रञ्जना लिपी कार्यशाला

विदुर, नुवाकोटको सदमुकाम विदुरको लोकतान्त्रिक चौतारामा एकदिने ३९औं रञ्जना लिपी कार्यशाला र क्यालीजात्रा शनिबार सम्पन्न भएको छ । विदुर सिटी युथ क्लवको आयोजनामा भएको कार्यशालामा तामाङ, नेवार, गुरुङ, क्षेत्री, बाहुनलगयात गरी ९५ भन्दा बढीले सहभागिता जनाएका थिए भने १ सय २० जनाले क्यलिग्राफीमा प्रत्यक्ष सहभागिता जनाएका थिए ।

नेपालमा १६औं र १७औं शताब्दीसम्म निकै प्रचलनमा रहेको रञ्जना लिपी महायानी बौद्ध धर्म मान्ने भारत, चीन, जापान, मंगोलियालगायत देशमा पनि प्रयोगमा रहेको छ । नेपालमा पनि केही शिलालेख र अभिलेख र हाल कला विधामा पनि यसको प्रयोग बढ्दो छ । संयुक्त राष्ट्रसंघमा नेपालको लिपीमा दर्ता भएको रञ्जना लिपीको प्रर्वद्धनको लागि नुवाकोटमा एक दिने कार्यशालाको आयोजना गरिएको क्लवका अध्यक्ष सुनील श्रेष्ठले बताए । उनले नुवाकोटमा हालै सम्पन्न छैठौं नुवाकोट महोत्सवको टाईटल पनि रञ्जना लिपीमै बनाएको जानकारी दिए । कार्यशालामा पृथ्वी मा.वि., स्पार्कल एकेडेमी, कल्याणकारी विद्या मन्दिर, नवजीवन मन्टेश्वरीका विद्यार्थी र शिक्षक शिक्षिकालगायतले सहभागिता जनाएका थिए । सेतो कागजमा रञ्जना लिपीका साधारण शब्दहरू कोर्न कोसिस गर्दै गरेका विदुर नगरपालिका वडा नम्बर–४ का सदस्य बसन्त रिजाले मौलिक लिपीबारे सुने पनि जिल्लामा त्यसबारे अध्ययन गर्न नपाएको बताए ।

रञ्जना लिपीले संस्कृति, परम्परा, धर्म र मौलिक पहिचानलाई झल्काउँने भएको यसको लेखनलाई सिकाईको माध्यमबाट ब्यवहारमा उतार्दै लैजाने र नुवाकोटमा मात्र नभई रसुवामा पनि प्रर्वद्धन गर्नुपर्ने बेत्रावतीका शशी डंगोलले बताए । लिपीको अध्ययनबाट घरमा प्रयोग गरिने धर्म ग्रन्थ, साधना तथा गोप्य मन्त्रमा रहेका लिपीहरू सजिलै बुझ्न सकिने नेपाल लिपी गुथीका सचिव पवित्र कसास्ले बताए ।
कार्यशालामा कतिपय भने लेख्न मात्र नभएर बोल्न पनि सिकिरहेका थिए । कतिपयले मसी छोप्दै लेख्नुपर्ने झन्झट मानिरहेका थिए । पहिलो चरणको सुरुवात भएर लिपी लेखनको लागि कलमलाई साटो कुचोको ड़ाठलाई प्रयोग गरिएको गुथीका सचिव कसास्ले बताए ।

त्यस्तै, छैठौं नुवाकोट महोत्सवको अवसर पारेर महोत्सवस्थलमा पनि रञ्जना लिपी क्यालीजात्रा गरिएको क्लवका सचिव प्रदीपकुमार पण्डितले जानकारी दिए । क्यालीजात्रामा नेपाल लिपी गुथीकाको सहकार्यमा नुवाकोट महोत्सवमा आउने अवलोकनकर्ताको नाम रञ्जना लिपीमा लेखिदिएका थिए । रञ्जना लिपिमा लेख्न मिल्ने मोबाइल एप ‘रञ्जना स्क्रिप्ट’ बाट नेपालमा प्रचलित पुरानो लिपी रञ्जनाको वर्णमाला सिक्न र रञ्जना लिपिमा लेखेर सामाजिक सञ्जालमा सेयर गर्न मिल्नेछ ।

कार्यशाला त्रिशूली सामाजिक क्लव, पिपलबोट समुह, न्यू स्पोर्ट्स ब्वाईज क्लव, कोलेनी थ्रीडी क्लव, नुवाकोट युनाईटेड फुटबल क्लव, दारी ग्यांग, सामथ्र्य नुवाकोट, नुवाकोट जेसीज, र समृद्ध नुवाकोटको संयुक्त सह–आयोजनामा भएको हो । कार्यशाला विदुर नगरपालिका, नारायणी बेकरी र टिमुरे बस तथा मिनीबस यातायातको सहयोगमा भएको हो । विदुर सिटीले विगत तीन वर्षदेखि सामाजिक, संस्कृतिक र खेलकुदको क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।