बेलकोटगढीको केरा महोत्सवको आकर्षण

-शिवप्रसाद गजुरेल

     बट्टार, ‘धार्मिक, ऐतिहासिक, कला, संस्कृतिको सम्र्बद्धन दिगो आर्थिक विकासको लागि ब्यवसायीक प्रर्बद्धन’ भन्ने मूल नाराको साथ माघ १६ गतेदेखि शुरू भएको छैटौं नुवाकोट महोत्सवमा बेलकोटगढी नगरपालिकाको स्टलमा प्रर्दशनीमा राखिएको केरा अवलोकनकर्ताको आकर्षणमा परेको छ ।

बेलकोटगढी नगरपालिका वडा नं.–१२ का धर्मदत्त भट्टले उत्पादन गरेको केरा बेलकोटगढी नगरपालिकाद्वारा राखिएको कृषि प्रर्दशनीको स्टलमा कृषि शाखाद्वारा सो केरा अवलोकन र प्रर्दशनीका लागि राखिएको छ । सो स्टलमा राखिएको केरा हेर्न, अवलोकन गर्न र फोटो खिच्न दैनिक सयौं अवलोकनकर्ता आईरहेको बेलकोटगढी नगरपालिकाका कृषि प्राविधिक बिनोद पौडेलले बताउनु भयो । नगरपालिकाको कृषि शाखाद्वारा राखिएको सो प्रर्दशनीमा १ सय २५ जना किसानको १ सय ५७ जातका बिउ, बिजन, तरकारी, खाद्यान्नबालीलगायतका सामाग्री प्रर्दशनीमा राखिएको छ ।

प्रर्दशनीमा राखिएको सामाग्रीमध्ये सबैको आकर्षण केरामा परेको छ । प्रर्दशनीमा काउली, मुला, अलैची, किवी, तरूल, कुरिलो, च्याउ पनि अवलोकनकर्ताको रोजाईको रहेको सोही स्टल कृषि प्राविधिक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो प्रर्दशनीमा गहुँ, तोरी, रायो, लसुन, भेन्टा, पिडालु, फर्सी, गोलभेडालगायतका हरिया तरकारी राखिएका छन् भने निबुवा, मेवा, कागती र अन्य फलफुल रहेको छ । माघ १६ देखि २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा तेलहनबाली, नगेदबाली, फलफुल, मसलालगायत ८० जातका भन्दा बढी कृषकद्वारा संकलित बीउ, बीजन समेत प्रर्दशनीमा राखिएको बेलकोटगढी नगर कृषि शाखा प्रमुख छविलाल शर्माले बताउनु भयो ।