तेक्वान्दोको सत्ताईसौं वार्षिकोत्सव

  • त्रिशूली प्रवाह
  • २९ फाल्गुन २०७६, बिहीबार ११:१६

बट्टार, २७ वर्ष अगाडी विधीवत रूपमा नुवाकोट भित्र्एिको तेक्वान्दो खेलले अहिलेसम्म जिल्लामा १३ हजार खेलाडी उत्पादन गर्न सफल भएको छ ।

तेक्वान्दो खेललाई बिस्तार र विकास गर्न २०४९ फागुन २७ गते २९ खेलाडीबाट शुरू भएको थियो । यो अवधिमा जिल्लाबाट तेक्वान्दोको ३ सय ७३ ब्याल्कबेल्टसहित १३ हजार ६ सय ७२ जना खेलाडीले प्रशिक्षण लिईसकेका छन् । जिल्लामा २३ प्रशिक्षण केन्द्रबाट खेलाडीले प्रशिक्षण लिईरहेका छन् । नुवाकोटमा उत्पादन भएका खेलाडीले राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा समेत नेपाललाई पदक दिलाउन सफल भएका छन् ।

नुवाकोट तेक्वान्दो संघले मंगलबार तेक्वान्दो खेलको २३औं वार्षिकोत्सव मनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष शरण उत्सुक सापकोटाको अध्यक्षतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको थियो । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले दिप प्रज्जवल गरी केक काटेर शुरू गर्नुभएको थियो । वार्षिकोत्सव कार्यक्रममा नुवाकोटका तेक्वान्दो खेलाडीले देशको नाम विश्वभरी चिनाउन सफल भएकोमा उहाँले गर्व गर्दै खेलको बिस्तार र खेलाडीलाई प्रोत्साहन गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । सो अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धिमान तामाङले वागमती प्रदेशले तेक्वान्दो खेल सहित ८ खेलको विकास गर्न बजेट ब्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले तेक्वान्दो खेलको विकास र बिस्तारको लागि प्रदेश सरकारसँग समन्वय गरेर कार्यक्रम ल्याउने बताउनु भयो ।

सो कार्यक्रममा तेक्वान्दो खेलका नुवाकोट संस्थापक फैसिङ तामाङले खेलेर अहिले नाम, धन र ईज्जत कमाउन सक्ने अवसर रहेको बताउनु भयो । कार्यक्रममा नुवाकोट तेक्वान्दो संघका सचिव एवं प्रमुख प्रशिक्षक हरिहर पाण्डेले हाल सम्पन्न १३औं साग प्रतियोगितामा नुवाकोटका कृष्णबहादुर तामाङले रजत र रेजिना रिमालले कास्य पदक जित्नुभएको जानकारी दिनुभयो । संघले तेक्वान्दोका जिल्लास्तरीयदेखि राष्ट्रियस्तरको समेत प्रतियोगिता गरेर खेलाडीलाई अवसर दिईरहेको बताउनु भयो । विदुर नगरपालिका वडा नं.–२ नागटारी बट्टारमा ३५ रोपनी जग्गा संघले भोगाधिकार पाएको बताउनु भयो । उक्त जग्गामा संघले बहुउद्देश्यीय कर्भड हल निर्माण गरी अन्य खेलको लागि समेत पूर्वाधार बनाउन पुग्ने जमिन भएकोले सदुपयोग गर्न उहाँले नगरपालिकाको ध्यानाकर्षण गराउनु भयो ।