प्रधानमन्त्रीबाट केपी ओली हटाउने : प्रचण्डको प्रयास फेरी पनि असफल

  • त्रिशूली प्रवाह
  • १८ फाल्गुन २०७६, आईतवार १२:४१
Logo of trishuli prawaha

प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई हटाउने पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अर्को प्रयास पनि असफल भएको छ । उप–प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको कारण प्रचण्डको प्रयास असफल भएको छ । त्यसको स्वतन्त्र रुपमा भने पुष्टि भईसकेको छैन । यद्यपि सहज रुपमा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन थप समस्या देखिएको छ ।

प्रचण्ड र माधव नेपाललगायतका नेताले ओलीलाई प्रधानमन्त्रीबाट बिस्थापित गर्नका लागि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्ने तयारी गरेका थिए । त्यसको लागि राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान राखेर संविधान संशोधन गर्ने निर्णय नेकपाबाट गराईएको थियो । त्यसका लागि गौतमलाई राष्ट्रपतिबाट मनोनित सांसद बनाउने चलखेल भएको थियो । गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने प्रावधान संविधानमा राखेर आफूलाई राष्ट्रियसभामा लैजानुपर्ने माग धेरै पहिलादेखि नै गर्दै आएका थिए । यस सम्बन्धी समाचार त्रिशूली प्रवाह साप्ताहिकले केही महिना अगाडी नै प्रकाशित गरेको थियो ।

आफू नै अगाडी सर्दा प्रधानमन्त्री बन्नका लागि सहयोग नपुग्ने भएपछि प्रचण्डले गौतमलाई अघि सारेर ओलीलाई प्रधानमन्त्रीबाट बिस्थापित गराउने प्रयास गरेका हुन् । त्यसको लागि ओलीसँग चिढिएका माधव नेपालले पनि साथ दिएका थिए । संविधान संशोधन अहिलेको बेला बेमौसमी बाजा भएको भन्दै आएका ओलीलाई समेत दबावमा सहमत गराएपछि प्रचण्डले माधव नेपालको संयोजकत्वमा संविधान संशोधन समिति गठन गराउन सफल भएका थिए । त्यसमा सुभाष नेम्वाङ वा खिमलाल देवकोटा सदस्य राखिएको थियो । तर, यो समाचार बाहिरिएपछि नेम्बाङ र देवकोटाले माधव नेपाल समक्ष गएर असहमति राखेका थिए । गौतमको स्वार्थको लागि मात्र संविधान संशोधनको प्रयास भएको समाचार बाहिरिएपछि नेकपा नेतृत्वको यति आलोचना भएको छ कि नेताहरुले मुख नै देखाउन नसक्ने अवस्था सिर्जना भएको छ ।

संविधान संशोधनका लागि भएका अन्य प्रयास पनि यो घटनाले गर्दा थप आलोचित हुन पुगेको छ । वर्तमान संविधान ब्यक्तिगत स्वार्थका लागि भन्दा राष्ट्रहितका लागि मात्र छ भन्ने यो घटनाले देखाई दिएको छ । यस्तो राष्ट्रवादी संविधानलाई धुजा–धुजा बनाउन भारतीय पक्ष र नेपालकै मधेसवादी दल पनि खुट्टा उचालेर बसेका छन् । यस्तो बेलामा प्रचण्ड र गौतम तथा नेपालले पनि उनीहरुकै लागि संविधान संशोधनको लागि सहमति गरेपछि अधिकांश नेता भारतीय भक्त हुन् भन्ने आशंका पैदा गराई दिएको छ ।

पूर्व एमालेका नेता गौतमलाई प्रधानमन्त्री स्वीकार गरेर अगाडी बढ्ने आँट प्रचण्डले गर्नुको एकमात्र उद्देश्य पूर्व एमालेमा भाँडभैलो ल्याउने र आफ्नो पक्षमा पार्टी बलियो बनाउने भन्ने थियो । एक चरणका लागि उक्त प्रयास असफल भएको छ । नेकपाले संविधान संशोधन गर्ने अवस्था सिर्जना गरे पनि संशोधनले नेकपालाई ठूलो धक्का दिने पक्का गराएको छ । किनकि जनमत संविधान संशोधनको पक्षमा छैन भन्ने कुरा यो विरोधले देखाएको छ । संसद्मा प्रमुख प्रतिपक्ष काँग्रेसले पनि संविधान संशोधनको विपक्षमा आफ्नो मत राखेको छ । यद्यपि मधेसवादी दलले भने संविधान संशोधनको धारणा आउनुलाई राम्रो भनेका छन् । तर, मधेसवादी दल पनि वामदेवलाई प्रधानमन्त्री बनाउन मात्र संशोधनको पक्षमा छैनन् । मधेसवादीको पक्षमा संशोधन गर्ने काम भयो भने पहाडी क्षेत्रबाट नेकपा बढारिने पक्का छ भने तराईमा पनि संविधान संशोधनपछि मधेसवादी दलकै बोलवाला चल्ने छ ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन केही समय अगाडी प्रचण्डले आलोपालोका सहमतिलाई पनि बाहिर सञ्चार माध्यममा प्रचार गराएका थिए । त्यसको पनि केही नलागेपछि निर्वाचन हरुवा वामदेव अगाडी सारेका हुन् । हरुवा गौतमको प्रधानमन्त्री मात्र होइन सांसद बन्ने योजनामा पनि दाग लाग्दै गएको छ ।