पोषण सम्बन्धी लःव नसा

  • त्रिशूली प्रवाह
  • २४ जेष्ठ २०७७, शनिबार १२:१३

विदुर, नेपाल भाषामा प्रकाशित लःव नसा पुस्तक नेपालीले खाने खानामा के कस्तो पोषणको अवस्था रहेको छ भनेर जानकारी लिन गतिलो स्रोत रहेको छ । १६ वर्ष अगााडी पुस्तक प्रकाशित गर्नु भएका ईश्वरमान प्रधानको दुई महिना अगाडी निधन भएको थियो । पुस्तकको बारेमा गत महिना उहाँको परिवारले सार्वजनिक गरेपछि पुस्तकको बारेमा चर्चा भएको हो । हे ! मनु व मेगु चिनाख, दुषित वातावरण वङगु ल्क्यु व, स्वास्थ्य शिक्षालगायत स्वास्थ्य सम्बन्धी किताब निजी खर्चमा उहाँले प्रकाशन गर्नुभएको छ । उपयोगी पुस्तक हुँदा हुँदै पनि प्रचार–प्रसार र नेपाली भाषामा नहुँदा जनचासो कम भएको हो ।

काठमाडौं किर्तीपुरमा जन्मेका स्वर्गीय प्रधानले नुवाकोटलाई कर्मभुमि छनोट गरेर जीवनको उर्वर समय नुवाकोटलाई अर्पण गर्नुभएको थियो । पेशाले स्वास्थ्यकर्मी स्वःप्रधानले नेपाल भाषाको श्रीबृद्धिमा आधा दर्जन पुस्तक समर्पण गर्नुभएको छ । त्रिशूली जलविद्युत् केन्द्रले स्थापना गरेका त्रिशूली अस्पतालमा चार दशक भन्दा बढी सेवा गरेर वरिष्ठ सिनियर अहेव पदबाट अनिवार्य अवकास पाएका प्रधानले त्रिशूलीमा तिन दशक औषधी ब्यवसाय समेत गर्नुभएको थियो । उहाँले नेवारी संस्कृतिको पर्व, जात्रा, देवी देवताको बारेमा समेत पुस्तक लेख्नु भई युवापिढीलाई अध्ययन गर्ने मौका दिनुभएको छ । उहाँले रेडियो नेपालमा समेत नेवारी कार्यक्रम, जीवन दवु सञ्चालन गर्नुभएको थियो । स्वःप्रधानले श्रीलङ्काको रेडियो सिलोन स्टेशनबाट नेवारी गीत संगीतको कार्यक्रम समेत विगतमा सञ्चालन गर्नुभएको थियो । स्वर्गीय प्रधानका नेपाल भाषाका किताबलाई नेपाली र अङ्ग्रेजी भाषामा अनुवाद गरेर जनसमक्ष ल्याउन सके बहुउपयोगी पुस्तक अध्ययन गर्ने मौका धेरैले पाउने थिए । स्वर्गीय प्रधानको ३ छोरा, श्रीमती रहेका छन् । उहाँका जेठो छोरा कविन्द्रमान प्रधान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष र जिल्लाका प्रतिष्ठित ब्यवसायी हुन् भने माईला छोरा नविन्द्रमान प्रधान विदुर नगरपालिकाभित्रका सहकारीहरूको सञ्जालका अध्यक्ष र सहकारीकर्मी एवं ब्यवसायी रहेका छन् । उहाँको कान्छो छोरा काठमाडौंका सफल ब्यवसायी रहेका छन् । उहाँको परिवारले उहाँको किताबलाई नेपाली भाषामा प्रकाशन गर्न सके धेरैले उहाँलाई चिन्ने र जान्ने मौका पाउँथे । नेपाल भाषामा प्रकाशित गर्नुभएको लःव नसा किताब पोषण शिक्षाको ज्ञान भण्डार रहेको छ । आधारभुत स्वास्थ्य सेवा बिस्तार गर्ने क्रममा पोषण शिक्षा अत्यावश्यक हुने कुरामा दुई मत हुन सक्दैन । पानी र खाना दुषित भएमा विभिन्न प्रकारको रोग लाग्न सक्छ । यी रोगको रोकथाम र कुपोषणबाट हुने साधारण रोगको ज्ञान यस पुस्तकमा उल्लेख गरिएको छ । यो पुस्तक स्वास्थ्यकर्मी र पोषण विषयमा रूची लिनेको लागि कोषेढुंगा सावित हुनेछ ।