सेनाको स्वास्थ्य शिविर सम्पन्न

तारकेश्वर, नेपाली सेना जबरजंग गण देवीघाट नुवाकोटले माघ २३ र २४ गते नुवाकोटको तारकेश्वर गाँउपालिका वडा नं.–४ बुधसिङ्गका वडा कार्यालयको भवनमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ३ सय २० जना बिरामीको स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण गरिएको थियो ।

शिविरमा नं.१ तालिम गण, नं.–६ फि.ए.गुल्मका डा.अधिकृत, त्रिशूली जिल्ला अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ चिकित्सक र जबरजंग गणका नर्सिङ्ग अर्दली सहितको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो । तार्केश्वर गाउँपालिका अध्यक्ष रमेश वस्तीले उद्घाटन गर्नुभएको उक्त स्वास्थ्य शिविरमा गाउँपालिकाको उपाध्यक्ष तारादेवी रिमाल, जबरजंग गणका गणपति प्रमुख सेनानी उदयबहादुर लामिछाने, श्री नं.१ तालिम गण मैथलीका गणपति प्रमुख सेनानी खेमराज शर्मा, तारकेश्वर गाउँपालिका वडा नं.४ वडाका वडाध्यक्ष राममणी अधिकारी, वडासचिव चन्द्रनिधी घिमिरेलगायत स्थानीयबासीको उपस्थिती रहेको थियो । दुई दिनसम्म चलेको उक्त स्वास्थ्य शिविरले महिला १ सय ७२, पुरुष १ सय १३ र बालबालिका ३५ गरी जम्मा ३ सय २० जना बिरामीको स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी वितरण गरिएको जानकारी गणले दिएको छ । स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग, बालरोग, हाडजोर्नी तथा छाला रोग सम्बन्धि सेवा प्रदान गरिएको थियो ।

सेनाले सधैं नेपाली जनतामाझ सहयोगी मन र अपनत्वको भावना कायम राखी सहयोग गर्दै आएको जबरजंग गणका गणपति प्रमुख सेनानी लामिछानेले बताउनु भयो । बृद्धबृद्धा, अपाङ्ग र अशक्तहरूले शिविरबाट लाभ लिएको गाउँपालिकाको उपाध्यक्ष रिमालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताईन् ।