तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २३ माघ २०७६, बिहीबार १४:१३
Buddha Eyes

महोत्सव मनोरञ्जन र ब्यवसाय प्रर्वद्धन गर्ने थलो हो । महोत्सव जिल्लालाई चिनाउने माध्यम पनि हो । देशभर मेला महोत्सव गर्न तछाड–मछाड भईरहेको छ । विभिन्न उद्देश्यले महोत्सव हुने गरेपनि यो वर्ष भ्रमण वर्षको नाममा यस्ता गतिविधी भईरहेको छ । देशैभर महोत्सव र मेला हुँदा नुवाकोट चाँही किन अछुतो रहन सक्थ्यो र ? जिल्लामा विगतदेखि हुँदै आएको महोत्सवले यस वर्ष निरन्तरता पायो । मनोरञ्जन गराएर नुवाकोटेको करोडौं स्वाहाँ ! एघार दिनसम्म जिल्लाका फर्सदिलाहरूको डेटिङ, इटिङ, मिटिङ राम्रै भएको सुनियोे । महोत्सव अवधीमा सवारी साधानदेखि स्थानीय होटल, रेष्टुरेण्ट र पैसाको चहलपहल कत्ति हो कत्ति ? महोत्सव जिल्लाको र आयोजना नुवाकोट उद्योग वाणिज्य संघले गरेको भएपनि मूल गेट हेर्दा जगदम्बा महोत्सव भएको हल्ली–खल्ली चलेपछि लाजै मानेर आयोजकले चौथों दिनबाट हटाउन सफल भयो । मूल गेट प्रायोजन गरेपनि महोत्सव आयोजकको नाम गुमनाम पार्न त मिल्दैन नि, कार्की सा’प ! संघका पदाधिकारी डिलर हुँदैमा जे पनि गर्न मिल्छ र प्रबक्ता ज्यू ? आयोजककै कमजोरीले महोत्सव जगदम्बा सिमेण्टले गरेको देखेपछि सहभागी तै चुप, मै चुप ! सबैले चासो र चियो गर्न थालेपछि संघले मुल गेट चाँही सुधारेकोमा साधुवाद ! महोत्सव औला भाचेर गन्दा छैठौं भएपनि ब्याकरण र नेपाली भाषाको अल्पज्ञानले गर्दा ६ औं भएछ । उद्घाटनको दिन ६औं देख्दा प्रमुख अतिथि पूर्व राष्ट्रपति रामवरण सर यताउता गर्दै कानेखुशी गर्दै थिए । महोत्सवले जिल्लालाई चिनाएपनि ब्याकरणको अल्पज्ञानले पु¥याएको क्षतिलाई आपुर्ति गर्न कुनै जुक्ति निकाल्ने हो कि ? आयोजकलाई समयमै चेतना भयाँ !