लालीगुँरास नफुल्दा जुस उत्पादन कम

  • त्रिशूली प्रवाह
  • ११ बैशाख २०७७, बिहीबार १०:५४
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवाबासीको बैकल्पिक आय–आर्जनको स्रोतको रूपमा रहेको गुराँस फुलबाट उत्पादन जुस यसवर्ष कम उत्पादन भएको छ । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं.६ धुन्चेमा सञ्चालन भईरहेको हिमालयन फलफुल प्रशोधन उद्योगमा यस वर्ष प्रशस्त गुराँस फुल नफुल्नाले जुस उत्पादनमा कम भएको छ ।

उद्योग सञ्चालक बाबुराम श्रेष्ठकाअनुसार गत वर्ष प्रशस्त फुल फुलेको कारण जुस उत्पादनमा समस्या थिएन आम्दानी पनि राम्रै थियो । यस वर्ष जलवायु परिवर्तनले गर्दा गुराँसको फुल उत्पादन कम भएकोले जुस उत्पादन गत वर्षको जस्तो गर्न नसकेको उनले बताए । उत्पादित जुस पनि कर्मचारी समायोजन र हाल निस्केको कोरोना भाईरसको कारण आन्तरिक र बाह्य पर्यटकको आवतजावत कम हुँदा ब्यापार सुस्ताएको उनी बताउँछन् । उद्योगबाट उत्पादित लालीगुराँसको जुस विज्ञापन पनि गर्न पर्दैनथ्यो, यसका पारखी अर्गानिक र हाइजेनिक छ भन्दै टाढा—टाढादेखि फोनमार्फत जुस अर्डर गरेका बताउँछन् श्रेष्ठ । जुस रसुवालगायत नुवाकोट, धादिङ, काठमाडौंलगायतका जिल्लामा समेत माग हुने गर्दथ्यो । अहिले यसको ब्यापार ठप्प जस्तै भएको छ ।

हिमालयन फलफुल प्रशोधन उद्योगले जिल्लाको स्थानीय अर्गानिक सिमि, कालो मुसुरोको दालको समेत बिक्री गर्दै आएको थियो । भाईरसले गर्दा आन्तरिक तथा बह्य पर्यटक समेत आउन छाडेपछि त झनै ब्यापार खस्किएको उद्योग सञ्चालक श्रेष्ठ बताउनुहुन्छ । उद्योगले उहाँको सात जना परिवारको गुजारा राम्रैसँग चलेको थियो । अहिले भने दैनिक घरखर्च चलाउन समेत गाह्रो परेको छ । श्रेष्ठको परिवार आफै वन पाखा डुलेर खेर गईरहेको लालीगुराँसको फुललाई सदुपयोग गर्दै जुस उत्पादन गरिरहेका थिए । भ्रमण वर्ष २०२० मा धेरै पर्यटक जिल्लामा भित्र्एि ब्यापार हुन्छ जस्तो लागेको थियो । गुराँस नफुल्नु र कोरोना भाईरसको संक्रमण फैलिने डरले स्वदेशी तथा विदेशी पर्यटक आगमन रोकिएपछि उनको ब्यापार–ब्यवसाय संकटमा परेको छ ।