अन्र्तवार्ता : भ्रमण वर्ष सफल बनाउनकै लागि महोत्सव गरेका हौं

 

कृष्णप्रसाद अधिकारी
महासचिव
नुवाकोट उद्योग वाणिज्य संघ
सदस्य
छैटौं नुवाकोट महोत्सव २०७६ मुल आयोजक समिति

नेपालको राजधानी काठमाडौंको उत्तर–पश्चिमतर्फ जोडिएर रहेको नुवाकोट जिल्लामा गत बिहिवारदेखि महोत्सव शुरू भएको छ । नुवाकोट उद्योग वाणिज्यको आयोजनामा माघ १६ गतेदेखि शुरू भएको छैटौं महोत्सवलाई सभ्य र भव्य बनाउन तल्लिन छन् संघका महासचिव कृष्णप्रसाद अधिकारी । पर्यटन वर्ष २०२०को सन्दर्भमा भईरहेको महोत्सवले नुवाकोट जिल्लाबासीको ध्यान केन्द्रित गरिरहेको छ । जिल्लाको विदुर नगरपालिका वडा नं.–४ बट्टारमा सञ्चालन भईरहेको महोत्सवलाई ब्यवस्थित रूपमा सुचारू गर्न महोत्सव सचिवालयको जिम्मेवारी बोक्नुभएका संघका महासचिव अधिकारीसँग महोत्सव सञ्चालनको बारेमा केन्द्रित रहेर त्रिशूली प्रवाह साप्ताहिले गरेको कुराकानीको सार संक्षेप :

छैटौँ नुवाकोट महोत्सव सञ्चालनको अवस्था कस्तो छ ?
नेपाल भ्रमण वर्ष २०२० लाई जोडेर नुवाकोटको कृषि, जलविद्युत् र पर्यटनको विकासको लागि महोत्सव गरेका हौं । महोत्सव भव्य र सभ्य रूपमा सञ्चालन भईरहेको छ । माघ १६ गतेदेखि शुरू भएको महोत्सवमा सहभागीको संख्या दिनप्रति दिन बढिरहेको छ । महोत्सवको अवलोकन गर्न जिल्लाका सांसद्, पूर्वमन्त्रीको दैनिक आगमनले हामीलाई हौसल्ला थपिएको छ । महोत्सवमा जिल्लाका उत्पादनलाई प्राथमिकता दिएका छौं । जिल्लाको उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराएका छौं । कृषिमा लागेका उद्यमीलाई हौसला प्रदान गर्ने कृषिसँग सम्बन्धित उद्योग र ब्यवसायको प्रर्वद्धन गर्न महोत्सव केन्द्रीत रहेको छ ।

महोत्सवमा के–के को स्टल रहेका छन् ?
महोत्सवमा इलेक्ट्रिक, इलेक्ट्रोनिक, औद्योगिक, हस्तकला, कृषिजन्य सामाग्री, पुष्प, अटो सूचना तथा प्रविधिको सामाग्री प्रर्दशनलगायत दैनिक उपभोग्य वस्तु, घरायसी सर–सामान, लत्ताकपडा, श्रृङ्गारका सामाग्रीको बिक्री, वितरण र प्रर्दशनीका २ सय ५० वटा स्टल रहेको छ । माघ १६ गते पूर्व राष्ट्रपति डा.रामवरण यादवले उद्घाटन गर्नुभएको महोत्सव माघ २६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा राष्ट्रियस्तरका उद्योगी, ब्यवसायी तथा विभिन्न जिल्लाका ब्यवसायी आउने क्रम बढिरहेको छ । महोत्सवमा राखिएका स्टलबाट राम्रै बिक्री भईरहेको जानकारी पाएका छौं ।

महोत्सवले जिल्लामा उद्योग स्थापना र ब्यवसाय बिस्तारमा के सहयोग पुग्ला ?
नुवाकोट काठमाडौंसँग जोडिएको हुँदा–हुँदै पनि सोचेजस्तो बाहिरको लगानी जिल्लामा भित्र्याउन सकेका छैनौं । जिल्लाका लगानीकर्तामा पनि विश्वास जगाउन सकिएको छैन । जिल्लामा उद्योगको लागि आवश्यक बिजुली, सडक, पानी, जमिन प्रयाप्त रहेको प्रचार–पसार विगतदेखि नै महोत्सवमार्फत गराईरहेका छौं । महोत्सव गर्नुको मुख्य उद्देश्य नै उद्योग ब्यवसाय प्रर्वद्धन गराउनु हो । अहिले जिल्लामा लगानी गर्छौं भनेर ‘क’ वर्गका दुई दर्जन भन्दा बढी बैंकका शाखा खुलेका छन् । बैंकले उद्योग क्षेत्रमा लगानी गर्न तत्परता देखाएका छन् । उद्योगको लागि जिल्लामा अहिले अनुकूल वातावरण बनिरहेको महशुस हामीले गरेका छौं । स्थानीय सरकार, उद्योग स्थापना र ब्यवसाय बिस्तारको लागि हातेमालो गर्ने नीति नै बनाएर आउनुभएको छ । संघले जिल्लाको उद्योग ब्यवसायको संभावनालाई छलफल र अन्र्तक्रियाको माध्यमबाट अगाडी बढाईरहेका छौं । जिल्लामा कृषि र पर्यटनसँग सम्बन्धित उद्योग र सेवा सम्बन्धित ब्यवसायको संभावनालाई महोत्सवले उजागार बनाउने छ । विगतको महोत्सवपछि जिल्लामा स्तरीय होटल, पाईप कारखाना, पशुपन्क्षीका दाना, पोल्ट्री उद्योग र निर्माणसँग सम्बन्धित उद्योग स्थापना भएको थियो । अहिले जिल्ला भएर उत्तर–दक्षिण राजमार्ग सञ्चालन भएको छ । भारत र चीनको बिचमा नुवाकोट रहेकोले उद्योगको लागि आवश्यक कच्चा पदार्थ, उपकरण ल्याउन र उत्पादन भएको सामान बिक्री, वितरणको लागि पठाउन सहज छ । रसुवागढी–ठोरी नाका सञ्चालनमा आएपछि नुवाकोट उद्योग ब्यवसायको हव नै बन्नेछ । त्यसको लागि हामीले छलफल र समन्वय सरकार र अन्य सरकारवालासँग गरिरहेका छौं ।

नेपाल भ्रमण वर्षलाई कसरी सहयोग पुग्छ यो महोत्सवले ?
सरकारले निजी क्षेत्रको सहयोगको अपेक्षा गरेर भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्षमा सफल हुँदा देशले लाभ लिन सक्ने भएकोले भ्रमण वर्ष सफल बनाउन हामी लागेका छौं । भ्रमण वर्ष सफल बनाउनकै लागि महोत्सव हामीले गरेका हौं । जिल्लाको पर्यटकीय संभावना भएको क्षेत्रको प्रचार–पसार गर्न महोत्सव स्मारिका, ब्रोसर प्रकाशन गरेका छौं । ब्रोसरमा नुवाकोटका प्रमुख पर्यटकीय एंव ऐतिहासिक स्थल तथा स्थानीय जात्रा तथा पर्वको वृहत जानकारी दिएका छौं । जिल्लाका १० वटै गाउँपालिका र २ वटा नगरपालिकासँग सहकार्य र समन्वय गरेर आन्तरिक भ्रमण गराउने कार्यक्रम अगाडी बढाएका छौं । विदेशी पर्यटक भित्र्याउन नसके पनि हामीले ७७ वटै जिल्ला उद्योग वाणिज्य संघलाई निमन्त्रणा गरेका थियौं । २५ भन्दा बढी जिल्ला संघहरूका पदाधिकारी र प्रतिनिधीले महोत्सवको अवलोकन गरी सक्नुभएको छ । महोत्सवपछि पनि जिल्ला नगर उद्योग वाणिज्य संघलाई भ्रमणको लागि आग्रह गरेका छौं । हामीले पनि टिम बनाएर अन्य जिल्लाको भ्रमण गर्ने कार्यक्रम बनाएका छौं । अन्तर जिल्ला भ्रमणले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास लिएका छौं । आन्तरिक पर्यटक प्रर्वद्धन गरेर पनि हामी भ्रमण वर्ष सफल बनाउन टेवा पु¥याउने छौं । जिल्लाकै भ्रमण गर्नको लागि पनि जिल्लाबासीलाई अभिप्रेरित गर्नेछौं । यो हाम्रो अभियानमा सबै क्षेत्रको सहकार्य अपरिहार्य छ । जनजातिको बाहुल्यता रहेको जिल्ला भएकोले जनजातिको भेषभुषा, धर्म, संस्कृति, रितिरिवाज, खानाको प्रचार–पसारलाई महोत्सवमा केन्द्रीत गरेका छौं ।

उद्योग वाणिज्य संघले ब्यवसायीको समस्यामा भन्दा पनि महोत्सवमा मात्रै केन्द्रित रह्यो नि त ?
उद्योग वाणिज्य संघको काम भनेको उद्योग, ब्यवसायको लागि लगानीमैत्री वातावरण बनाउने, जिल्लामा संभावना भएका उद्योग स्थापनामा पहल गर्ने, भएका उद्योग, ब्यवसायलाई निर्वाध रूपमा सञ्चालन गर्ने वातावरण बनाउने र संघका सदस्यको हक र हित गर्ने हो । संघले स्थापनादेखि नै जिल्लामा सहज र सरल रूपमा दैनिक उपभोग्यीय र निर्माण सामाग्रीको आपूर्ति गरिरहेको छ । संघले जिल्लामा उत्पादन भएका वस्तुको बजारीकरण गर्ने काम पनि गर्छ । जिल्लाका उत्पादित सामाग्रीको बजारीकरण गर्न उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गराएर बिक्री, वितरणको ब्यवस्था मिलाउन महोत्सव सहज हुन्छ । संघले २०६३ बाट शुरू गरेको महोत्सवलाई निरन्तरता दिंदै आएको छ । संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटाले २०६३ मा पहिलो र २०६६ मा दोस्रो महोत्सव गरेर जिल्लामा कृषि र पर्यटनसँग सम्बन्धित उद्योग, ब्यवसायको प्रर्वद्धन शुरू गर्नुभएको थियो । महोत्सव हामीले सरकारले घोषणा गरेको पर्यटन वर्ष सफल बनाउनको लागि सहयोग पु¥याउने उद्देश्यले यसपटक गरेका हौं । संघले जिल्लाका उद्योगी, ब्यवसायीको हरेक समस्या समाधान गर्न तल्लिन छ । संघको गतिविधी बाहिर ल्याउन र जिल्लाको आर्थिक, सामाजिक विकासको लागि पनि महोत्सव आवश्यक छ । महोत्सवलाई नकरात्मक ढंगले मात्र हेर्नु हुँदैन । यसले पार्ने तत्कालको प्रभाव र दुरगामी प्रभावको बारेमा पनि छलफल गर्नुपर्छ । महोत्सव अवधिभर स्थानीय क्षेत्रमा हुने आर्थिक गतिविधीलाई पनि मूल्याङ्कन गरेर महोत्सवको बारेमा टिका टिप्पणी गर्दा राम्रो हुन्छ । संघले गर्ने काममध्ये एउटा मेला महोत्सव पनि हो । संघले गरेको महोत्सवले स्थानीय सिप र सिर्जना, कला र संस्कृति, धार्मिक र ऐतिहासिक धरोहरको प्रचार–पसार गरेर आन्तरिक, बाह्य पर्यटक प्रर्वद्धन गरिरहेको छ ।

महोत्सव मनोरञ्जन केन्द्रित भयो भन्ने आरोप छ नी ?
महोत्सव भनेकै मनोरञ्जनको थलो हो । स्थानीय कला, संस्कृति, प्रतिभा, भेषभुषा प्रर्दशनी र अवसर दिने महोत्सवमा थलो हो । नुवाकोटकै मात्र सिप, सिर्जना र उत्पादनको यसपटक एकसय वटा भन्दा बढी स्टल राखेका छौं । महोत्सवमार्फत् जिल्लाको कृषि, धार्मिक, ऐतिहासिक क्षेत्रको प्रचार–पसार गराएका छौं । महोत्सव स्वभाविक रुपमा रमाईलो पनि गरिन्छ । तर, सबै कार्यक्रम रमाईलोको लागि मात्र छैनन् । रमाइलो हेर्न आउने आन्तरिक पर्यटकले गर्ने आर्थिक क्रियाकलापले नुवाकोटलाई फाईदा पुग्छ । यसपटक हामीले नुवाकोटका उत्पादनलाई खोजी–खोजी स्थान दिएका छौँ । महोत्सवले मनोरञ्जन मात्र दिन्छ भन्नु गलत हो । महोत्सवमा संघका सदस्यलाई निःशूल्क प्रवेशको ब्यवस्था मिलाएका छौं ।

नुवाकोटलाई चिनाउने ऐतिहासिक, धार्मिक, पुरातत्विक महत्व बोकेका स्थान के छन् ?
नेपालको राजधानी काठमाडौंको उत्तरपश्चिमतर्फ जोडिएर रहेको नुवाकोट जिल्ला समुन्द्र सतहदेखि ४ सय ५७ मिटर र ५ हजार १ सय ४४ मिटरको बीचमा रहेको छ । नुवाकोट–काठमाडौं–सिन्धुपाल्चोक–धादिङ जिल्लासँग सिमाना जोडिएको छ । अर्धचन्द्राकार भएको यस जिल्ला १ हजार १ सय २१ वर्ग कि.मि.क्षेत्रफल फैलिएको छ । बेलकोट, मालकोट, धुवाँकोट, कालिकोट, सल्यानकोट, सिमलकोट, धैंवुङकोट र प्यासकोट गरी ९ वटा कोटहरू मिली बनेको हालको नुवाकोट गोपालवंशी नवकोट र तत्पश्चात नवकोट्य, नवक्वाथ, नौकोटबाट अप्रभंश हुँदै बनेको हो । तत्कालिन राजा पृथ्वीनारायण शाहको पालामा राजधानी, गिर्वाण युद्ध बिक्रम शाहको शासनकालको शीतकालिन राजधानी, पृथ्वीनारायण शाहको आधार युद्धशिविर, नेपाल र तिब्बतबीचको युद्धभुमी र सन्धीस्थल जस्ता ऐतिहासिक घटनाले जिल्लालाई देशकै महत्वपूर्ण स्थलको रूपमा स्थापित बनाएको छ । नेपाल एकीकरणको क्रममा गोरखापछि नुवाकोट आक्रमण गर्दै विजय पश्चात् नुवाकोटलाई नेपालको राजधानी बनाईसकेपछि पृथ्वीनारायण शाहको काठमाडौं उपत्यका आक्रमण र विजयसँगै नेपाल एकीकरण यसै जिल्लाबाट शुरू भएको थियो । नुवाकोटको साततले दरबार क्षेत्र, बेलकोटगढी दरबार, सेरा दरबार, पृथ्वीनारायण शाहको सालिक आदिले पनि नुवाकोटलाई ऐतिहासिक भुमीको रूपमा चिनाएको छ । राजधानीसँग जोडिएको र पहाडी जिल्ला भएको कारणले पनि पर्यटकीय क्षेत्रको रूपमा नुवाकोट अग्रपङ्क्तिमा छ । राजधानीबाट नजिक रहेको ककनी नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रको रूपमा चिनिन्छ । सूइरेचौर, घलेभन्ञ्याङ, मानेभञ्ज्याङ, सामरी भन्ज्याङ, ढिकीजाँतो चुली जस्ता उच्च स्थानमा रहेका रमणीय स्थलहरू हिमाली दृश्यावलोकनका लागि प्रख्यात मानिन्छन् । त्यस्तै त्रिशूली नदी, तादी नदीले जल पर्यटनको सम्भावनालाई मजबुत बनाएको छ । धार्मिक रूपमा पनि नुवाकोट समृद्ध छ । धार्मिक महत्व बोकेका जिल्लाका प्रख्यात देवस्थलमा नुवाकोटको भैरवीको मन्दिर, देवीघाटको जालपादेवीमन्दिर, उत्तरगया धाम, वनदेवी मन्दिर, पञ्चकन्या मन्दिर, दुप्चेश्वर महादेव, बासुकी मन्दिर, थानापति माताको मन्दिर, निरञ्जना भगवती मन्दिर, राम मन्दिर आदि पर्दछन् । जिल्लामा हरेक वर्ष धार्मिक रूपले महत्व बोकेका थप्रै नाच, जात्रा, उत्सव र पर्व मनाइन्छन् । जसले यस जिल्लालाई धार्मिक र साँस्कृतिक रूपमा धनी बनाएको छ । विकासको दृष्टिले पनि यस जिल्ला देशकै अग्रपङ्क्तिमा पर्दछ । त्रिशूली जलविद्युत् आयोजना र देवीघाट जलविद्युत् आयोजना भएको यस जिल्लालाई पहिले नै लोडसेडिङमुक्त घोषणा गरेको थियो । रेन्बो ट्राउट माछा नुवाकोटबाट बिस्तार हुँदै अहिले ४० भन्दा बढी जिल्लामा ब्यवसायी उत्पादन भईरहेको छ । जिल्लाभित्र विविध हावापानी, धर्म, जनजाती, भाषा जस्ता विविधताले यस जिल्लालाई नेपालकै उत्कृष्ट जिल्लाको रूपमा परिचित बनाएको छ ।

महोत्सवमा कति फाईदा हुने अनुमान गर्नुभएको छ ?
महोत्सवबाट फाईदा भन्दा पनि जिल्लाको कला, संस्कृतिको जगेर्ना, ऐतिहासिक एंव धार्मिक स्थलको प्रचार–पसार र कृषि उत्पादनको जानकारी गराउने उद्देश्य लिएका छौं । महोत्सवमा जसरी पनि फाईदै गर्नुपर्छ भनेर हामी लागेका छैनौै । महोत्सवमा जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला र असाहयको लागि प्रवेश निःशूल्क गरेका छौं । विद्यार्थीको लागि ४० प्रतिशत प्रवेश टिकटमा छुट गरेर भिन्दै टिकट छापेका छौं । हामीले सामाजिक उत्तरदायित्व वहन गर्दै जिल्लामा भएका संघ–संस्था र ब्यक्तिको सल्लाह र सुझावलाई लिएर काम गरिरहेका छौं ।