पच्चिस मेगावाट सौर्य विद्युत् राष्ट्रिय प्रसारणमा जोडिंदै

  • त्रिशूली प्रवाह
  • २९ फाल्गुन २०७६, बिहीबार ११:११

बट्टार, नुवाकोटको देवीघाट जलविद्युत् केन्द्रको परिसरमा निर्माण भईरहेको देशकै सबैभन्दा ठूलो सौर्य विद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । गत २०७५ वैंशाखमा शिलान्यास गरिएको सो आयोजना एक वर्षभित्र निर्माण सक्ने लक्ष्य थियो तर आयोजनाको डिजाइन स्वीकृति, रूख कटानलगायतका कारणले निर्माण एक वर्ष ढिलाई भयो । नुवाकोटमा निर्माणाधीन २५ मेगावाटको आयोजनाबाट चैतभित्र १०, वैंशाखमा ५ र बाँकी १० मेगावाटका लागि प्यानल राख्ने ठाउँ पहिचान गरी निर्माण अगाडी बढाईएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नुवाकोटको देवीघाट जलविद्युत् केन्द्रको जग्गामा राखिएका सोलार प्यानलमार्फत उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाईनमा जोडिने छ । राष्ट्रिय प्रसारण लाईनको विद्युत् आपूर्ति स्थिरीकरणका लागि यो आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यो आयोजनामार्फत हुने विद्युत् आपुर्ति ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुनेछ ।

विद्युत् केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा पाँच मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भईरहेको छ । एउटा प्यानलबाट २ सय ७५ बाट विद्युत् उत्पादन हुनेछ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ । देवीघाट विद्युत् गृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६÷३३ केभीको नयाँ सब–स्टेशन पनि निर्माण भईरहेको छ ।

आयोजना स्थल अनुगमन शनिबार गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सब–स्टेशन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालु अवस्थामा रहेको ३३ केभी प्रसारण लाईनमार्फत सोलारबाट उत्पादित विद्युत् जडानको बैकल्पिक ब्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । ‘‘सोलार प्यानल जडान अन्तिम चरणमा पुगेकाले १५ मेगावाट विद्युत् वैंशाखभित्रमा उत्पादन हुनेछ, उहाँले भन्नुभयो ।’’ हाल सञ्चालनमा रहेको ३३ केभी फिडरमा लाईन जोड्ने आवश्यक ब्यवस्था गर्नुपर्नेछ । घिसिङले आयोजना ब्यवस्थापन र ठेकेदार कम्पनी सो अनुरूप अगाडी बढ्न निर्देशन समेत दिनुभएको थियो । सम्पूर्ण उपकरण आयोजना स्थलमा आईसकेको बताउँदै ठेकेदार कम्पनीका प्रतिनिधीले आउँदो वैंशाखभित्र १५ मेगावाट विद्युत् उत्पादन गर्ने प्रतिर्वद्धता जनाएका छन् ।

गत २०७५ वैंशाखमा शिलान्यास गरिएको सो आयोजना एक वर्षभित्र निर्माण सक्ने लक्ष्य थियो तर आयोजनाको डिजाइन स्वीकृति, रूख कटानलगायतका कारणले निर्माणमा केही ढिलाई भएको थियो । घिसिङका अनुसार प्राधिकरणकै स्वामित्वमा रहेको एक हजार भन्दा बढी रूख हटाउने कानूनी प्रक्रिया पूरा गर्न पनि धेरै समय लागेको थियो । उहाँले भन्नुभयो, ‘ठेकेदारले डिजाइन तयार गर्न ढिलाई ग¥यो, त्यसलाई परामर्शदाताले पटक–पटक पुनरावलोकन गरी स्वीकृत गर्न झनै समय लगाएकाले पूर्वनिर्धारित निर्माण तालिका प्रभावित हुनुप¥यो ।’ आयोजना प्रमुख विकासबहादुर रघुवंशीका अनुसार डिजाइन स्पेन र परामर्शदाता जर्मनीमा बस्ने तर साईटमा परिचालित नभई दिंदा डिजाइनलाई अन्तिम रूप दिन ढिलाई भएको थियो ।

विगत बैंकको ग्रिड सोलार तथा ऊर्जा परियोजना अन्तर्गत प्लान्ट स्थापनाको लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग ३ करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले नै पाँच वर्षसम्म गर्नेछ । कम्पनीले पाँच वर्षसम्म प्लान्ट सञ्चालन गरी प्राधिकरणलाई चालु अवस्थामा आयोजना हस्तान्तरण गर्नेछ । कम्पनीले प्लान्टबाट वार्षिक ३ करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेन्टेड इनर्जी) आपूर्ति गर्नुपर्नेछ । शुरूमा जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरेको थियो तर परामर्शदाताले डिजाइन स्वीकृतिमा ढिलाई र रेट बृद्धिको माग गरेपछि फिस्नरसँगको सम्झौताको म्याद थपिएको थिएन । अहिले एनईए इन्जिनियरिङ कम्पनीले परामर्शदाताको काम गरिरहेको छ ।