शेयर सदस्यलाई राहत वितरण

  • त्रिशूली प्रवाह
  • १९ बैशाख २०७७, शुक्रबार ०९:५०

बट्टार, नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नं.–२, बट्टारमा रहेको ॐ श्री गोसाइँकुण्ड बहुउद्देश्यीय सहकारीले सदस्यको लागि राहत र सहयोग प्याकेज घोषणा गरेको छ ।

२०७७ बैंशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले कोरोना भाईरसको संक्रमणको कारण उत्पन्न असहज परिस्थितिको आकलन गर्दै आफ्ना सदस्यलाई पर्न गएको असहजतालाई मध्यनजर राखी राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सहकारीले लकडाउन अवधीभित्र कुनै सदस्यले आफुले लिएको कर्जाको सावाँ तथा ब्याजको किस्ता नियमित गरेमा निजले तिर्नपर्ने ब्याज रकमको २० दशमलव ५ प्रतिशत र हालसम्मको हर्जाना छुट दिने, लकडाउनको अवधीभित्र कुनै सदस्यले आफुले लिएको कर्जाको सावाँ नतिरी तिर्नुपर्ने सबै ब्याज नियमित गरेमा तिर्नुपर्ने ब्याज रकमको १५ दशमलव ५ प्रतिशत र हालसम्मको सम्पुर्ण हर्जना छुट दिने निर्णय गरेको छ । लकडाउन अवधीपछि जेष्ठ मसान्तभित्र कर्जाको सावाँ र ब्याज नियमित गरेमा ब्याज रकमको १५ दशमलव ५ प्रतिशत र सम्पुर्ण हर्जना छुट दिने, लकडाउन अवधीपछि जेष्ठ मसान्तभित्र सावाँ नतिरी ब्याज मात्र नियमित गरेमा तिर्नुपर्ने ब्याज रकमको १० दशमलव ५ प्रतिशत र सम्पुर्ण हर्जाना छुट दिने समेत निर्णय गरेको छ । सहकारीले २०७७ असाढ मसान्तसम्म कर्जाको सावाँ ब्याज नियमित गरेमा सो मा लाग्ने सबै हर्जना छुट गर्ने घोषणा गरेको छ । बैठकले विदुर नगरपालिकाद्वारा स्थापना गरिएको कोरोना भाईरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहकारीको तर्फबाट आर्थिक सहयोग ५१ हजार ६२ रूपैयाँ, सञ्चालक समितीको एक पटकको बैठक भत्ता बराबर हुने रकम ८ हजार ५ सय रूपैयाँ र कर्मचारीको तर्फबाट जनही ६ सय ६७ रूपैयाँका दरले हुने ६ हजार ३ रूपैयाँ समेत गरी जम्मा ६५ हजार ५ सय ६५ रूपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी अध्यक्ष श्री ईन्द्रबहादुर पण्डितले बताउनु भयो ।