चण्डेश्वरी पोष्टबहादुर बोगटी मा.वि.बनाउन प्रस्ताव

तुप्चे, चण्डेश्वरी माध्यमिक विद्यालय विदुर नगरपालिका वडा नं.–७, तुप्चेको नाम चण्डेश्वरी पोष्टबहादुर बोगटी मा.वि. नामाकरण गर्न सोमबार भएको ६१औं अभिभावक भेलाले प्रस्ताव गरेको छ ।

चण्डेश्वरी मा.वि.को अभिभावक सम्मेलनले चण्डेश्वरी पोष्टबहादुर बोगटी मा.वि. नाम राख्ने प्रस्ताव गरेको छ । अभिभावक सम्मेलनको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार गर्नुभएको थियो । अध्यक्ष दाहालले सो अवसरमा नेपालको आर्थिक विकासका लागि त्रिदेशीय साझेदारी आवश्यक रहेको बताएका छन् । कार्यक्रममा बोल्दै प्रचण्डले नेपाल, चीन र भारतबीचको त्रिदेशीय साझेदारीमा जानुपर्नेमा जोड दिए । ‘रेलमार्ग, हवाईमार्ग वा सडकमार्ग जे बनाए पनि नेपालको आर्थिक कनेक्टिभिटीको लागि त्रिदेशीय साझेदारीको खाँचो छ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘केरूङ नाका यता रहेकाले त्रिदेशीय कनेक्टिभिटीबाट नुवाकोटले बढी लाभ लिन सक्छ ।’

उहाँले चण्डेश्वरी मा.वि.सँगै मा.वि.को दिृष्टिविहिन आवास भवनको परिसरमा पोष्टबहादुर बोगटीको अर्धकदको सालिक अनावरण तथा विद्यालयका ६१औं अभिभावक भेलामा बोल्दै प्रचण्डले बोगटी उच्च नैतिकवान नेता भएको बताए । ‘उहाँको अभाव पार्टीमा अहिले पनि महशुस हुन्छ । पार्टीलाई भन्दा पनि बढी मलाई अभाव भएको छ,’ उनले भने, ‘जस्तोसुकै समस्या पनि समाधान गराउन बोगटी सफल हुनुहुन्थ्यो । पार्टीमा जहाँ समस्या त्यहाँ बोगटी भने जस्तै थियो ।’ बोगटीको अभावमा कति काम चाहेर पनि गर्न नसकिएको उनको भनाई थियो । ‘मेरो दायाँवायाँ डाक्टर र वैद्य त हुन्थे तर समस्या समाधान गराउन उहाँ (बोगटी) सफल हुने गर्नुहुन्थ्यो,’ प्रचण्डले विगत सम्झिंदै भने, ‘जस्तोसुकै भएपनि दुवैको दाँतबाट पसिना निकाल्ने गरी कुरा राख्नुहुन्थ्यो । त्यसले मलाई सहज हुन्थ्यो । बोगटीजीले भनेपछि हुन्छ भनेर उनीहरू पनि राजी हुन्थे ।’ तत्कालिन माओवादीका महासचिव बोगटीको ०७१ मा निधन भएको थियो । उनले आफ्नो खेतबारी चण्डेश्वरी मा.वि.लाई हस्तान्तरण गरी माओवादी राजनीतिमा लागेका थिए ।

सो कार्यक्रमका विशेष अतिथि उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विद्युत् प्रसारण लाईन भन्दा मुनिको जमिनको पनि पूर्ण मुआब्जा दिने तयारी गरेको जानकारी दिनुभयो । उहाँले चण्डेश्वरीलाई आवश्यक पर्ने विद्युत् प्राधिकरणको जग्गा उपलब्ध गराई दिने आश्वासन दिनुभयो । अहिलेसम्म प्रसारण लाईनका पोलहरूले चर्केको जग्गाको मुआब्जा दिने गरे पनि बिजुलीको तारमुनितिर पर्ने भू–भागको मुआब्जा दिने गरेको छैन । तर, अब मुआब्जा दिने गरी कार्यविधी तयार भईसकेको पुनले जानकारी दिए । ‘अबदेखि प्रसारण लाइनको मुनि परेको जग्गाको पनि मुआब्जा दिने तयारीमा छौं,’ उनले भने, ‘कार्यविधी तयार भएको छ ।’

मन्त्री पुनले विद्युत् उत्पादनमा आफ्नो मन्त्रालयले महत्वाकांक्षी योजना बनाएको समेत जानकारी दिए । उनले ५ वर्षमा ५ हजार र १० वर्षमा १६ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको बताए । उत्पादित बिजुलीलाई उपभोगस्थलसम्म पु¥याउन प्रसारण लाइन निर्माणको काम तिव्र रूपमा अघि बढाइएको समेत पुनले जानकारी दिए । उहाँ दिवंगत तत्कालिन माओवादी नेता पोष्टबहादुर बोगटीको सालिक अनावरण तथा चण्डेश्वरी मा.वि.को अभिभावक समारोहलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका छन् । नेकपाको सरकार बन्नु अघि मुलुकमा ९ सय मेगावाट मात्र विद्युत् थियो । बितेको २ वर्षमा ४ सय मेगावाट थपिएर १३ सय मेगावाट पुगेको पुनले बताए । यसै आर्थिक वर्षमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित १ हजार मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा थपिने जानकारीसमेत उनले दिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर बोगटीको सभापतित्वमा भएको कार्यक्रममा चण्डेश्वरी मा.वि.को अक्षयकोषलाई पण्डित गोविन्दप्रसाद अधिकारीले स्वर्गीय पिता पण्डित कृष्णप्रसाद अधिकारीको नाममा एक लाख रूपैयाँको चेक कार्यक्रमका प्रमुख अतिथि पुष्पकमल दाहाल प्रचण्डमार्फत् हस्तान्तरण गरेका छन् ।

त्यसैगरी, सो कार्यक्रममा इन्जिनियर दिल्लीबहादुर सिंहले स्वर्गीय पोष्टबहादुर बोगटको नाममा छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनाको लागि दुई लाख रूपैयाँको चेक स्वर्गीय पोष्टबहादुर बोगटीकी श्रीमती राममाया बोगटीलाई हस्तान्तरण गर्नुभएको थियो । विद्यालयका प्र.अ.हरिप्रसाद रिजालले विद्यालयको आय–ब्यय र शैक्षिक प्रगति विवरण प्रस्तुत गर्दै चण्डेश्वरी मा.वि.को नाम चण्डेश्वरी पोष्टबहादुर बोगटी मा.वि. राख्ने अभिभावक भेलाको निर्णय भएकोले आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए । हाल विद्यालयमा ३२ जना शिक्षक कर्मचारी र ५ सय ८२ विद्यार्थी अध्ययनरत रहेको उहाँले बताउनु भयो । विद्यालयका सहायक प्रधानाध्यापक गणेश लामिछानेले सञ्चालन गरेको उक्त कार्यक्रममा पोष्टबहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डे, प्रतिनिधीसभा सदस्य नारायणप्रसाद खतिवडा, प्रतिनिधीसभा सदस्य बहादुरसिंह लामा, वाग्मती प्रदेशसभा सदस्य एंव नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, वाग्मती प्रदेशसभा सदस्य केशव पाण्डेलगायतले स्वर्गीय पोष्टबहादुर बोगटीले शिक्षा र सामाजिक क्षेत्रमा पु¥याउनु भएको योगदानको गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो ।