माओवादीप्रति जनताको विश्लेषण ठीक, केपी ओलीको विश्लेषण गलत ठहर !

  • त्रिशूली प्रवाह
  • १९ बैशाख २०७७, शुक्रबार ०९:०६

स्थानीय निर्वाचनमा प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी केन्द्रले एमालेलाई देशभर पत्तासाफ गर्नका लागि नेपाली काँग्रेससँग चुनावी तालमेल ग¥यो । नेकपा एमाले देशभर करिब–करिब एक्लै स्थानीय निर्वाचनमा होमियो । काँग्रेस र माओवादीको गठबन्धनलाई एमाले एक्लैले पराजित गरेर स्थानीयतहमा एक्लै प्रथम स्थान हासिल गर्न पुग्यो । त्यसपछि माओवादी नेतृत्व अर्थात प्रचण्ड तिलमिलाए । स्थानीयतहको परिणामले एमाले सर्वाधिक रुचाईएको दल बन्यो भने माओवादी सर्वाधिक अलोकप्रिय । काँग्रेससँग नमिलेको भए स्थानीयतहमा माओवादी भन्ने दल केही जिल्लाका केही स्थानीयतहमा मात्र सीमित हुने राजनीतिज्ञको ठहर भयो ।

स्थानीय निर्वाचनले छट्पटाएका प्रचण्ड तत्कालिन एमालेसँग मिल्नका लागि केपी शर्मा ओलीको शरणमा पुगे । पार्टीभित्र आफूलाई माधव नेपाल समूहले पटक–पटक झड्का दिन थालेको कारण ओलीले प्रचण्डसँग धेरै चरणका कुरा गरे । कुराकानीको क्रममा प्रचण्डले ओलीलाई यति विश्वास दिलाए कि ओलीले जे प्रस्ताव ल्याए पनि मान्ने बताए । पार्टीलाई एक ढिक्का बनाउने प्रतिबद्धता ब्यक्त गरे । दुई दलबीच आम निर्वाचनमा मिलेर जाने सहमति पत्रमा माधव नेपाललाई बाईपास गरेर हस्ताक्षर भयो । हस्ताक्षर गर्ने क्रममा ओलीले तत्कालीन एमालेका धेरै नेताहरुलाई जानकारी दिएका पनि थिएनन् । ओली प्रचण्डको यति विश्वासमा परे कि विवाह नभएर भौंतारिएको युवालाई एउटी केटीले म तिमीसँग विवाह गर्न तयार छु भन्दा जसरी हौसिन्छ करिब–करिब ओली त्यसैगरी हौसिए ।
प्रचण्ड र ओलीबीच निर्वाचनमा एक भएर जाने तथा पार्टी एकतासम्म गर्ने सहमति पत्रमा हस्ताक्षर गर्दा तत्कालिन एमालेलाई मत दिने मात्र होइन काँग्रेसलाई मत दिनेहरुले पनि माओवादी विश्वासिलो दल होइन जुनसुकै बेला ओलीलाई धोका दिन्छ भन्थे । माओवादी निर्वाचनमा पनि इमान्दार भएर प्रस्तुत भयो । वामदेव गौतमको हकमा बाहेक कतै पनि एमालेलाई धोका दिएन । वामदेवलाई भने एमाले र माओवादी दुबैले निर्वाचनमा पत्तासाफ गराए । माओवादीका स्थानीय नेताहरु पूरै बामदेव विरुद्ध थिए । त्यही भएर बामदेवले निर्वाचनमा पराजय भोग्नु प¥यो । नत्र अरु विषयमा माओवादी एमालेको पछि–पछि लाग्यो । ओलीले जे जे भने ती सबै मान्न प्रचण्ड तयार भए । पार्टी एकतापछि पनि पूर्वएमालेका नेताहरुलाई पेल्नुपर्छ भनेर प्रचण्डले ओलीलाई उचालिरहे । ओलीले पनि अब प्रचण्डले धोका दिँदैन र प्रधानमन्त्री र पार्टी अध्यक्ष पाँच वर्षे कार्यकाल पूरै खान्छु भनेर अगाडि बढे ।

ओलीको मृगौला प्रत्यारोपण गर्नु अघिसम्म प्रचण्ड ओलीका हनुमान जस्तै थिए । ओलीको दोस्रो मिगौला प्रत्यारोपण सफल हुनेमा धेरै नेताहरु आशावादी थिएनन् । जब ओलीको मिगौला प्रत्यारोपण सफल भयो अनि काँग्रेस मात्र होइन नेकपाका नेताहरु पनि अब हामीले राज गर्न पाउने भएनौं भनेर ओली विरुद्धका षडयन्त्रमा लागे । ओलीको केही सल्लाहकारको ढंग नपुगेकै हो । तिनै सल्लाहकारको कारण ओली कमजोर बनेको बेला प्रचण्डले ओलीलाई अझै माधव नेपाल विरुद्ध उचाले । उनले माधव नेपाल समूहलाई टिक्न नै दिएनन् । प्रचण्ड ब्वासोले बाछो हेरेको जसरी मौका हेरेर बसिरहे । नेकपाभित्र बबण्डर मच्चाए । ओलीले एक मधेस एक प्रदेश भनेर विगतमा नेपाल नै टुक्र्याउने योजनमा हिंडेका मधेसी दलहरुलाई विभाजन गर्ने बिऊ स्वरुप अध्यादेश ल्याए । यसको जानकारी प्रचण्डलाई दिएका थिए । प्रचण्डले उपेन्द्र यादवको पार्टीलाई फुटाउन ओलीले अध्यादेश ल्याएको भनेर आफ्ना नजिकका नेता र सञ्चारमाध्यमलाई जानकारी गराएर ओली विरुद्ध सबैलाई एक हुन उक्साए । पार्टीभित्र बबण्डर मच्चाए । यदि जनताको विश्लेषणालाई ओलीले मानेको भए भने प्रचण्डबाट जुनसुकै बेला ठूलो धोका हुन्छ भनेर त्यही अनुसार अगाडि बढ्थे । तर, उनले जनताको भन्दा पनि आफ्ना अडान लिए र तत्काली माओवादी अर्थात प्रचण्डप्रति उनको विश्लेषण अहिले आएर हावा खाएको छ । अहिले पनि विगतदेखि एमालेलाई मत दिएकाहरु माओवादीसँगको मेल दिर्घकालीन नहुनेमा ढुक्क छन् । सिंहदरबारमै संसदीय दलमा पनि पूर्वएमाले र पूर्वमाओवादी भन्ने गरिन्छ । कतिपय पूर्वएमालेका सांसदलाई पूर्वमाओवादी र पूर्वमाओवादीका सांसदलाई पूर्वएमालेले चिन्दा पनि चिन्दैनन् । आत्मिय सम्बन्ध पनि रहेको छैन ।

प्रचण्ड भन्ने शब्द नै धोकेबाज हो भन्ने पर्याय बनिसकेको छ नेपालको राजनीतिक शब्दकोषमा । त्यसलाई उल्ट्याउने प्रयासमा ओली लागिरहे । तर, जनताले पत्याएका थिएनन् । तर, अहिले जनताको विश्लेषण ठीक ठहर भएको छ । प्रचण्ड शब्दप्रति जनतामा आक्रोश छ । प्रचण्डले कतिपय राजनीतिक विश्लेषकहरुले आँपमा लाग्ने किरासँग पनि दाँज्ने गरेका छन् । कहाँबाट र कसरी आँपमा पसेका कसैले थाहा पाउँदैनन् तर आँप खान नहुने भईसकेको हुन्छ । अहिले नेकपा त्यही किरा लागेको आँपको अवस्थामा पुगेको छ ।