागि पठाउन सहज छ । रसुवागढी–ठोरी नाका सञ्चालनमा आएसँगै जिल्लामा उद्योगी ब्यवसायीको नजर परेको छ

नेपाल भ्रमण वर्षलाई कसरी सहयोग पुग्छ यो महोत्सवले ?
सरकारले निजी क्षेत्रको सहयोगको अपेक्षा गरेर भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्षमा सफल हुँदा देशले लाभ लिन सक्ने भएकोले नुवाकोटमा देशका मात्र नभएर भारत र चीनका पर्यटक पनि ओहोर–दोहोर गर्ने भएकाले महोत्सव अवधिभर पर्यटकको स्वागत गर्छौं । जिल्लाको पर्यटकीय संभावना भएको क्षेत्रको प्रचार–पसार गर्छौं । विदेशी पर्यटक भित्र्याउन नसके पनि हामीले ७७ वटै जिल्ला उद्योग वाणिज्य संघलाई निमन्त्रणा गरेका छौं । उहाँहरू आउनुहुनेछ । नुवाकोटको बारेमा जानकारी लिएर जानुहुनेछ । आन्तरिक पर्यटक प्रर्वद्धन गरेर पनि हामी भ्रमण वर्ष सफल बनाउन टेवा पु¥याउने छौं । जिल्लाकै भ्रमण गर्नको लागि पनि जिल्लाबासीलाई अभिप्रेरित गर्नेछौं । यो हाम्रो अभियानमा सबै क्षेत्रको सहकार्य अपरिहार्य छ । जनजातिको बाहुल्यता रहेको जिल्ला भएकोले जनजातिको भेषभुषा, धर्म, संस्कृति, रितिरिवाज, खानाको प्रचार–पसार महोत्सवमा गरेर जिल्लामा आन्तरिक पर्यटक प्रर्वद्धन गर्छौं ।
    उद्योग वाणिज्य संघको काम महोत्सव मात्रै हो त ?
उद्योग वाणिज्य संघको काम भनेको उद्योग, ब्यवसायको लागि लगानीमैत्री वातावरण बनाउने, जिल्लामा संभावना भएका उद्योग स्थापनामा पहल गर्ने, भएका उद्योग, ब्यवसायलाई निर्वाध रूपमा सञ्चालन गर्ने वातावरण बनाउने र संघका सदस्यको हक र हित गर्ने हो । संघले स्थापनादेखि नै जिल्लामा सहज र सरल रूपमा दैनिक उपभोग्यीय र निर्माण सामाग्रीको आपूर्ति गरिरहेको छ । संघले जिल्लामा उत्पादन भएका वस्तुको बजारीकरण गर्ने काम पनि गर्छ । जिल्लाका उत्पादित सामाग्रीको बजारीकरण गर्न उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गराएर बिक्री वितरण गर्न महोत्सवमा सहज हुन्छ । संघले २०६३ बाट शुरू गरेको महोत्सवलाई निरन्तरता दिंदै आएको छ । संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटाले २०६३ मा पहिलो र २०६६ मा दोस्रो महोत्सव गरेर जिल्लामा कृषि र पर्यटनसँग सम्बन्धित उद्योग, ब्यवसायको प्रर्वद्धन शुरू गर्नुभएको थियो । महोत्सव हामीले सरकारले घोषणा गरेको पर्यटन वर्ष सफल बनाउनको लागि सहयोग पु¥याउने उद्देश्यले यसपटक गरेका हौं । महोत्सवको आम्दानी पारदर्शी बनाएर जिल्लाको आर्थिक, सामाजिक क्षेत्रमा खर्च गरेका छौं । संघको गतिविधी बाहिर ल्याउन र जिल्लाको आर्थिक, सामाजिक विकासको लागि पनि महोत्सव आवश्यक छ । महोत्सवलाई नकरात्मक ढंगले मात्र हेर्नु हुँदैन । यसले पार्ने दुरगामी प्रभावको बारेमा पनि छलफल गर्नुपर्छ । महोत्सव अवधिभर स्थानीय क्षेत्रमा हुने आर्थिक गतिविधीलाई पनि मूल्याङ्कन गरेर महोत्सवको बारेमा टिका टिप्पणी गर्दा राम्रो हुन्छ । संघले गर्ने काममध्ये एउटा मेला महोत्सव पनि हो । महोत्सवले स्थानीय सिप र सिर्जना, कला र संस्कृति, धार्मिक र ऐतिहासिक धरोहरको प्रचार–पसार गरेर आन्तरिक, बाह्य पर्यटक प्रर्वद्धनमा टेवा पु¥याएको छ ।

 महोत्सव मनोरञ्जन केन्द्रित भयो भन्ने आरोप छ नी ?
महोत्सव भनेकै मनोरञ्जनको थलो हो । स्थानीय कला, संस्कृति, प्रतिभा, भेषभुषा प्रर्दशनी र अवसर दिने महोत्सवमा थलो हो । नुवाकोटकै मात्र सिप, सिर्जना र उत्पादनको यसपटक एकसय वटा भन्दा बढी स्टल राखेका छौं । महोत्सवमार्फत् जिल्लाको कृषि, धार्मिक, ऐतिहासिक क्षेत्रको प्रचार–पसार गराएका छौं । महोत्सव स्वभाविक रुपमा रमाईलो पनि गरिन्छ । तर, सबै कार्यक्रम रमाईलोको लागि मात्र छैनन् । रमाइलो हेर्न आउने आन्तरिक पर्यटकहरुले गर्ने आर्थिक क्रियाकलापले नुवाकोटलाई फाईदा पुग्छ । यसपटक हामीले नुवाकोटका उत्पादनलाई खोजी–खोजी स्थान दिएका छौँ । महोत्सवले मनोरञ्जन मात्र दिन्छ भन्नु गलत हो ।

     महोत्सवमा कति फाईदा हुने अनुमान गर्नुभएको छ ?
महोत्सवबाट फाईदा भन्दा पनि जिल्लाको कला, संस्कृतिको जगेर्ना, ऐतिहासिक एंव धार्मिक स्थलको प्रचार–पसार र कृषि उत्पादनको जानकारी गराउने उद्देश्य लिएका छौं । महोत्सवमा जसरी पनि फाईदै गर्नुपर्छ भनेर हामी लागेका छैनौै । महोत्सवमा जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला र असाहयको लागि प्रवेश निःशूल्क गरेका छौं । विद्यार्थीको लागि ४० प्रतिशत प्रवेश टिकटमा छुट गरेर भिन्दै टिकट छापेका छौं । हामीले सामाजिक उत्तरदायित्व वहन गर्दै जिल्लामा भएका संघ–संस्था र ब्यक्तिको सल्लाह र सुझावलाई लिएर काम गरिरहेका छौं । यसपटक एक लाख भन्दा बढी अवलोकनकर्ता भित्र्याउने गरी लागिरहेका छौं । हाम्रो उद्देश्य पूरा हुन्छ नै । ७७ जिल्लाबाट हामीले पाहुना बोलाएका छौँ । महोत्सवमा भएका आम्दानी जिल्लाकै उद्योगी, ब्यवसायी र सामाजिक क्षेत्रमा लगानी गर्छौं ।

     यति धेरै अवलोकनकर्ता कसरी ल्याउनुहुन्छ ?
हामीले महोत्सवको दर्शकलाई आकर्षित गर्न धेरै काम गरेका छौं । जिल्लाको १२ वटै स्थानीयतहसँग समन्वय गरेका छौं । सबै स्थानीयतहको सहभागिता हुँदा हामीले लक्ष्य राखेको अवलोकनकर्ता आउनेमा हामी विश्वस्त छौं । काठमाडौं नजिक भएकोले पनि अवलोकनकर्ता बढ्छन् । जिल्ला छाडेकालाई मात्र पनि महोत्सवमा ल्याउन सक्यौं भने एक लाख भन्दा बढी अवलोकनकर्ता हुन्छन् । महोत्सवको प्रचार–पसार, राष्ट्रियस्तरका विभिन्न विधाका कलाकारहरू, स्थानीय कलाकारलाई सम्झौता गरेर आउने तालिका सार्वजनिक गरेका छौं । जिल्लाका सबै सञ्चार माध्यमले प्रचार–पसारमा सहयोग गरिरहनु भएको छ । जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने संघीय, प्रदेश, माननीयज्यूहरूको साथ र सहयोग हामीले पाएका छौं । उहाँहरूले महोत्सव सफल बनाउन र अवलोकनकर्ता बढाउन चासो राख्नुभएको छ । स्थानीयबासी महोत्सवमा सहभागी हुन आतुर छन् । यी सबै माथिका कारणले पनि महोत्सव भव्य र सभ्य रूपमा सम्पन्न हुन्छ । हामीले राखेको लक्ष्य र उद्देश्य पूरा हुनेमा म विश्वस्त छु ।