कोरोनाको कारण नेपालको अर्थतन्त्र डामाडोल

  • त्रिशूली प्रवाह
  • २२ फाल्गुन २०७६, बिहीबार १५:३९
Logo of trishuli prawaha

चीनबाट शुरु भएको कोरोना भाईरस (कोभिड–१९) को कारण नेपालको अर्थतन्त्र तहस–नहस हुने अवस्थामा पुगेको छ । चीनबाट नेपाल प्रवेश गर्ने सबै नाका बन्द गरिएको छ । रसुवागढी नाका पनि केही समयदेखि बन्द छ । जसको कारण रसुवागढी भन्सारको राजश्व संकलन शून्यमा झरेको छ । अन्य नाकाको अवस्था पनि यस्तै छ । चीनका सामान कडा जाँचपछि कोलकत्ताबाट नेपाल आउने बताए पनि त्यहाँबाट पनि आउन छाडेको छ ।

नेपाल सरकारले तत्कालका लागि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारकालाई श्रम स्वीकृति पनि बन्द गरेको छ । यसले पनि नेपालको अर्थतन्त्रमा धक्का लाग्ने निश्चित छ । विदेशमा नेपाली गए मात्र उताबाट रेमिट्यान्स आउँछ । नेपालीलाई विदेश जान नै प्रतिबन्ध लगाएपछि त्यसको असर धेरैतिर पर्ने पक्का छ ।

चीनबाट शुरु भएको कोरोना भाईरसको संक्रमण विश्वका ६५ भन्दा बढी देशमा फैलिएको कारण सरकारले तत्कालका लागि श्रम स्वीकृति दिन रोक लगाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विदेश जाने नेपालीका लागि कति समयका लागि श्रम स्वीकृति रोक्ने भन्ने बारेमा एकिन भईसकेको छैन । रोग नियन्त्रणमा नआएसम्म विदेश उडानको अनुमति रोकिने छ । नेपालबाट अन्य देश र अन्य देशबाट नेपाल आउने विमानको संख्यामा पनि कटौती भएको छ । यसले पनि नेपालको अर्थतन्त्रमा असर पार्ने छ ।

कोरोनाको कारण नेपालमा चिनियाँ पर्यटक आउन पूर्णत रोकिएको छ । नेपाल भ्रमण वर्ष पनि बन्द भएको छ । सरकारले भ्रमण वर्षका लागि गरेको लगानी खरानी भएको छ । चीनमा कोरोनाको संख्यामा कमी आएको बताए पनि त्यो पूर्णत निमूल भएको छैन । चीनबाट कोरोना शुरु भएको कारण विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमपूर्ण देशको सूचीमा राखेको छ ।

नेपालबाट १ सय १० देशमा संस्थागत र एक सय ७१ देशमा ब्यक्तिगत श्रम स्वीकृति दिने गरिएको छ । ती सबै देशमा बन्द भएपछि त्यहाँबाट आउने पैसा पनि रोकिन पुगेको छ । अहिले भएकाहरु पनि काम पाउने अवस्थामा छैनन् । विश्वका धेरै उद्योग, कलकारखाना बन्द हुँदै गएका छन् । मानिसहरु घरभित्रै थुनिन पुगेका छन् । अहिले दैनिक एक हजार नेपाली युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । उनीहरुको जान छाडेपछि हवाई यात्रु पनि ह्वात्तै घटेको छ । यसले पनि नेपालको अर्थतन्त्रमा असर पारेको छ । नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशमा सबैतिरका ब्यवसाय बन्द हुन थालेपछि चाँडै नै यहाँको अर्थतन्त्र तहसनहस हुने पक्का जस्तै भएको छ । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य समेत वृद्धि हुन थालिसकेको छ ।

मंगलबार श्रम स्वीकृति बन्द गरे पनि यसअघि सरकारले दक्षिण कोरिया जाने कामदारलाई पनि त्यहाँ जानबाट रोक लगाईसकेको थियो । कोरियामा कोरोना भाईरसबाट मानिसको मृत्यु हुन थालेपछि रोक लगाएको थियो । नेपालीहरु सबैभन्दा बढी साउदी अरब, कतार, मेलेसियामा रोजगारीका लागि जाने छन् । सर्वोच्च अदालतले पनि कोरोना भाईरस सक्रमण विभिन्न देशमा देखा परेको भन्दै आवश्यकाता परे केही दिन वा महिनाको लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ । विश्वको शक्तिमान राष्ट्र अमेरिकामा समेत कोरोनाको सङ्क्रमण भएका व्यक्ति फेला परिसकेको छ । त्यहाँ छ जनाको मृत्यु भईसकेको समाचार बाहिर आएको छ ।

विश्व अर्थतन्त्रका चलायमान मुलुक दक्षिण कोरिया र जापानमा समेत भाईरस फैलिएको छ । पछिल्लो पटक इटाली, इरानलगायत देशमा पनि कोरोनाको सङ्क्रमण भेटिएको छ । कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राखी सम्बन्धित मुलुकले विभिन्न खाले सतर्कता अपनाईरहेका छन् ।  विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखिसकेको छ । त्यही कारण यहाँ आउने विदेशीको संख्या घट्न जादाँ पर्यटन उद्योग नै प्रभावित भएको छ । नेपालसहित दक्षिण एशिया र मध्यपूर्वी एशियाका कतिपय मुलुकलाई कोरोनाको उच्च जोखिममा छन् ।