झोले र पोके ब्यापारीलाई रसुवागढीमा प्रतिबन्ध

धुन्चे, अन्तराष्ट्रिय नाकाको रूपमा परिचित नेपाल र चीनको सञ्चालनमा रहेको एक मात्र उत्तरी नाका रसुवागढीबाट झोला र पोकामा चिनियाँ सामान आयातमा प्रतिबन्ध गरिएको छ ।

प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काका अनुसार घरेलु प्रयोजन, विवाह, ब्रतबन्ध र कुनै कार्यका लागि भन्दै झोला, पोकामा सामान आयातको बृद्धि भएपछि बिना ईजाजत झोला पोका चिनियाँ सामान आयात गर्न प्रतिबन्ध गरिएको बताउनु भयो ।

माघ १० गतेसम्म आयात निर्यात भएको सामाग्रीबाट भन्सार शुल्क करिब १९ अर्ब ७२ करोड ६४ लाख ४५ हजार राजश्व संकलन भएको छ । शसस्त्र प्रहरी बल भन्सार सुरक्षा एवं राजश्व चुहावट नियन्त्रण २१ नम्बर गुल्मका प्रहरी नायव उपरीक्षक लक्ष्मण थापाले भन्नुभयो, बिना ईजाजत ल्याउन खोजेका झोले पोके ब्यापारीलाई रोक लगाइएको छ । शुल्क नतिरी ल्याईएका सबै खाले झोले पोके ब्यापारीको सामान जफत समेत गरिने बताईएको छ भने स्थायी लेखा नम्बर र वाणिज्य दर्ता प्रमाणपत्र लिई आयात निर्यात गर्न चाहने सबै ब्यक्तिलाई सम्पर्क राख्न भन्सार कार्यालयले आग्रह समेत गरेको छ । २०७२ मंसिर १५ गतेबाट औपचारिक रुपमा रसुवागढी नाका सञ्चालन भएको थियो ।