पर्यटकबाट १३ लाख राजश्व सङ्कलन

  • सरस्वती न्यौपाने

धुन्चे, लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय रसुवाले पुस महिनामा पर्यटकबाट १३ लाख ६५ हजार ८ सय रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ ।

वन प्राविधिक रेञ्जर रमेश बस्नेतकाअनुसार पुस महिनामा निकुञ्ज प्रवेश गरेका नेपाली २ सय ६२ जना, सार्क मुलुकका ५ जना र अन्य देशका विदेशी ४ सय ४४ जनाबाट राजश्व संकलन भएको हो । निकुञ्जभित्रका काठ, दाउरा बिक्रिबाट ४६ हजार ५ सय ६ रुपैयाँ, ढुङ्गाबाट ५ हजार ६ सय ६० रुपैयाँ र अन्य राजश्वबाट ५० हजार ६ सय ३० रुपैयाँ संकलन भएको छ । पौष महिनामा वन्यजन्तुबाट निकुञ्ज क्षेत्रभित्रका ५ ठाउँमा अन्नबाली नोक्सान गरेको छ ।

निकुञ्ज क्षेत्रमा हुने वन पैदावारको चापलाई न्युनिकरण गर्न तथा मध्यवर्तीक्षेत्र ब्यवस्थापनको लागि २१ वटा उपभोक्ता समिति र १ सय ९१ वटा उपभोक्ता समुह गठन भएका छन् । वन, घाँसे मैदान, झाडी बुट्यान तथा सिमसार क्षेत्र यस निकुञ्जको विशेषता रहेकाले साल, कटुस, खोटे सल्ला, गोब्रे सल्ला, धुपी, भोजपत्र, गुँरास, ओखर, खसु्रलगायतका १ सय प्रजाती पाइन्छन् । वन्यजन्तुमा रेडपाण्डा, कस्तुरी, मृग, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, सालक, चरी बाघ, आसामी बाँदर, हिमाली कालो भालु यस निकुञ्जको गहनाको रुपमा रहेको रेञ्जर बस्नेतले बताउनु भयो ।