कोरोना भाइरसले टिमुरे सुनसान

रसुवागढी, चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि चीनसँगको अन्तराष्ट्रिय ब्यापारिक नाका रसुवागढी भन्सारबाट हुने कारोबार अहिले ठप्प भएको छ । नेपालको सिमाना रसुवागढी र टिमुरे क्षेत्र अहिले ब्यवसायी र सवारी साधानको आवत–जावत नहुँदा सुनसान बनेको छ ।

कोरोना भाइरस संक्रमणलाई मध्यनजर राख्दै चिनियाँ पक्षले १५ दिनका लागि मानिस तथा सवारी आवत जावतमा रोक लगाएपछि रसुवा भन्सारबाट हुने कारोबार ठप्प भएको हो । चिनियाँ पक्षले सूचना नै निकालेर रसुवा नाका माघ १५ गतेदेखि १५ दिनका लागि बन्द गरेको भन्सार कार्यालय रसुवाका प्रमुख पुण्यबिक्रम खड्काले बताउनुभयो  ।  केरुङबाट कन्टेनर नआएकाले अहिले रसुवा भन्सार कार्यालयले प्रयोग गर्दै आएको याडमा एक दुई कन्टेनरहरु मात्र रहेका छन् । दैनिक करोडांै रुपैयाँ राजश्व संकलन गर्दै आएको भन्सार कार्यालय सुनसान बनेको छ ।

दैनिक याडमा काम गर्दै आएका छ सय जना कामदारहरु समेत बेरोजगार बनेका छन् । पछिल्लो समय चिनियाँ नयाँ वर्ष र हिमपातका कारण नाका प्रभावित भएको थियो । नाका बन्द भएपछि केरुङतर्फ सामान लिन गएका २ सय वटा कन्टेनर फर्किन सकेका छैनन । रसुवागढी नाका बन्द हुँदा चीनसँगको ब्यापार प्रभावित भएको ब्यापारी राजु श्रेष्ठले बताए ।