नुवाकोट महोत्सव सम्पन्न

बट्टार, नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा माघ १६ देखि शुरू भएको छैटौं नुवाकोट महोत्सव सोमबार सम्पन्न भएको छ । महोत्सवको उद्घाटन नेपालका प्रथम राष्ट्रिपति डा.रामवरण यादवले गर्नुभएको थियो । माघ २६ गतेसम्म सञ्चालन गर्ने भनिए पनि आयोजकले महोत्सवको अवधि जिल्लाबासीको अनुरोधमा एक दिन थप गरिएको थियो ।

छैटौँ नुवाकोट महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री अर्जुन नरसिंह केसीले महोत्सव जिल्लाको आर्थिक गतिविधी बृद्धि गर्न सफल रहेको बताउनु भयो । धार्मिक ऐतिहाँसिक कला संस्कृतिको सम्बद्धन, दिगो आर्थिक विकासको लागि ब्यवसायिक प्रर्बद्धन भन्ने नारा सहित सञ्चालन भएको महोत्सवको अवलोकन गर्न नेकपाका केन्द्रीय सदस्य एंव प्रतिनिधीसभा सदस्य हितबहादुर तामाङ, प्रतिनिधीसभा सदस्य नारायणप्रसाद खतिवडा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्व अर्थमन्त्री डा.रामशरण महत, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधीसभा सदस्य बहादुरसिंह लामा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्व मन्त्री प्रकासशरण महत, संविधानसभा सदस्य जगदिश्वर नरसिंह के.सी., वाग्मति प्रदेशकी उपसभामुख राधिका तामाङ, वाग्मति प्रदेश सदस्य केशव पाण्डे, हिरानाथ खतिवडा र बद्री मैनाली, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङलगायत विशिष्ट ब्यक्तित्वले महोत्सवको अवलोकन र फरक–फरक दिनको प्रमुख आतिथ्यता समेत ग्रहण गर्नुभएको जानकारी संघका अध्यक्ष ताराबहादुर कार्कीले दिनुभयो ।

महोत्सवमा २ सय ५० स्टलहरु राखिएका थिए । दैनिक उपभोग्य सामाग्रीका स्टल, कृषि, लघु, घरेलु उत्पादन र हस्तकलाका सामाग्रीको स्टलमा प्रर्दशनी हेर्न र खरीद गर्न अवलोकनकर्ताको भीड देखिन्थ्यो । महोत्सव अवधिभर ७० हजार दर्शकले टिकट काटेर नै अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । महोत्सवमा ६० हजारले टिकट काटेर अवलोकन गरेको र बाँकी बृद्धबृद्धा, एकल महिला, अपाङ्ग र उद्योग वाणिज्य संघका साधारण सदस्यहरु रहेको संघका कोषाध्यक्ष दिनेश श्रेष्ठले बताउनु भयो । नुवाकोटको संभावनाको उजागर गर्दै महोत्सवले ब्यवसायिक क्षेत्रमा फड्को मारेको संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीको भनाई रहेको छ । महोत्सवमा पाँच करोडको कारोवार भएको संघका प्रवक्ता सविन राजभण्डारीले जानकारी दिनुभएको छ । । नेपाल भ्रमण वर्षलाई लक्ष्य गरी सञ्चालन भएकोे महोत्सवले नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउनका लागि विशेष योगदान पुग्ने संघका प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो । संघले महोत्सवको आय–ब्यय विवरण एक महिनाभित्र सार्वजनिक गर्ने संघका महासचिव कृष्णप्रसाद अधिकारीले बताउनुभएको छ ।