पञ्चकन्या चेयरमेनकप पञ्चकन्याले जित्यो

कबिलास, ‘खेलकुदमार्फत सम्बन्ध बृद्धि, स्वस्थ्य जनशक्ति, पर्यटन विकास र समृद्धि’ भन्ने नारा सहित सञ्चालन भएको प्रथम पञ्चकन्या चेयरमेनकप भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पञ्चकन्या गाउँपालिकाको आयोजनामा माघ २५ गतेदेखि शुरू भएको प्रथम चियरम्यानकप भलिबल प्रतियोगिताको उपाधि आयोजक पञ्चकन्या गाँउपालिकाले जितेको छ ।

प्रतियोगिताका उद्घाटन माघ २५ गते शनिबार पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो । पञ्चकन्या गाउँपालिका लाकुरी भञ्ज्याङमा सो दिन पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले गाउँपालिकाको निर्माण हुने भवनको शिलान्यास समेत गर्नुभएको थियो ।

प्रतियोगिता माघ २८ गते मंगलबार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पञ्चकन्या गाउँपालिका वडा नम्बर–२ कबिलासस्थित पुरानीडाँडा मिश्र गाउँमा रहेको कालिका मा.वि.को खेलमैदानमा भएको प्रतियोगितामा जिल्लाको १० वटा गाउँपालिका र २ वटा नगरपालिकाको टिम सहभागी रहेको थियो । प्रत्येक टिममा आफ्नो गाउँ वा नगरपालिका भन्दा फरक स्थानीयतहको खेलाडी समावेंश गर्न निषेध गरिएको थियो ।

प्रतियोगितामा पहिलो हुने समुहलाई एक लाख रुपैयाँ, शिल्ड र प्रमाणपत्र, दोस्रो हुनेलाई ७५ हजार रुपैयाँ र प्रमाणपत्र, तेस्रो हुने समुहलाई ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
पञ्चकन्या गाउँपालिकाले खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि कार्यविधी र निर्देशिका तयार गरेर कार्यक्रम र गतिविधी सञ्चालन गर्दै आएको छ । अन्तराष्ट्रिय, राष्ट्रिय प्रतियोगितामा विजयी हुने तथा सहभागी हुने आफ्नो गाउँपालिका खेलाडीलाई आर्थिक सहयोग, होटल, यातायात तथा हवाई खर्च उपलब्ध गराउँदै आएको छ ।