नुवाकोटमा गेसपेपर, गाइड, छ्यापछ्याप्ती

विदुर, विद्यालय तहमा गाइड, गेसपेपर, प्राक्टिस बुक, परीक्षा क्याप्सुल आदिको प्रयोग प्रतिबन्धित हुन्छ । तर नुवाकोट जिल्लाभरी भने प्रतिबन्ध रहेको कुनै संकेत देखिदैन । अहिले जिल्लाभरी खुल्ला र सहज रूपमा बिना अवरोध, बिना निगरानी किनबेच भईरहेको छ । परीक्षाको मुखमा बजार, कक्षाकोठा र विद्यार्थीको झोलासम्मै छ्यापछ्याप्ती भएका छन् यस्ता सामाग्री ।

फागुनदेखि विद्यालय तहका परीक्षा हुँदै छन् । चैत ६ देखि एसइई र वैंशाख, जेठमा कक्षा ११ र १२ को परीक्षा छ । यो मौका छोपेर एक दर्जन भन्दा बढी प्रकाशन गृहले गाइड, गेसपेपर, प्राक्टिस बुक आदिको प्रकाशन र बिक्रीलाई युद्धस्तरमा अघि बढाएका छन् । यस्ता पुस्तकलाई ‘परीक्षा क्याप्सुल’ को नाम दिने गरिएको छ । निमा पुस्तक प्रकाशनले गाइड, प्राक्टिस बुक, ओल्ड इज गोल्ड आदि नामबाट ३० थरी भन्दा बढी यस्ता पुस्तकको उत्पादन र ब्यापार गर्छ । यसले कक्षा ६ देखि नै प्राक्टिस बुक बेच्ने गरेको छ । कक्षा ११ र १२ का सबै संकायका र अधिकांश विषयका ‘सहयोगी पुस्तक’ निमाले बजारमा ल्याएको छ ।

अस्मिता बुक पब्लिसर्सले ‘ओल्ड इज गोल्ड’ र प्रश्नपत्र बैंकका नाममा १५ थरी भन्दा बढी प्रतिबन्धित पुस्तक प्रकाशन र बिक्री गर्दै आएको छ । विशेष गरी ‘एनईबी सोलुसन’ का नाममा कक्षा ११ र १२ का ब्यवस्थापन, विज्ञान, मानविकी, शिक्षा संकायका मोडल प्रश्न र तिनका उत्तर राखिएका पुस्तक बजारमा छन् । रिडमोर पब्लिसर्सले पाठ्यक्रम विकास केन्द्रले जारी गरेको नमुना प्रश्न पत्रको उत्तरसहितको प्रश्नपत्र सङ्गालो बिक्री गरिरहेको छ । यसका एसइई परीक्षा केन्द्रित पाठ्यपुस्तक बजारमा बढी भेटिन्छन् । कभरमै आफूलाई ‘बेस्ट प्राक्टिस बुक बिक्रेता’को दावी गर्ने यसले २० भन्दा बढी किसिमका यस्ता पुस्तक उत्पादन गरेको छ । रिलायन्स, आदित्य बुक, ट्रिनिटी प्रकाशन, हिमालय, शुभकामना, कडरिया, आठराई र तलेजुलगायतका प्रकाशनलmे पनि कक्षा ६ देखि १२ सम्म नै प्रतिबन्धित पुस्तक प्रकाशन र बिक्री गरिरहेका छन् ।

शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर २०७३ मै यस्ता पुस्तकको बेचबिखनमा रोक लगाएको थियो । शिक्षा ब्यवस्थाको जिम्मेवारी लिएर बसेको मन्त्रालय स्वयम्ले त्यो निर्णय कार्यान्वयन गर्न÷गराउन तीन वर्षसम्म कुनै पहल गरेको छैन । मन्त्रालयको निर्णयले काम नगरेपछि एक महिनाअघि मन्त्रीपरिषद्ले यस्ता सामाग्री प्रयोग गर्न नपाइने निर्णय गरेको छ । पुस पहिलो साता जारी गरिएको ‘पाठ्यक्रम, पाठ्यसामाग्री विकास तथा वितरण निर्देशिका २०७६’ले कक्षा १२ सम्मका कुनै पनि कक्षामा गाइड, गेसपेपर, प्राक्टिस बुक, परीक्षा क्याप्सुल आदिको प्रकाशन, बिक्री, वितरण, खरिद र प्रयोगमा बन्देज लगाएको छ । तर, यस्ता पुस्तकको बजार घट्नुको सट्टा झनै चम्केको छ । ‘सरकारले निर्णय मात्र गर्ने तर कार्यान्वयन नगर्ने भएपछि प्रतिबन्ध लगाईएका पुस्तकको उत्पादन र बिक्री नरोकिएको हो’, ‘सूचना निकालेर यस्ता सामाग्री बेच्न प्रतिबन्ध लगाएको जानकारी जिल्लाभरी गराउने र निगरानी गर्ने जिल्ला शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका प्रमुख अर्जुनबहादुर श्रेष्ठले बताउनु भयो ।’

गाइड, गेसपेपर, प्राक्टिस बुक आदिको जिल्लाका सबै स्टेशनरी पसलमा फैलिएको छ । जिल्लाका क्याम्पस र विद्यालय छेउमा यस्ता किताबको बिक्री बढी हुने गरेको अभिभावक संघ नुवाकोटका अध्यक्ष बद्री त्रिपाठी बताउँछन् । सरकारले निगरानी र कारबाहीको लागि चासो नलिंदा खुल्लम–खुल्ला प्रतिबन्धित पुस्तक बिक्री भईरहेको समेत उहाँले बताउनु भयो । एसइई परीक्षाको प्रश्नपत्र प्रदेश पिच्छे फरक–फरक हुने गर्छ । निमाले प्रदेशपिच्छे बेग्लाबेग्लै प्रश्नपत्र सङ्गालो बनाएर ब्यापारको जुक्ति निकालेको छ । रिडमोरले सबैजसो कक्षा र विषयमा ७ वटै प्रदेशका लागि सम्भावित प्रश्न र उत्तर समेटिएका बेग्लाबेग्लै ‘सहयोगी पुस्तक’को कारोबार गर्दै आएको छ । अन्य प्रकाशनले पनि अवैध पुस्तकको ब्यापार बढाउन यही फर्मुला पछ्याएका छन् । यस्ता पुस्तकको मूल्य धेरै राहिएको हुन्छ, जसमा बिक्रेताले ठूलो छुट पाउँछन् । रिलायन्सले ३ सय ८८ पृष्ठको पुस्तकको मूल्य ४ सय ९० रूपैयाँ राखेको छ भने अस्मिताको ४ सय ४० पृष्ठको गाइडको मूल्य ४ सय ७५ रूपैयाँ छ । रिडमोरले ‘ए प्लस’ नतिजा ल्याउने विद्यार्थीका लागि भन्दै ८ सय १६ पृष्ठको पुस्तकको मूल्य ७ सय ६० रूपैयाँ तोकेको छ । जिल्लाका पुस्तक तथा स्टेशनरी ब्यवसायीहरू आकर्षक विज्ञापन गरेर यस्ता पुस्तकमा ४० प्रतिशतसम्म छुटमा बिक्री गरिरहेका छन् ।

एउटै प्रकाशन गृहले वार्षिक १० करोड रूपैयाँसम्मका गाइड र गेसपेपर बेच्ने गरेका छन् । सरकारलाई यसबाट कुनै राजश्व प्राप्त हुँदैन । गाइड, गेसपेपर, प्राक्टिस बुक जस्ता सामाग्रीले विद्यार्थीको सिर्जनात्मक क्षमता घटाउने पृथ्वी मा.वि. विदुरका प्र.अ.बावुराम लामिछाने बताउँछन् । तर परीक्षा पास गर्न विद्यार्थी पाठ्यपुसतकको सट्टा यस्ता पुस्तकमा भर पर्ने क्रम बढेर गएकोमा उहाँले चिन्ता समेत ब्यक्त गर्नुभएको छ । अझ कतिपय विद्यालयमा त शिक्षकले नै यस्ता पुस्तक झोलामा बोकेर गरेर बिक्री गर्ने र प्रयोग गर्न विद्यार्थीलाई प्रोत्साहन गर्दै आएका छन् ।

शिक्षा मन्त्रालय, परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र, शिक्षा विकास तथा मानव स्रोत केन्द्र जस्ता विभिन्न नियामक निकाय छन् जसले प्रतिबन्धित पुस्तकबारे अनुगमन गर्न सक्छन् । तर, कसैले अनुगमनमा चासो नराखेपछि सरकारको निर्णय बेवारिसे भएको छ र अवैध पुस्तकको बजारमा सदाबहार दशैं आएको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेल भने अब यसको अनुगमनमा लाग्ने जानकारी गराउँछन् । ‘पहिले मन्त्रालयले निर्णय गरेर रोकेको थियो, निर्णय मात्र भएकाले कारबाही प्रक्रियामा जान सकिने आधार थिएन, अहिले मन्त्री परिषद्ले स्वीकृत गरेको निर्देशिका आएको छ,’ उनले भने, ‘अनुगमन शुरू गरेर प्रयोगमा न्यूनीकरण गर्छौं ।’